
News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देही-३ मा आगामी १७ कात्तिकमा हुने उपचुनावका लागि सात दल आवद्ध संयुक्त लोकतान्त्रिक मोर्चाले नागरिक उन्मुक्ति पार्टीबाट संयुक्त उम्मेदवार बनाउने निर्णय गरेको छ।
- नाउपाले धनिराम चौधरी, डा. सरोजसिंह चौधरी, राकेश कोइरी र एक नाम गोप्य राखेर चार उम्मेदवार सिफारिस गरेको छ भने राष्ट्रिय जनमोर्चा, राप्रपा, नेपाली कांग्रेस लगायतका दलले पनि उम्मेदवार चयन प्रक्रिया अघि बढाएका छन्।
- २०७९ सालको समानुपातिक मत अनुसार यो क्षेत्रमा मधेश केन्द्रित सात दलको मत सबैभन्दा बढी रहेको छ र रुपन्देही-३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन्।
१ साउन, बुटवल । उपचुनावको मिति नजिकिँदै गर्दा रुपन्देही-३ मा उम्मेदवार छान्ने चटारो सुरु भएको छ । कतिपय दलले उम्मेदवार चयनका लागि छलफल थालेका छन् भने केहीले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।
आगामी १७ कात्तिकमा हुने उपचुनाव ७ दल आवद्ध संयुक्त लोकतान्त्रिक मोर्चाका कारण अलि बढी चर्चामा छ । मोर्चाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट संयुक्त उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
विगत चुनावमा प्राप्त मतको हिसाब-किताबसहित दलहरू चुनावको तयारीमा जुटेका छन् । २०७९ सालको समानुपातिक मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा मधेश केन्द्रित ७ दलको एकमुष्ट मत अरू दलहरूको भन्दा धेरै छ ।
मोर्चाको निर्णयअनुसार नाउपा जिल्ला समितिले चारजना उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला समितिले धनिराम चौधरी, डा. सरोजसिंह चौधरी, राकेश कोइरी र अर्का एकजनालाई सिफारिस गरेको जिल्ला अध्यक्ष तुल्सी चौधरीले बताए ।
उनले चारजनामध्ये एकजनाको नाम गोप्य राख्ने पार्टीमा निर्णय भएको बताए । ‘क्षेत्रीय समितिले ६ जनाको नाम पठाएको थियो जिल्लाले चारजना सिफारिस गरेको छ, जसमा मुख्य उम्मेदवार बन्नेको नाम अहिले सार्वजनिक नगर्ने पार्टीभित्र सल्लाह भएको छ,’ अध्यक्ष चौधरीले भने ।
नाम गोप्य राखिएका उम्मेदवार पार्टीका संरक्षक रेशम चौधरी हुन् कि ? भन्ने प्रश्नमा उनले घुमाउरो जवाफ दिए । ‘उहाँले उम्मेदवार बन्ने चाहना राखेमा त उहाँ नै पहिलो प्राथमिकतामा हुनुहुन्छ,’ उनले भने ।
नाउपाको उम्मेदवार सिफारिस भएका धनिराम चौधरीले गत चुनावमा रुपन्देही-१ मा घनश्याम भुसाल र छविलाल विश्वकर्मासँग प्रतिस्पर्धा गरेका थिए । उनले १३ हजार बढी मत पाएर तेस्रो भएका थिए ।
धनिरामले नाउपाका संरक्षक रेशम चौधरीमाथि टीकापुर घटनाको मुद्दा रहेकाले उम्मेदवार नबन्ने दाबी गरे ।
सिफारिस भएका अर्का उम्मेदवार डा. सरोजसिंह डेन्टल चिकित्सक हुन् । उनको देवदहमा दाँत उपचार केन्द्र छ ।
अर्का सिफारिस राकेश कोइरी भैरहवाका व्यवसायी हुन् । उनको होटेल, पेट्रोल पम्प, तौल पुल (धर्म काँटा) लगायतका व्यवसाय छन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा संरक्षक चौधरीलाई दिइएको बताइन् ।
राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन भएकाले आउँदो १७ कात्तिकमा रुपन्देही-३ मा उपचुनाव हुँदैछ ।
कुन दलका उम्मेदवार को ?
