+

प्रधानमन्त्री, एनपीएल र दशौं राष्ट्रिय खेलकुद

२०८२ असार  २७ गते १२:३३ २०८२ असार २७ गते १२:३३

खेलकुदलाई माया गर्ने र बेला बेला खेलाडीहरूलाई बालुवाटार बोलाएर सम्मान गर्ने, खेलाडीसँगै लन्च गर्ने प्रधानमन्त्रीले खेलकुदमा खुबै चासो देखाइरहेका छन् ।

प्रधानमन्त्री, एनपीएल र दशौं राष्ट्रिय खेलकुद

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोमा हाई पर्फमेन्स सेन्टर उद्घाटन गर्दै नेपाली खेलकुदमा आत्मविश्वास र लगानी बढाउनुपर्ने बताए।
  • ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को भव्य रूपमा तयारी गर्न निर्देशन दिए।
  • ५० हजार दर्शक क्षमताको फुटबल स्टेडियम भक्तपुरको जकातीमा बनाउने योजना रहेको पनि उनले बताएका थिए।

२७ असार, काठमाडौं । पछिल्लो समय नेपाली खेलकुदमा नकरात्मक विषयहरू हावी भइरहेका छन् । मैदान भित्रदेखि मैदान बाहिरसम्म नै विभिन्न खालका विवादित विषयहरू चर्चा रहँदा त्यसले नेपाली खेलकुदलाई तत्कालका लागि मात्र होइन दिर्घकालिन रुपमै असर गरिरहेको छ ।

चाहे त्यो क्रिकेटमा होस्, चाहे फुटबलमा होस् वा खेलकुदका काम गर्ने निकायहरूमा ।

अर्को वर्ष जापानमा हुने २०औं एसियन गेम्स सहभागिताको विषयदेखि लिएर नेपाली खेलकुद क्षेत्रका स्केटहोल्डरहरू युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद अनी नेपाल ओलम्पिक कमिटी सबैतिर विवाद नै विवाद छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाली खेलाडीहरूलाई गरेको सम्बोधनले भने खेल क्षेत्रमा केही उत्साह जनाउने खालको छ ।

राष्ट्रिय खेलकुद परिषदका संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोमा निर्माण भएको हाइ पर्फमेन्स सेन्टरको उद्घाटन गर्दै विभिन्न खेल खेलाडीहरूलाई कराते एकेडेमीको हलमा आयोजित कार्यक्रममा सम्बोधन गरे ।

उनले त्यस क्रमममा नेपाल प्रिमियर लिग र दशौं राष्ट्रिय खेलकुद देखि ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने सम्मको कुरा गर्न भ्याए ।

यस्तै जित्नका लागि आत्मविश्वास चाहिने र हामी जित्न सक्छौँ भन्ने लक्ष्यसहित अघि बढ्नुपर्ने कुराहरू सुनाए । खेलाडीहरूलाई मोटिभेट गर्ने काम गरे ।

त्यतिमात्र होइन धेरै किसिमका परम्परागत खेलहरू खेल्दै आएको नेपाली जाती नै खेल जाती भएकोले जित्न सक्ने समेत बताए । यस्तै खेल क्षेत्रलाई लगभग डबल बजेट दिएको बताए ।

भौतिक पूर्वाधारको विषयमा पनि उनले भाषण गरे । कीर्तिपुर क्रिकेट मैदान देखि भक्तपुरको जकातीमा फुटबल स्टेडियम बनाउने र झापामा पनि फुटबल स्टेडियममा बनाउने योजना रहेको सम्मको कुरा सुनाए ।

प्रधानमन्त्री ओलीले कीर्तिपुरमा अझ धेरै दर्शकले हेर्ने गरी दोस्रो चरणमा विस्तार हुने बताए । ‘सानो भयो भनेर आत्तिनुपर्दैन । यो विस्तार हुन्छ । हालका लागि यो तयार हुन्छ,’ उनले भने, ‘अबको सिजनमा हामी कीर्तिपुर क्रिकेट रंगशालालाई अब खेलका लागि राती पनि प्रयोग गर्नेछौँ र त्यसलाई अन्तर्राष्ट्रिय स्तरको खेल मैदानमा विकास गर्नेछौँ ।’

यस्तै उनले फुटबलका लागि पनि ठूलो स्टेडियम बनाउनुपर्ने बताए । ‘मैले सोचेको छु भक्तपुरको जकातीमा रहेको चाइनिज इटाँभट्टा भएको ठाउँमा हामी पर्याप्त दर्शक अट्ने रंगशाला बनाउन सक्छौँ । अर्को झापा बनाउनेछौँ’ प्रम ओलीले भने, ‘१५ हजारले हेर्ने रंगशालमा होइन कम्तीमा ५० हजारले हेर्ने भन्दा सानो रंगशाला हुँदैन ।’

एनपीएल विवादमा बोले प्रधानमन्त्री

प्रधानमन्त्रीले खेलकुदका कार्यक्रममहरूले विभिन्न खालका अभिव्यक्त देखि लिएर खेलाडीहरूलाई मोटिभेट हुनेसम्मका भाषणहरू गरिरहेका हुन्छन् ।

