+
+
Shares

सदावहार ट्रेन्डमा रहने ‘गोरखा पाइन्ट’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते ८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा पाइन्ट नेपाली सेनाको पोशाकबाट उत्पन्न भएर अहिले विश्वभर लोकप्रिय पुरुष फेसनको हिस्सा बनेको छ।
  • गोरखा पाइन्टको विशेषता प्लिट र एक्सटेन्डेड वेस्टब्यान्ड हो जसले यसलाई स्टाइलिस र फिट देखाउँछ।

पुरुष फेसनका थुप्रै ट्रेन्ड देख्नुभएको होला ? क्लासिक पहिरनसँग स्मार्टवाच लगाउने शैलीदेखि गलबन्दी बाँध्ने नयाँ तरिकासम्म ।

ट्रेन्ड त सधैं आइरहन्छन् । ती ट्रेन्डमा कहिले नहराउने बरु नयाँ-नयाँ स्टाइलमा बजार तताउने पहिरन हो, गोरखा ब्राण्डको पाइन्ट ।

गोरखा पाइन्ट अहिले फेसनका ठूला-ठूला कार्यक्रमहरूमा सहजै देखिन्छन् । र, धेरैजसो फेसन इन्फ्लुएन्सरहरूको रोजाइमा परिरहेका छन् । केही समय अघि युरोपेली मुलुकहरूमा यसप्रति बढी लगाब देखिन्थ्यो । अहिले भने लोकप्रियता विश्वभर फैलिँदै गएको छ ।

यी पाइन्ट कुनै नयाँ फेसन सिर्जना होइन । यो पाइन्टले एउटा ऐतिहासिक गहिराइ बोकेको छ । सैनिक पोशाकबाट सुरु भएको गोरखा पाइन्ट आजको फेसन शो र शहरको दैनिक पहिरनसम्म आइपुगेको छ ।

गोरखा पाइन्ट के हो ?

गोरखा पाइन्टलाई चिनाउने केही विशेष डिजाइन हुन्छन् । ती मध्ये गोरखा पाइन्टको मुख्य विशेषता भनेकै प्लिट हो । प्लिटलाई फोल्ड पनि भन्ने गरिन्छ । सामान्यतया गोरखा पाइन्टमा डबल प्लिट हुन्छ । चाहे त्यो भित्रतर्फ फर्किएको होस् वा बाहिरतर्फ । कहिलेकाहीं सिंगल प्लिट पनि देख्न पाइन्छ । र कम मात्रामा पाइने ‘किसिङ प्लिट’ शैली पनि हुन्छ ।

‘किसिङ प्लिट’ एक यस्तो डिजाइन हो जसमा पाइन्टको कम्मर भागमा दुईवटा प्लीटहरू हुन्छ । जुन एक-अर्कातिर फर्केर बनेका हुन्छन् । ती हेर्दा एक-अर्कासँग चुम्बन गरेको जस्तो देखिन्छ । त्यसैले, यसलाई ‘किसिङ प्लिट’ भनिएको हो ।

जस्तोसुकै प्लिट भए पनि गोरखा पाइन्ट भनेपछि फ्ल्याट फ्रन्ट (सिधा अगाडिको भाग) हुनुहुँदैन ।

गोरखा पाइन्टको अर्को विशेषता-एक्सटेन्डेड वेस्टब्यान्ड

प्लिटको माथि तपाईंले एउटा लामो बेल्टजस्तो वेस्टब्यान्ड देख्नुहुनेछ जुन बेल्ट वा बटनबाट कस्ने गरिन्छ । कतिपयमा साइड एड्जस्टर (छेउमा कस्ने) पनि हुन्छ । यो वेस्टब्यान्ड बायाँ भाग देखि दायाँको नितम्बसम्म लम्बिएको हुन्छ । र, सामान्य ड्रेस पाइन्टको वेस्टब्यान्डभन्दा फराकिलो हुन्छ । यसले पाइन्टलाई स्टाइलिस देखाउँछ ।

किन गोरखा पाइन्ट रोजाइमा पर्छ ?