यो क्षेत्रमा अहिलेसम्म राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै गत वैशाखमा राप्रपा छाडेका भैरहवाका इँटा उद्योगी अजयकुमार गुप्ता र बुटवल मोतिपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका परराष्ट्र तथा खाद्य सल्लाहकार तिलोत्तमा–६ का ३३ वर्षीय सन्तोष गिरी पनि स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा छन् । उनी एक सातादेखि चुनाव क्षेत्रका वडा र गाउँ घुमिरहेका छन् ।
रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्यद्वय स्वाती थापा र बसन्तविक्रम शाही, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्वर्गीय दीपक बोहराका छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहरा तथा जिल्ला नेता दिलिप मल्लिकको नाम सिफारिस गरेको छ ।
उपचुनावमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण, भरत शाह, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल लगायतको नाम चर्चामा छ । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परी रिहा भएका खाँण उम्मेदवारी दर्ताको समयसम्म मुद्दाको किनारा लागे मात्रै उम्मेदवार बन्ने अन्यथा नबन्ने उनी निकटहरू बताउँछन् ।
एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल, पूर्वप्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी पनि उम्मेदवार बन्ने चर्चा छ । तर पौडेलले टिकट पाउने दाबी पार्टीकै नेताहरू गर्छन् ।
माओवादी केन्द्रसहितका विपक्षी दलबाट उम्मेदवारका आकांक्षी अझै खुलेका छैनन् । तर एकीकृत समाजवादीका युवा नेता एवं अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ ।
रास्वपाबाट उम्मेदवारका आकांक्षी धेरै भएका र खुलेका छैनन् । तर आकांक्षी निकटहरूका अनुसार क्षेत्र नम्बर ३ का सभापति मधु अर्याल, सहकारी अभियन्ता ज्ञानु पौडेल लगायतको नाम चर्चामा छ ।
यस्तो छ विगतको नतिजा
२०७९ सालको चुनावमा ९० हजार मत खसेको थियो । जसमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ र राप्रपाले ९ हजार १८३ मत पाएको थियो ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपा नेपालले ५ हजार मत पाएको थियो । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७०० मत पाएका थिए ।
अहिले सातदलीय मोर्चामा हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, तमलोपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी समेत थपिएका छन् । सबैको मत जोड्दा रूपन्देही ३ मा संयुक्त लोकतान्त्रिक मोर्चा सबैभन्दा ठूलो शक्ति देखिन्छ ।
यो क्षेत्रमा माओवादी केन्द्रले २ हजार ६००, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत पाएका थिए ।
रूपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् ।
२०७९ मा एमालेसँगको गठबन्धनबाट राप्रपाका दीपक बोहरा ३६ हजार ७१७ मत पाएर विजयी भएका थिए । उक्त चुनावमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण २ हजार ६८१ मतले पराजित भएका थिए । खाँणले ३४ हजार ३६ मत पाएका थिए । उक्त चुनावमा कांग्रेसले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलसँग गठबन्धन गरेको थियो ।
यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, शुद्धोधन गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सबै वडा, सियारी गाउँपालिकाको वडा नम्बर १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ र १४ र बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४ देखि १९ वडा समेटिएको छ ।
२०७४ सालमा नयाँ भूगोल समेटेर क्षेत्र नम्बर ३ बनेपछि एमालेका घनश्याम भुसाल र २०७९ मा पुनः राप्रपाका दीपक बोहरा एमालेको समर्थनमा विजयी भएका थिए ।
२०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जिते भने बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए ।
प्रतिक्रिया 4