+
+
Shares

जल तथा मौसम विज्ञान विभागले पनि भन्यो– रसुवामा हिमबाढी

चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते ८:४४
Photo Credit : DHM

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले असार २४ गते हिमताल विष्फोटबाट रसुवाको भोटेकोशीमा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
  • बाढी पूर्वानुमान महाशाखाले उपग्रह तस्वीरहरूको विश्लेषण गरी ताल फुटेर पानी भोटेकोशी नदीमा मिसिएर बाढी आएको पुष्टि गरेको हो।
  • महाशाखाले चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरेको छ।

२७ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पनि असार २४ गते बिहान रसुवामा हिमबाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

बाढी आएको दुई दिनपछि असार २६ गते विभागको बाढी पूर्वानुमान महाशाखाले उपग्रहबाट प्राप्त तस्वीरहरूको विश्लेषणको आधारमा हिमताल विष्फोटबाट बाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको जानकारी दिएको हो ।

यसअघि अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का विज्ञहरुका आधारमा अनलाइनखबरले हिमबाढी आएको समाचार २५ असारमा प्रकाशित गरेको थियो । तर त्यतिबेला सरकारी निकायबाट आधिकारिक जानकारी आएको थिएन ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले असार २६ गते विज्ञप्ति निकालेर हिमताल विष्फोट (Glacial Lake Outburst Flood–GLOF) बाट रसुवामा बाढी आएको जानकारी दिएको हो । तर असार २४ गते नै मुस्ताङमा आएको बाढीबारे भने बाढी पूर्वानुमान महाशाखा मौन छ ।

महाशाखाका अनुसार बाढी आउनुअघि अर्थात् असार २१ गते लिइएको Normalized Difference Water Index (NDWI) तस्बिरमा रसुवागढी क्षेत्रको एक हिमनदीको माथिल्लो भागमा ताल स्पष्ट देखिएको थियो । तर, बाढी आएपछिको तस्बिर (असार २४ गते बिहान १०ः४५ बजे लिइएको) मा सो ताल पूर्णरूपमा हराएको देखिन्छ ।

यस आधारमा विभागले उक्त ताल फुटेर पानी बाहिरिएको र त्यो पानी तल झरेर झोटेकोशी नदीमा मिसिएर अचानक बाढी आएको ठहर गरेको हो ।

Normalized Difference Vegetation Index (NDVI) विश्लेषणले पनि बाढी अघि-पछिको अवस्थाबीच उल्लेख्य अन्तर देखाएको छ । असार २१ र २४ मा लिइएका तस्वीरहरूको तुलना गर्दा ताल क्षेत्र घटेको स्पष्ट देखिन्छ, जसले हिमतालबाट पानी निस्किएको पुष्टि गर्ने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उपरोक्त विवरणहरुको आधारमा जल तथा मौसम विज्ञान विभाग हिमताल विष्फोटबाटै यस बाढी सृजना भएको प्रारम्भिक निष्कर्षमा पुगेको छ ।’

यस सन्दर्भमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा पनि महाशाखाले गरेको छ । आगामी दिनमा भूउपग्रह मार्फत् प्राप्त हुन सक्ने अन्य तस्वीरहरुले समेत थप पुष्ट्याईं दिन सक्ने भन्दै महाशाखाले आधिकारिक जानकारी पनि अपडेट गर्दै जाने जनाएको छ ।

चीनको तिब्बत हुँदै रसुवा भएर बग्ने भोटेकोशी नदीमा मंगलबार बिहान करिब ३ बजेतिर लेदोसहितको विनाशकारी बाढी आएको थियो । यो बाढीमा परी  हालसम्म ११ जनाको मृत्यु र ९ जना बेपत्ता भएको राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सोही बाढीले रसुवागढीमा मितेरी पुल बगाउँदा नेपाल-चीन व्यापारिक नाका बिच्छेद भएको छ भने टिमुरे भन्सार, भन्सार यार्डमा राखिएका एक सय बढी गाडीहरु, जलविद्युत् आयोजना र सडकमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?