यो पाइन्टको कम्मर माथिसम्म र कम्मर कसिलो बन्ने खालको डिजाइन छ । जसले तपाईंलाई अग्लो देखाउँछ । साथै, यसले खुट्टा लामो पनि देखिन्छ । तलतिर टिपिक्क हुने गरी सिलाइ हुने भएकाले पाइन्ट स्लिम अनि फिट देखिन्छ ।

औपचारिक देखिन गोरखा पाइन्टमा कालो टाइ वा सेतो टाइ लगाउने हो भने तपाईंको अन्दाज नै भिन्न देखिन्छ । यो दैनिक लगाउन मिल्ने पोशाक हो ।

गोरखा पाइन्ट अहिले ट्रेन्डमा छ, तर यसको इतिहास हेर्दा यो कुनै फेसन सनक होइन । बरु, सदाबहार र बहुप्रयोगी स्टाइल हो, जसले नेपाली र बेलायती सांस्कृतिक मिश्रण बोल्छ

इतिहास : गोरखा पाइन्टको चल्ती कहाँबाट सुरु भयो ?

गोरखा पाइन्टको उत्पत्ति सन् १८०० तिरको गोरखा राज्यमा भएको थियो । यसको डिजाइन नेपाली सेनाको पोशाकमा आधारित थियो । सन् १८१४ को इस्ट इन्डिया ट्रेन्ड कम्पनीसँगको लडाइँमा बेलायती सेनाले गोरखा सैनिकसँग युद्ध गर्‍यो ।

नेपाली सैनिकको संख्या कम भएर पनि भूमिको ज्ञान र साहसका कारण उनीहरू बलियो सावित भए ।

बेलायतीहरूले गोरखा सैनिकको बहादुरीलाई सम्मानपूर्वक हेरे । र, युद्धपछि सम्झौता गरेर गोरखा सैनिकलाई आफ्नै सेनामा भर्ती गर्न थाले । आज पनि गोरखा सैनिकलाई विश्वकै उत्कृष्ट सैन्य तालिम प्राप्त गर्ने मानिन्छ ।

गोरखा पाइन्टले बेलायती सैन्य र नेपाली सँस्कृतिको संयोजन देखाउँछ । यसको फराकिलो कट, सजिलो चालढालका लागि प्लिट र कम्बरबन्द शैलीको वेस्टब्यान्ड यिनै मिश्रणका उदाहरण हुन् ।

गोरखा पाइन्टमा भएको साइड बेल्ट्स बकल डिजाइन सैनिकका लागि उपयोगी बन्यो । किनकी, बिना बेल्ट, कमर मिलाउने, कस्न सहज, गर्मी हुँदा खुकुलो पार्न मिल्ने भएकाले यो बकल राखिएको हो ।

गोरखा हाफ पाइन्ट पनि बजारमा

गोरखाको हाफ पाइन्ट गोरखा पाइन्टकै अर्को संस्करण हो । यी हाफ पाइन्ट सामान्यतया फराकिलो खोल भएको हुन्छ । गोरखा हाफ पाइन्ट क्लासिक पुरुष फेसनको छोटो पाइन्टसँग मेल खाने खालको हुन्छ ।

गर्मी मौसम र सैनिक प्रयोगका लागि गोरखा हाफ पाइन्ट पहिले बनेको थियो । अनि पछि गोरखा पाइन्ट आएको थियो । किनकी, अत्यधिक गर्मीमा यही राम्रो विकल्प थियो।

गोरखा पाइन्ट : औपचारिक कि अनौपचारिक ?

गोरखा पाइन्टको स्वरूप कपडामा भर पर्छ । सिल्क, लिनेन र कटनमा बनेको गोरखा पाइन्ट हल्का र क्याजुअल देखिन्छ । फ्ल्यानल जस्तो गह्रौं कपडामा बनेको भने निकै औपचारिक देखिन्छ ।

त्यसैले, गोरखा पाइन्टलाई कपडा र रङअनुसार औपचारिक वा अनौपचारिक दुवै बनाइन्छ ।

कसरी लगाउने ?

देखिने स्टाइल

गोरखा पाइन्ट सुटभित्र लुकाउने होइन । यसलाई देखिने हिसाबले लगाउनुपर्छ । त्यसैले, अरु रङको ज्याकेट वा ब्लेजरसँग मिलाएर लगाउनु उचित हुन्छ ।

बेल्ट बिना लगाउनका लागि पनि यो राम्रो विकल्प हुनसक्छ ।

छोटो ज्याकेटसँग

हाई वेस्ट भएका पाइन्टमा छोटो ज्याकेटमा राम्रो देखिन्छ । यसले हावालाई राम्रोसँग पास गर्न सक्छ । अनि हेर्दा पनि शालीन र आकर्षक देखाउँछ ।

हल्का र खुला शर्टसँग

गर्मी मौसममा क्युबन कलर शर्ट, लामो बाहुला भएको स्लीभ पोलो शर्ट वा लिनन ओभरशर्टसँग लगाउँदा निकै राम्रो देखिन्छ ।

