
News Summary
Generated by OK AI. Editorially reviewed.- गुरु भनेको केवल पढाउने व्यक्ति मात्र होइनन्, जीवनको मार्गदर्शक पनि हुन् । गुरुले शिष्यको सोच, आचरण र दृष्टिकोणलाई सकारात्मक दिशामा विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछन् ।
- शिष्यले आफ्नो जीवनमा कस्ता मूल्यहरू अंगीकार गर्ने, कस्तो व्यवहार गर्ने र भविष्यमा कस्तो व्यक्तित्व निर्माण गर्ने भन्ने कुरामा गुरुको प्रभाव गहिरो हुन्छ ।
- साँचो गुरुले शिष्यको क्षमता चिनेर उसलाई प्रोत्साहन दिन्छन् र लक्ष्य प्राप्तिमा सही मार्गनिर्देश गर्छन् । गुरुपूर्णिमाको दिन विशेषगरी विद्या आरम्भ गर्ने, गुरुको आशीर्वाद लिने, गुरुप्रति कृतज्ञता प्रकट गर्ने परम्परा रहिआएको छ ।
गुरुपूर्णिमा हिन्दू संस्कृतिको एक धार्मिक, सांस्कृतिक र आध्यामिक चाड हो । गुरुहरूप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्न प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाको दिन गुरुपूर्णिमा मनाउने गरिन्छ । गुरुपूर्णिमाको अवधारणा वैदिककालदेखि नै सुरु भएको मानिन्छ । वैदिक संस्कृति अनुसार गुरु शब्दमा ‘गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने बुझिन्छ अर्थात् अज्ञानता हटाई ज्ञानको प्रकाश दिने व्यक्ति नै गुरु हो ।
महाभारतमा अर्जुन र भगवान कृष्ण बीचको सम्बन्धले गुरु–शिष्य परम्परालाई अझ गहिरो अर्थ दिएको पाइन्छ । गुरुपूर्णिमा विशेषगरी महर्षि वेदव्यासको जन्मजयन्तीको रूपमा पनि मनाउने गरिन्छ । गुरुपूर्णिमाको विकास हिन्दू संस्कृतिमा ज्ञान, संस्कार र आत्मबोधको यात्रासँग गाँसिएको छ । वैदिक युगको गुरुकुल प्रणालीदेखि आधुनिक विद्यालयसम्म यो परम्पराले गुरु–शिष्यको पवित्र सम्बन्धलाई निरन्तर जगेर्ना गरिरहेको छ ।
संस्कृतमा भनिन्छ, ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुदेवो महेश्वरः, गुरुर्साक्षात् परर्ब्रह्म तस्मैश्री गुरुवे नमः’ अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर समान हुन् । उनी साक्षात् परब्रह्म हुन् । गुरु भनेको ज्ञान दिने, जीवनको दिशा देखाउने, अन्धकारबाट उज्यालोमा लैजाने मार्गदर्शक हुन् र शिष्य त्यो ज्ञान र शिक्षालाई श्रद्धा झक्ति, अनुशासन र निष्ठाका साथ ग्रहण गर्ने व्यत्ति हो ।
गुरु–शिष्य सम्बन्ध अर्थात् शिक्षक–विद्यार्थी सम्बन्धको कुरा गर्दा धेरै नै अन्तर रहेको देख्न सकिन्छ । शिक्षक कुनै विशेष विषयमा ज्ञान दिने व्यक्ति हुन् जसले पाठ्यक्रम अनुसार पढाउनुका साथै विद्यार्थीको शैक्षिक विकासमा योगदान पुर्याउँछन् । उनीहरूको मुख्य उद्देश्य विद्यार्थीको सीप र बौद्धिक विकास गराउनु हो । र, विद्यार्थी शैक्षिक संस्थामा अध्ययन गर्ने व्यक्ति हो जसको उद्देश्य कुनै विशेष विषयमा ज्ञान प्राप्त गर्नु, परीक्षा पास गर्नु र भविष्यमा पेशा अँगाल्नका निमित्त योग्य बन्नु हो ।