तर बिहीबार खेलाडी सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनेको दुई कुरा विशेष गरी महत्वपूर्ण थियो । जुन नेपाली खेलकुदमा पछिल्लो समय निकै विवादको रुपमा रहिरहेको थियो ।

पहिलो एनपीएल अर्थात नेपाल प्रिमियर लिग । सुरुमा प्रधानमन्त्रीले यस नामलाई राम्रोसँग उच्चारण गर्न नजान्दा ‘वाइपीएल’ समेत भने, पछि सच्याउँदै एनपीएल भने ।

पछिल्लो पटक एनपीएल छानबिन गर्न बनेको छानबिन कार्यदलले राष्ट्रिय खेलकुद परिषद (राखेप)को लेटरहेड प्रयोग गरेर नेपाल क्रिकेट संघ (क्यान) लाई एनपीएलको छानबिन कार्यम नसकिएसम्म एनपीएल सम्बन्धि कुनै कार्य नगर्नु नगराउनु भनेर पत्र पठाएपछि अहिले यो विषय ‘हटकेक’ बनेको छ ।

एनपीएलको पहिलो संस्करण सम्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोजमा परेको उजुरीमा अख्तियारले आवश्यक कारवाहीका लागि युवा तथा खेलकुद मन्त्रालयलाई पत्र लेखेर पठाएको थियो ।

यस विषयमा प्रधानमन्त्रीले पनि आफ्नो धारणा राखिहाले । एनपीएल विवादमा प्रधानमन्त्रीले पनि आफ्नो विचार व्यक्त गरे । उनले एनपीएल हुनुपर्ने र त्यसको तयारीमा लाग्न निर्देशन दिए ।

‘एनपीएलको तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो नेसनल प्राइड हो । त्यस प्राइडलाई कायम राख्नुपर्छ । अघि बढाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘जसरी क्रिकेट अघि बढ्दै गएको छ । त्यसलाई नेसनल लेभलमा अझ जोड दिने र अट्रयाक्सन छ त्यो अझ बढाउनुपर्छ।’

प्रम ओलीले एनपीएल गौरवको विषय भएकोले पनि यो हुनुपर्ने बताए । ‘एनपीएल (नेपाल प्रिमियर लिग) यो तपाइहरूले आयोजना गर्नुपर्छ । एनपीएल तपाईँहरू तयारी गर्नुस् । त्यो खेलिनुपर्दछ । त्यो गौरवको विषय हो । त्यसकारण एनपीएल अघि बढाउनु विषयमा मन्त्रालय, खेलकुद परिषद, क्रिकेट संघ सबैको ध्यान जाओस् भन्न चाहन्छु ।’

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको निर्देशनमा बनेको रञ्जना प्रधान संयोजक रहेको कार्यदलले छानिबिन नसकिएसम्म एनपीएलको काम नगर्न भन्दै क्यानलाई पठाएको पछिल्लो पत्रपछि प्रधानमन्त्रीले दिएको यो अभिव्यक्त अर्थपूर्ण हुन्छ । अब यसले कस्तो मोड दिन्छ हेर्न लायक हुनेछ ।

खेलकुदमन्त्रीलाई लक्षित गर्दै प्रधानमन्त्रीले घुमाउरो पारामा खेलमा राजनीति नगर्न खेलकुदमन्त्री चौधरीलाई निर्देशन दिए ।

‘सरकारमा पोलिटिकल पार्टी नै आउँछ, तर पोलिटिकल पार्टी सरकारमा आएपछि पोलिटिक्स गर्ने होइन । सरकारमा आएपछि जुन क्षेत्रमा काम छ, त्यही क्षेत्रको काम गर्ने हो । कृषिको विकास गर्ने हो भने कृषिको विकास गर्नुपर्छ । उद्योगमा विकास गर्नु छ भने उद्योगको विकास गर्नुपर्छ । संगीतको, साहित्यको विकास गर्ने हो भने त्यही क्षेत्रको विकास गर्नुपर्छ । त्यहाँ राजनीति गर्ने होइन’ प्रम ओलीले भने, ‘खेलको विकास गर्ने हो भने खेलमा लगानी गर्नुपर्छ । खेललाई अगाडि बढाउनुपर्छ । त्यहाँ राजनीति गर्ने होइन । पोलिटिक्सका लागि देयर इज नो स्पेस।’

उनले पोलिटिक्स भन्दा बाहिर खेलमा ध्यान दिनुपर्ने बताए ।

‘दशौं नहुनु लज्जाको विषय’

प्रधानमन्त्रीले तोकिएको समयमा हुन नसकेको नेपालकै सबैभन्दा ठूलो खेल मेला दशौं राष्ट्रिय खेलकुदको बारेमा पनि बोले । उनले दशौं राष्ट्रिय खेलकुद हुनुपर्ने उल्लेख गर्दै नहुनु लज्जाको विषय भएको र अब सार्न नहुने बताए ।

