
२६ असार, रसुवा । गत २४ असारको मध्यराति भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी क्षेत्र यतिबेला क्षत विक्षत छ । अहिले पनि सो क्षेत्रमा फसेका सर्वसाधारणको धमाधम उद्धार भइरहेको छ ।
बाढी आउँदा रसुवाका विभिन्न क्षेत्रमा फसेकाहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको हो ।
सुरक्षाकर्मीको टोलीले पदमार्ग बनाएर सुरक्षित स्थानतर्फ लाने काम गरिरहेको हो ।
२४ असार मध्यराति भोटेकोशीमा आएको विनासकारी बाढीका कारण धुन्चे, टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रमा फसेकाहरूको उद्धार भइरहेको हो ।
हालसम्म त्यसक्षेत्रमा फसेका ४ सय ८५ जनाभन्दा बढीको उद्धार भइसकेको बताइएको छ ।
यस्तै, रसुवागढी भन्सार कार्यालय र्याडमा फसेको २ वटा कन्टेनर र एउटा ईभी गाडीलाई समेत सुरक्षित ठाउँमा सारिएको छ ।
बाढीमा परेर अहिले पनि ३ जना प्रहरीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता छन् ।
हालसम्म ४ जनाको शव र ५ वटा मानव अंग फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । फेला परेका शवमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ ।
अन्य शव र मानव अंग परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।
शव तथा मानवअंग धादिङ्गको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी गाउँपालिका–२ केउरेनिटार, बेनिघाट रोराङ गाउँपालिका–३ लामाबगर र चरौदी, गजुरी गाउँपालिका–२ मलेखु, नुवाकोट जिल्लाको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम खोलाको किनारा तथा त्रिशुली नदीको किनारामा फेला परेको थियो ।
भिडिओ : कमल प्रसाईं
बाढीले ४२ वटा ईभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोेडर, एक्साभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसीन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ ।
भोटेकोशी खोला (तिब्बततर्फ ल्हेन्दे खोला भनिने) मा आएको लेदोसहितको बाढीले उग्ररुप लिँदा रसुवा गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएको छ ।
सीमाको पुल नै बाढीले बगाएपछि चीनसँगको व्यापार र आवतजावत पूर्ण ठप्प छ ।
तस्वीरहरू :
प्रतिक्रिया 4