यसरी शिक्षक विद्यार्थी सम्बन्ध धेरै हदसम्म कक्षा, पाठ्यक्रम र शैक्षिक आवश्यकता अनुसार सीमित हुन्छ । तर गुरु भनेको केवल ज्ञान दिने मात्र नभई जीवनको मार्ग देखाउने, आत्मबोध गराउने र समग्र व्यक्तित्व निर्माण गराउने व्यक्ति हुन । र, शिष्य गुरुबाट जीवनको मार्गदर्शन लिने र आत्मविकासमा समर्पित व्यक्ति हो ।
शिष्य केवल ज्ञानको खोजीमा मात्र नभई सत्य र आत्मबोधको खोजीमा हुन्छ । तसर्थ, गुरु र शिष्य बीचको सम्बन्ध गहिरो, दीर्घकालीन र आध्यात्मिक हुन्छ । गुरुले शिष्यलाई अज्ञानताको अन्धकारबाट उज्यालोतर्फ लैजान्छन् जसले गर्दा गुरु–शिष्य सम्बन्ध अत्यन्त पवित्र हुनुपर्छ । कुनै पनि शिष्यलाई आफ्नो जीवनमा सफलता प्राप्त गर्न, सत्मार्गमा हिंड्न र नैतिक मूल्यहरूलाई आत्मसात् गर्न गुरुको मार्गदर्शन आवश्यक पर्छ । गुरुको व्यवहार, बोलाइ र शिक्षणशैली नै शिष्यका लागि आदर्श बन्न सक्छ । जब गुरु इमानदार, मिहिनेती र सदाचारयुक्त हुन्छन्, तब शिष्यहरू पनि गुरुका गुणहरू आत्मसात् गर्न थाल्छन् ।
यसरी गुरु एक प्रेरणाको स्रोत बन्न पुग्छन् र अन्ततः गुरुले रोपेको ज्ञानको बीउ समयसँगै रूख बनेर शिष्यको भविष्य उज्ज्वल बनाउँछ । त्यसैले भन्ने गरिन्छ, शिष्यको सफलता गुरुको सही मार्गदर्शन र प्रेरणाको फल हो । आजको यस विशेष दिनमा गुरु–शिष्य सम्बन्धका केही प्रख्यात तथा प्रसिद्ध दृष्टान्तहरूबारे केही चर्चा–परिचर्चा गरौं ।
कर्ण र गुरु परशुराम
कर्ण र परशुरामको सम्बन्ध हिन्दू महाकाव्य महाभारतमा घटित तथा उल्लिखित एक विशिष्ट गुरु–शिष्य सम्बन्ध हो । गुरु परशुराम ब्राह्मण र क्षत्रीयबीच गहिरो विभेद गर्दथे साथै उनले ब्राह्मणहरूलाई मात्र शिक्षा दिने प्रण लिएका थिए, (तथापि कर्ण, जो सूर्यपुत्र भएर पनि सूतपुत्र अर्थात् रथ चालकका पुत्र भनेर चिनिन्थे) उनमा शस्त्र विद्याको गहिरो भोक र इच्छा थियो । यसैकारण कर्णले आफ्नो वास्तविक पहिचान लुकाएर आफूलाई ब्राह्मणको रूपमा प्रस्तुत गरे र परशुरामलाई गुरु माने ।
कर्णको तीव्र लगनशीलता र तपस्याबाट प्रभावित भई गुरु परशुरामले सम्पूर्ण शस्त्र–अस्त्र विद्या साथै सबैभन्दा शक्तिशाली अस्त्रशस्त्र प्रयोग गर्न सिकाए । कर्ण पनि परशुरामलाई अत्यन्त श्रद्धा र भक्ति भावले मान्दथे । कर्णको गुरुभक्ति उदाहरणीय थियो । एउटा घटनापश्चात् जब परशुरामले कर्ण ब्राह्मण नभएर सूतपुत्र भन्ने थाहा पाए उनलाई आफू ठगिएको महसुस भयो र क्रोधमा आएर उनले कर्णलाई यस्तो श्राप दिए कि जब उनलाई सबैभन्दा बढी आफ्नो शस्त्र–अस्त्र विद्याको प्रयोग गर्नुपर्ने समय आउनेछ, तब उनी सबै कुरा बिर्सनेछन् ।