उनले यसअघि पटक पटक रोकिँदै आएको दशौं राष्ट्रिय खेलकुद अब जसरी पनि हुनुपर्ने बताए ।

चालु आर्थिक वर्षमा पहिलो पटक तोकिएको मितिमा दशौं राष्ट्रिय खेलकुद आयोजना हुन नसकेपछि दुई पटक मिति सरेको थियो । कुल तीन पटक मिति घोषणा हुँदा पनि आयोजना हुन सकेन । यो आर्थिक वर्षका लागि दशौं टर्‍यो । तर अझैसम्म पनि दशौं राष्ट्रिय खेलकुद कहिले गर्ने भनेर मिति तय भएको छैन ।

यद्यपी प्रधानमनत्र्ले भने एक स्टेप अघि बढेर दशौं राष्ट्रिय अब आउने मंसिरमै हुनुपर्छ भनेर स्पष्ट निर्देशन नै दिए । ‘राष्ट्रिय खेलकुद मंसिरमै हुनुपर्छ । मन्त्रालय देखि राखेप सबैलाई भन्न चाहन्छु । अब पनि समय सार्नु भनेको राष्ट्रिय लज्जाको विषय हुन्छ । त्यहाँ कुनै एक्सक्युज छैन, त्यो हुनै सक्दैन । अब समय सारिन्न । तोकिएको समयमा (मंसिर)मा राष्ट्रिय खेलकुदको आयोजना हुनेछ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री मंसिरमा दशौं राष्ट्रिय हुनुपर्छ भनेपनि अहिलेसम्म दशौंको नयाँ मिति तोकिएको छैन । दशौंका लागि अघिल्लो आवमा ६० करोड बजेट छुट्याइएको थियो । आगामी आवमा ५४ करोड छुट्याएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को निमन्त्रणामै हाई पर्फर्मेन्स सेन्टर उद्घाटन र खेलाडी सम्बोधनका लागि सातदोबाटो पुगेका प्रधानमन्त्रीले राखेप कै प्रशंसा गरे ।

एकातर्फ उनी मन्त्रिपरिषदकोको मुख्य व्यक्ति लिडर थिए भने अर्कोतर्फ राखेपको संरक्षक थिए । उनले राष्ट्रिय खेलकुदले राम्रो काम गरिरहेको भन्दै बधाई र शुभकामना दिन पनि भ्याए । आफ्नै क्याबिनेटको मन्त्रीलाई बाल दिएनन् । खेलकुद मन्त्री तेजुलाल चौधरी प्रधानमन्त्रीले भाषण गरिरहँदा हेरेको हेर्‍यै भए ।

प्रधानमन्त्रीले घुमारोमा पारामा आफ्नै क्याबिनेटका मन्त्री चौधरीलाई खेलमा राजनीति नगर्नुस् भनेर चेतावनी भन्दिए ।

ओलीले खेलकुदमा राजनीति नगर्नुस भनेर चेतावनी दिँदै उल्दै खेलकुदको कार्यक्रममा राजीनिति घुसाए । अब यसले राष्ट्रिय राजनीतिमा चाहिँ कस्तो असर पर्छ त्यो समयले देखाउँनेछ ।

***

खेलकुदलाई माया गर्ने र बेला बेला खेलाडीहरूलाई बालुवाटार बोलाएर सम्मान गर्ने, खेलाडीसँगै लन्च गर्ने प्रधानमन्त्रीले खेलकुदमा खुबै चासो देखाइरहेका छन् । तर जितेर आउँदा बधाई दिने र कार्यक्रममा भाषण मात्र दिने शैलीले भने खेलकुदको खासै विकास हुन सकेको छैन ।

प्रधानमन्त्रीले भक्तपुरको जकातीमा ५० हजार क्षमताको फुटबल स्टेडियमा बनाउने घोषणा समेत गरिदिए । तर त्रिपुरेश्वरकै दशरथ रंगशालमा भने अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य नभएको हुँदै खेलाडीहरू नेपालमै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न वञ्चित भइरहेको विषयमा भने ध्यान गएन ।

खेलकुदलाई माया गर्ने प्रधानमन्त्री भनेर चिनिएका ओलीले खेलाडीलाई मख्ख बनाउने भाषण गर्छन् तर नेपाली खेलकुदमा त्यही अनुसारको लगानी, तयारी, प्रोत्साहन प्रशिक्षण, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय सहभागिता अझै हुन सकेको छैन ।

यद्यपी उनले खेलाडीलाई आत्मविश्वासी हुनुपर्छ भन्ने कुरा सिकाइरहे । ‘सबै खेलाडी आत्मविश्वासी हुनुपर्छ । जित्ने भनेको आत्मविश्वासले हो । हामी जित्न सक्छौं’ ओलीले भने, ‘सिंगल खेल छ भने आई क्यान विन, डबल वा टिम छ भने वि क्यान विन हामी जित्न सक्छौं, जित्छौं।’

एनपीएल दशौं राष्ट्रिय खेलकुद प्रधानमन्त्री केपी शर्मा ओली

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय