
News Summary
Generated by OK AI. Editorially reviewed.- पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा प्रदर्शन गरेका छन्।
- २०८० सालदेखि जारी विकेन्द्रीकरणको अधिकार कटौतीको विरोधमा शिक्षकहरूले १९ असारदेखि आन्दोलन सुरु गरी २५ गतेदेखि पठनपाठन ठप्प पारेका छन्।
- उपकुलपति दीपक अर्यालले विकेन्द्रीकरणको अधिकार दिन तयार भएको र समाधानका लागि वार्ता जारी रहेको डिन सुशील बज्राचार्यले बताए।
४ साउन, काठमाडौं । ‘सल्ला धूपैले, विद्यार्थीको भविष्य अन्धकार भयो टीयू तिम्रो रूपैले,’ पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले प्लेकार्डमा लेखेको नारा हो यो । पुल्चोक क्याम्पसमा पठनपाठन नभएपछि विद्यार्थीहरू आइतबार कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पुगेर प्रदर्शन गरे । ‘स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा गएका हौं,’ पुल्चोक क्याम्पसका स्ववियु अध्यक्ष स्वयं श्रेठले भने ।
अर्का विद्यार्थी रोशन साउद तीन सूत्रीय माग राखेर त्रिविमा गएको बताउँछन् । ‘रोकिएका पठनपाठन अर्थात् शैक्षिक क्रियाकलाप तुरुन्त सञ्चालन गर्न, विकेन्द्रीकरण पूर्ण रूपमा लागु हुनु पर्ने, शैक्षिक, प्रशासनिक र आर्थिक पूर्णरूपमा स्वायत्तता दिनुपर्छ भनेर हो,’ उनले भने ।
स्वायत्तताको माग राखेर गत २५ असारदेखि शिक्षकहरूले नपढाएपछि विद्यार्थीहरू आइतबार कीर्तिपुर पुगेका हुन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका ५ वटा आंगिक क्याम्पस २ सातादेखि ठप्प छ । पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र चितवन क्याम्पसको पठनपाठन सञ्चालन भएको छैन । शिक्षकहरूले थालेको आन्दोलनलाई विद्यार्थीहरूले पनि समर्थन जनाएका छन् ।
शिक्षकहरूले उठाएको विषय अहिलेदेखिको होइन । २०८० सालदेखि हो । २०५५ सालमा बनेको विकेन्द्रीकरणको नियम अनुसार संस्थान सञ्चालदन हुँदै आएकोमा २०८० सालमा त्रिविको बजेट वक्तव्यले अधिकार कटौती गरेको थियो ।
‘त्रिविको रातो किताबको नियम विपरीत बजेट वक्तव्य आयो । पैसा उठाउ तर खर्च कसरी गर्ने, कहाँ गर्ने सोधेर मात्र गर्न भनियो । यो रातो किताबमा रहेको विकेन्द्रीकरणको नियम विपरीत हो । अध्ययन संस्थानको स्वायत्ततामाथि प्रहार भयो,’ पुल्चोक प्राध्यापक संघका सहसचिव रोशन कार्कीले भने, ‘तिमी आफैं कमाउ भनेर विकेन्द्रीकरणले दिएको अधिकार हो । तर त्यो अधिकार खोसियो ।’
संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि हस्तक्षेप भएको भन्दै अध्ययन संस्थानले बारम्बार त्रिवि पदाधिकारीलाई ध्यानकर्षण गराइ रहेका थिए ।
तर सुनुवाइ नभएपछि यसपटक १९ असारदेखि शिक्षकहरूले आन्दोलन सुरु गरेका हुन् । तर २५ गतेदेखि पूरै ठप्प पारेर शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।
‘विकेन्द्रीकरणको अधिकार खोसेको भनेर शिक्षक र विद्यार्थीहरूले आन्दोलन गरेका हुन् । पठनपाठनन सञ्चालान भएको छैन । तर समाधानको प्रयास भइरहेको छ,’ पुल्चोक क्याम्पसका प्रमुख सञ्जय उप्रेतीले भने ।
उनका अनुसार अध्ययन संस्थान, शिक्षक प्रतनिधिले उपकुलपति दीपक अर्यालसँग वार्ता र संवाद गरिरहेका छन् ।
संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने माग शिक्षकहरूको छ ।
कार्यकारी परिषद्ले विकेन्द्रीकरण स्थापित छ भनेर पत्र नलेखेसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरू छन् । आन्दोलन संयोजन समितिकी संयोजक प्रा.डा. संगिता सिंह सहमतिको प्रयास भइरहेको बताउँछिन् ।
‘म उपकुलपतिको कर्यालयमै छु । सहमतिको प्रयास भइरहेको छ,’ उनले भनिन् ।
उपकुलपति अर्याल पनि इन्जिनियरिङ अध्ययन संस्थानको विवाद सल्टाउन लागिपरेका छन् । ‘उपकुलपति सर विवाद समाधानका लागि लागि रहनु भएको छ । सरोकारवाला पक्षसँग वार्ता र संवादमा हुनुहुन्छ,’ उपकुलपति कार्यालयका एक कर्मचारीले भने ।
अध्ययन संस्थानका डिन सुशील बज्राचार्य पनि सहमति जुटान उपकुलपतिको कार्यालय पुगेका छन् । हिजो शनिबारदेखि चरण चरणमा वार्ता भइरहेको उनले बताए ।
‘म भीसी सरसँगै छु । २०५५ सालदेखि विकेन्द्रीकरणको नियम अनुसार आर्थिक र प्रशासनिक हक प्रयोग गरिरहेको थियो । तर बीचबीचमा अंकुश लगाउने काम भयो । विकेन्द्रीकरणको अधिकार खोजेर शिक्षक विद्यार्थीले आन्दोलन गरिरहनु भएको छ । यो अध्ययन संस्थानको पनि माग हो,’ डिन बज्राचार्यले भने ।
उनका अनुसार उपकुलपति अर्याल विकेन्द्रीकरणको अधिकार दिन तयार भएका छन् । तर कार्यालयले अधिकार दिएको भनेर पत्र लेख्न बाँकी रहेको डिन बज्राचार्य बताउँछन् ।
‘नवनियुक्त उपकुलपतिले विकेन्द्रीकरण दिन्छु भन्नु भएको छ । सिनेटबाट भएपनि पास गर्छु भन्नु भएको छ । लगभग टुंगिएको, सल्टिएको छ । तर पत्र बन्न बाँकी छ,’ उनले भने, ‘आज उपकुलपति कार्यालयले विकेन्द्रीकरण कायम रहेको पत्र दिएमा भोलिदेखि कक्षा सञ्चालन हुन्छ ।’ समस्या समाधान गर्न एउटा कार्यदल पनि बनाउने तयारी भएको छ ।
यसअघि गत ३२ असारमा त्रिविले बेरुजु र आर्थिक समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो । त्रिविका प्राध्यापक डा. भोजराज अर्यालको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको हो ।
समितिलाई त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको विषयमा पनि समस्याको दीर्घकालीन समाधानको पनि खोजी गर्ने अधिकार दिइएको थियो । तर यो समितिसँग इन्जिनियरिङ अध्ययन संस्थानका शिक्षकहरूले असमति जनाउँदै आन्दोलन जारी राखेका हुन् ।
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4