यस घटनाले गुरु–शिष्य सम्बन्धमा सत्य, छल, विश्वास, श्राप र परिणामको विषयमा गहिरो सन्देश बोकेको छ । कर्णको पक्षबाट हेर्दा, उनले शिक्षा तथा ज्ञान प्राप्तिका लागि झुट बोले तापनि उनको समर्पण र मिहिनेतमा कुनै कमी थिएन । गुरु परशुरामको दृष्टिबाट हेर्दा, गुरुको विश्वासको भावनामा छलकपट गर्नु ठूलो विश्वासघात थियो । यस सम्बन्धले पुष्टि गर्दछ कि गुरु–शिष्य सम्बन्ध केवल ज्ञानको आदानप्रदान मात्र नभएर सत्यता, इमानदारी र विश्वासको जगमा अडेको हुनुपर्दछ ।
यदि यी तत्वहरूमा केही कमी–कमजोरी भए त्यो सम्बन्ध अन्ततः पीडादायक बन्न जान्छ । कर्ण र गुरु परशुरामको सम्बन्धले हामीलाई गुरुप्रति निष्ठा मात्र नभई सत्यता पनि उत्तिकै आवश्यक हुने कुरालाई दर्शाउँछ । साथै, गुरुले पनि शिष्यको भावना, परिस्थिति र उद्देश्यलाई बुझ्न सक्नुपर्छ । जब गुरु–शिष्य दुवै बीच पारदर्शिता र समझदारी हुन्छ, तब मात्र गुरु–शिष्य सम्बन्धले साँच्चिकै जीवन परिवर्तन गर्ने सामर्थ्य राख्दछ ।
अर्जुन र गुरु द्रोणाचार्य
संसारकै प्रसिद्ध गुरु–शिष्य सम्बन्धहरू मध्येको एक हो अर्जुन र गुरु द्रोणाचार्यको सम्बन्ध । यो पनि महाभारतकै सन्दर्भ हो । गुरु द्रोणाचार्य अर्जुनका मात्र नभई सम्पूर्ण कौरव–पाण्डव राजकुमारहरूका गुरु थिए, तर अर्जुनप्रति गुरु द्रोणाचार्यको स्नेह, अपेक्षा र विश्वास विशेष थियो । उनले अर्जुनलाई आफ्नो सबैभन्दा योग्य र प्रिय शिष्य मानेका थिए । अर्जुनले पनि आफ्ना गुरु द्रोणाचार्यप्रति अपार श्रद्धा, समर्पण र निष्ठा देखाएका थिए । उनी नियमित अभ्यास, एकाग्रता र गुरुको आदेशको पालनामा सबैभन्दा अब्बल शिष्य थिए ।
एकदिन, गुरु द्रोणाचार्यले सबै शिष्यहरूलाई निशाना लगाउन आदेश दिएर सोधे कि के देख्दछौ, शिष्यहरू कसैले रूख, कसैले हाँगा, कसैले पात त कसैले चरा देखेको बताए । अर्जुनको जब पालो आयो उनले भने म चराको एउटा आँखा मात्र देखिरहेको छु भने । यस उदाहरणले अर्जुनको लक्ष्यमा केन्द्रित मानसिकता र गुरुको शिक्षालाई पूर्ण रूपमा आत्मसात् गरेको प्रमाण दिन्छ ।
गुरु द्रोणाचार्यले अर्जुनलाई उत्कृष्ट धनुर्धारी बनाउने प्रण गरेका थिए । त्यो प्रणमा एकलव्य तारो बनेर उभिए । ब्राह्मण तथा क्षत्रीय कुलबाट जन्म नभएका कारण द्रोणाचार्यबाट धनुर्विद्या सिक्न नपाउने भएपछि एकलव्यले जंगलमै द्रोणाचार्यको मूर्ति स्थापना गरी त्यसैलाई गुरु मानेर शक्तिभावले धनुर्विद्या सिकेका थिए । उनी पूर्ण रूपमा धनुर्विद्यामा पारंगत पनि भए । र एकदिन द्रोणाचार्यलाई आफ्नो कौशल देखाए ।
