+
+
Shares

स्पेन प्रकरणबारे छानबिन गर्न सीआईबीका एसएसपीको नेतृत्वमा समिति

‘यो समितिलाई रकम लिएर स्पेन पठाइएको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको हो’, खापुङले अनलाइनखबरसँग भने, ‘सञ्चारमाध्यमहरुमा आएका विषयहरुमा जाँच गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने निर्क्योल गर्न समेत यो समिति बनेको हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १९:५७
एसएसपी होविन्द्र बोगटी र एसपी रुगम कुँवर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न समिति बनाएको छ।
  • ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा प्रहरी उपरीक्षक रुगम कुँवरसमेत ६ जना सदस्यीय समिति गठन भएको हो।
  • उनीहरुलाई रकम लिएर स्पेन पठाइएको घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको छ।

३१ असार, काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति बनाइएको हो ।

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।

‘यो समितिलाई रकम लिएर स्पेन पठाइएको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको हो’, खापुङले अनलाइनखबरसँग भने, ‘सञ्चारमाध्यमहरुमा आएका विषयहरुमा जाँच गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने निर्क्योल गर्न समेत यो समिति बनेको हो ।’

यसअघि सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो मामिलाको छानबिन प्रहरीमार्फत अघि बढाउने निर्णय भएको थियो ।

प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल लगायत सहभागी बैठकले असम्बन्धित व्यक्तिहरु समेत गएको हुनसक्ने निष्कर्ष निकालेको थियो ।

र, त्यसबारे विस्तृत छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका थिए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार, स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरु विदेश पठाएको हुनसक्ने देखिएपछि त्यो अवधिमा भिजिट भिसामा जाने सबैको विवरण जाँच गर्नुपर्ने छलफलका क्रममा राय आएको थियो ।

‘त्यसबेला गएका सबै व्यक्तिहरु फर्किए नफर्किएको जाँच हुनेछ, त्यसपछि प्रहरीबाट उनीहरुलाई पठाउने गिरोहबारे समेत अनुसन्धान हुनेछ’, ती अधिकारीले भने ।

१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेनका लागि उडेकै विमानमा पनि कतिपयलाई विचौलियाले मड्रिड लगेका थिए ।  संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा गैरसरकारी संस्थातर्फबाट सहभागिताका भन्दै उनीहरुको नाम वेवसाइटमार्फत रजिष्ट्रेसन गराइएको थियो ।

त्यसरी दिइएको आवेदनमार्फत उनीहरुको नाममा कार्यक्रमको निम्तो आएको थियो । र, त्यो निम्तो देखाएर उनीहरुले दिल्लीस्थित स्पेनको दूतावासबाट भिसा पाएका थिए ।

पछि भिसा लिएकाहरुको पृष्ठभूमि शंकास्पद देखिएपछि ५५ जनाको सूची एयरलाइन्सका कर्मचारीहरुलाई पठाइएको थियो भने उनीहरुलाई रोक्न भनिएको थियो । त्यसदिन खानेपानी मन्त्री प्रदीप यादवसहित केही अधिकारीहरु सोही कार्यक्रममा सहभागी हुन स्पेन प्रस्थान गर्दै थिए ।

यादवसहितको टोली स्पेन जान लागेका बेला पनि थुप्रै व्यक्तिहरु फर्काइएका थिए । अनलाइनखबरले स्पेनमा पुगेका व्यक्तिहरु र प्राप्त कागजातका आधारमा कम्तिमा ७ जना नागरिक कार्यक्रममा नगइ त्यही बसेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?