बुटसँग

गोरखा पाइन्टको सैनिक पृष्ठभूमिलाई दर्शाउने खालको डर्बी बुट वा रग्ड बुटसँग लगाउँदा उपयुक्त हुन्छ ।

स्निकर्ससँग

क्याजुअल लुक चाहिएको खण्डमा लेदर वा क्यानभास स्निकर्स पनि लगाउन सकिन्छ ।

फुलबुट्टे शर्ट

गर्मी मौसमका प्रिन्टहरू, फूलप्रिन्ट भएको शर्ट, क्याम्प क्यालर शर्ट, पोलो शर्ट र टी–शर्ट जस्ता लुगा गोरखाको हाफ पाइन्टसँग उत्कृष्ट देखिन्छन् ।

गोर्खाको पाइन्टसँग के नलगाउने ?

हाफ पाइन्टमा गोरखा सट्र्ससँग लोफर्स, क्यानभास स्निकर्स, एस्पाड्रिल्स वा बोट जुता मिलाएर लगाउनु उत्तम हुन्छ । तर, लामो मोजा भने नलगाउनुहोस् । बोल्ड चेक वा सजिलो खालको डिजाइन भएका कपडामा गोरखा पाइन्ट नबनाउनुहोस्।

गोरखा पाइन्ट किन्नुअघि ध्यान दिनुपर्ने केही कुरा

बोल्ड डिजाइन होइन, सादगी रोजौं

सादा रङ र सादा डिजाइन भएको कपडामै सीमित रहन सकिन्छ । अनौठो कपडाको बनावट रोज्न सकिन्छ । जस्तै, लिनेन, कटन, लिनेन–कटन मिश्रण, फ्ल्यानल वा टविड । यसले पाइन्टलाई विशिष्टता दिन्छ ।

गोरखा पाइन्ट न कसिलो न खुकुलो हेदा चट्ट मिलेको हुनुपर्छ । त्यसैले, किन्दा विशेष नापको ध्यान दिनुपर्छ । खुकुलो लगाउँदा पेपर ब्याग जस्तो देखिनुहुनेछ । तर, अत्याधिक कसिलो पनि हुनुहुँदैन । यसले ससेज जस्तो देखाउँछ ।

त्यसैले, सामान्यभन्दा अलि ठूलो वेस्ट साइज रोज्न सकिन्छ । किनभने हल्का ठुलो हुँदा साइडको बकलले कसी हाल्न सकिन्छ ।

कुन ठाँउमा पाइन्छ ?

काठमाडौंको दरबारमार्ग, पाटन, ठमेल, नयाँ बानेश्वरजस्ता स्थानका बुटिक तथा डिजाइन स्टुडियोहरूमा गोरखा पाइन्टको राम्रो कलेक्सन भेटिन्छ ।

त्यस्तै, पोखराको पर्यटक क्षेत्रहरू जस्तै लेकसाइडमा स्टाइलिश गोरखा पाइन्ट भेटिन्छ । यहाँ स्थानीय र अन्तर्राष्ट्रिय ग्राहकलाई लक्षित गरेर बनाइएका संस्करणहरू पाइन्छन् ।

ललितपुरमा हस्तकला र परम्परागत सिलाइका लागि प्रसिद्ध, यहाँका धेरै ट्रेलर तथा बुटिकहरू गोरखा पाइन्ट बनाउँछन् ।

त्यस्तै, मेरो सपिङ, दराज, ठूलो डटकम लगायतको अनलाइन स्टोरहरूमा उपलब्ध छन् । फेसबुक र इन्स्टाग्राममार्फत अर्डर लिने धेरै नेपाली ब्रान्डहरू छन् जसले कस्टम गोरखा पाइन्ट सिलाइदिन्छन् ।

कति पर्छ मूल्य ?

नेपालमा गोरखा पाइन्टको मूल्य यसको कपडा, डिजाइन र बनावटअनुसार फरक पर्छ । साधारण तयारीमा तयार भएको गोरखा पाइन्ट बजारमा करिब १५०० देखि ३५०० रूपैयाँसम्ममा पाइन्छ ।

कस्टम टेलरिङ (अर्डर गरी सिलाईएको) गरी तयार गराइएका गोरखा पाइन्टहरू ४ देखि ८ हजार रूपैयाँसम्म पर्ने गर्छन् । विशेष कपडा र डिजाइन प्रयोग गरिएका हाई–एन्ड संस्करणहरू भने १० हजार रूपैयाँभन्दामाथि पर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?