अर्जुनभन्दा राम्रो धनुर्विद्या देखेपछि गुरु द्रोणाचार्यले एकलव्यसँग उसको बुढीऔंला गुरुदक्षिणास्वरुप मागे । ताकि, बुढीऔंलाको अभावमा उनी धनु चलाउन सक्दैनथे र अर्जुन उनीभन्दा अघि नै हुन्थे । यो घटना द्रोणाचार्यको अर्जुनप्रतिको विशेष पक्षपात थियो, उनले अर्जुनलाई संसारको सर्वश्रेष्ठ धनुर्धारी बनाउन कुनै कसर बाँकी राखेनन् ।
महाभारतको युद्धमा यस्तो समय आयो अर्जुनले आफ्नै गुरु द्रोणाचार्यविरुद्ध धनु उठाउनुपर्यो । इतिहासमा यो घटना नै गुरु–शिष्य सम्बन्धको सबैभन्दा पीडादायक पक्ष हो । तर त्यो परिस्थिति धर्म र कर्तव्यको द्वन्द्व थियो । यसबाट के पुष्टि हुन्छ भने कहिलेकाहीं सम्बन्ध भन्दा माथि राष्ट्रधर्म र मानवधर्म हुन्छ । र, युद्धको आवश्यकता पर्छ । अर्जुन र द्रोणाचार्यको सम्बन्ध गुरु–शिष्य सम्बन्धको उच्चतम रूप हो जहाँ गुरुले शिष्यलाई योग्यतम बनाउन सबै कुरा दिन्छन्, र शिष्यले पनि गुरुका हरेक कुरालाई आत्मसात् गर्दै उत्कृष्ट बनाउँछ । तर, जब धर्म र निष्ठा आमनेसामने आउँछन्, तब सम्बन्धको परीक्षा हुन्छ । यो सम्बन्धले निष्ठा, कर्तव्य र शिक्षाको गहिरो अर्थ दिन्छ ।
चन्द्रगुप्त र गुरु चाणक्य
इतिहासमा केही यस्ता गुरु–शिष्य सम्बन्ध छन्, जसले केवल व्यक्तिको जीवन मात्र नभई समग्र राष्ट्रको इतिहास बदलिदिएको छ । चन्द्रगुप्त मौर्य र गुरु चाणक्य बीचको सम्बन्ध इतिहासकै प्रेरणादायी र असाधारण सम्बन्ध हो । चाणक्य एक महान् राजनीतिज्ञ, अर्थशास्त्री, कूटनीतिज्ञ र दार्शनिक थिए । नन्द वंशको अन्याय, भ्रष्टाचार र राजनैतिक अराजकताबाट मुक्ति र असल शासनको स्थापना गर्ने हेतुले चाणक्यले एक नवयुवकलाई खोजे जसमा उनी भविष्यको सम्राट देख्थे ।
उनी थिए, चन्द्रगुप्त मौर्य । चन्द्रगुप्त सामान्य परिवारमा जन्मिएका थिए, उनमा सामर्थ्य थियो, तर अवसर थिएन । गुरु चाणक्यले त्यो अवसरको ढोका खोलिदिए, उनले चन्द्रगुप्तलाई शिक्षा–दीक्षा दिए, राजनीतिमा निपुण बनाए र कसरी एउटा राष्ट्रलाई एकताबद्ध गरेर नेतृत्व गर्ने भन्ने सम्पूर्ण ज्ञान दिए ।
गुरु चाणक्यले चन्द्रगुप्तलाई केवल राजा मात्र बनाउन चाहेनन्, उनी एक न्यायपूर्ण, बुद्धिमान र कूटनीतिक शासक बनुन् भन्ने उनको चाहना थियो । चन्द्रगुप्तले पनि गुरुप्रतिको अटुट निष्ठा, श्रद्धा र अनुशासन देखाए । गुरु–शिष्य बीचको यो समर्पणले भारतको पहिलो विशाल मौर्य साम्राज्यको स्थापना गर्न सफल भयो । चन्द्रगुप्त र गुरु चाणक्यको सम्बन्ध केवल गुरु–शिष्य बीचको नाताभन्दा धेरै माथि थियो । यो सम्बन्ध दृष्टिकोण र दर्शनको एकताको उदाहरण हो, जहाँ गुरुले शिष्यलाई पढाउने मात्र नभई उसमा राष्ट्र निर्माणको सपना बीजारोपण गर्छ र शिष्य केवल सिक्दैन, गुरुको सपनालाई यथार्थमा बदल्छ । यस सम्बन्धबाट के पुष्टि हुन्छ भने एक सच्चा गुरुले एउटा असाधारण शिष्य निर्माण गर्न सक्छ र एक सच्चा शिष्यले गुरुको सपना पूरा गरेर इतिहास बदल्न सक्छ ।
माथि उल्लिखित दृष्टान्तहरूले सिकाउँछन् कि गुरु–शिष्य सम्बन्ध केवल ज्ञान दिने र लिने मात्र होइन, गुरु–शिष्य सम्बन्ध सत्यता, विश्वास, सम्मान, समर्पण र नैतिकताको सम्बन्ध पनि हो । यो जीवनपर्यन्त रहिरहने बन्धन पनि हो । हामी सबैमा कुनै न कुनै प्रतिभा र गुण हुन्छ, तर ती सबै समयमै वा आफैंले चिन्न सक्दैनौं । त्यसबेलामा गुरुको भूमिका महत्वपूर्ण हुन्छ ।
गुरु त्यो दर्पण हुन्, जसले शिष्यलाई आफ्नो असली रूप देखाउँछन् । गुरु त्यो ज्योति हुन् जसले शिष्यलाई अज्ञानताको अन्धकारबाट निकालेर आत्मविश्वास, क्षमता र आत्म पहिचानतर्फ डोर्याउँछन् । गुरु त्यो कुम्भकार हुन् जसले काँचो माटोलाई आकार दिंदादिंदै एउटा उत्कृष्ट पात्र शिष्य बनाउँछन् ।
गुरु भनेको केवल पढाउने व्यक्ति मात्र होइनन्, जीवनका मार्गदर्शक पनि हुन् । गुरुले शिष्यको सोच, आचरण र दृष्टिकोणलाई सकारात्मक दिशामा विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछन् । शिष्यले आफ्नो जीवनमा कस्ता मूल्यहरू अंगीकार गर्ने, कस्तो व्यवहार गर्ने र भविष्यमा कस्तो व्यक्तित्व निर्माण गर्ने भन्ने कुरामा गुरुको प्रभाव गहिरो हुन्छ । गुरुले पाठ्यपुस्तकका ज्ञानको साथसाथै सहनशीलता, अनुशासन, सत्यता, मिहिनेत, आदर र सद्भाव जस्ता जीवनका अमूल्य शिक्षा पनि दिन्छन् ।
साँचो गुरुले शिष्यको क्षमता चिनेर उसलाई प्रोत्साहन दिन्छन् र लक्ष्य प्राप्तिमा सही मार्गनिर्देश गर्छन् । गुरुपूर्णिमाको दिन विशेषगरी विद्या आरम्भ गर्ने, गुरुको आशीर्वाद लिने, गुरुप्रति कृतज्ञता प्रकट गर्ने परम्परा रहिआएको छ । आजको आधुनिक तथा वैज्ञानिक युगमा पनि गुरु तथा शिक्षकहरूको योगदान अत्यन्त महत्वपूर्ण छ । विद्यालयका शिक्षकदेखि जीवनका प्रत्येक पाटोमा हामीलाई सही बाटो देखाउने हरेक व्यक्तिहरू हाम्रा गुरु हुन् । यस दिनमा हामीले आफ्ना गुरुहरूप्रति सम्मान प्रकट गर्दै उनीहरूले दिएको शिक्षालाई जीवनमा लागू गर्ने प्रण गर्नुपर्छ ।
(पराजुली, जनप्रशासन क्याम्पसका फ्याकल्टी मेम्बर हुन् ।)
प्रतिक्रिया 4