+
+
Shares

भुक्तानी कम्पनीले नाफा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्रै लाभांश दिन पाउने

केन्द्रीय बैंकका अनुसार भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीले लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक कम्पनीलाई नगद लाभांश तथा बोनस सेयर वितरणमा सर्त तोकेको छ।
  • लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको र नगद लाभांशका लागि पर्याप्त नगद मौज्दात अनिवार्य गरिएको छ।
  • लाभांश वितरणका लागि सञ्चालक समितिको निर्णय, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र र अन्य कानुनी पालना आवश्यक छ।

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसँग सम्बन्धित कम्पनीलाई लाभांश वितरणमा नियन्त्रण गरेको छ ।

केन्द्रीय बैंकले भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक कम्पनीलाई नगद लाभांश तथा बोनस सेयर वितरणमा सर्त तोकेको हो ।

केन्द्रीय बैंकका अनुसार भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीले लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

बैंकले लाभांश वितरण सम्बन्धी मार्गदर्शन लागु गर्दै नाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने व्यवस्था देखिएको हो ।

मार्गदर्शन अनुसार सेयर प्रिमियम एवं बार्गेन पर्चेज गेनबाट नगद लाभांश घोषणा गर्न नपाइने एवं सेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको हुनुपर्छ ।

नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात अनिवार्य गरेको छ । संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित सर्तहरूले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको हुन नहुने मार्गदर्शनमा उल्लेख छ ।

त्यसैगरी केन्द्रीय बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षण क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्था हुन नहुने समेत व्यवस्था तोकेको छ ।

केन्द्रीय बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था (बैंक तथा वित्तीय संस्थाबाहेक) को नाफाबाट लाभांश वितरण सम्बन्धी व्यवस्था पारदर्शी एवं थप व्यवस्थित बनाउन मार्गदर्शनमा उल्लेख छ ।

केन्द्रीय बैंकले नाफा वितरण सम्बन्धी निर्णय गर्दा अपनाउनुपर्ने प्रक्रियालाई मार्गदर्शन प्रदान गर्ने उद्देश्य रहेको केन्द्रीय बैंकले जनाएको छ । संस्थालाई नियामकीय पूँजी कायम गर्न आधार निर्माण हुने समेतको उद्देश्य लिएको केन्द्रीय बैंकले जनाएको छ ।

अनुमतिपत्र प्राप्त संस्थाको कारोबारको निरन्तर अभिवृद्धि साथै जोखिम बहन गर्ने क्षमता विकासका लागि स्रोतको योजनाबद्ध व्यवस्थापनमा सहयोग मार्गदर्शनले गर्ने छ ।

व्यवसाय निरन्तरता योजना कार्यान्वयन गर्न सहज हुने तथा समग्र भुक्तानी प्रणालीको सबलता र सुरक्षामा टेवा पुगी सर्वसाधारणको विश्वास अभिवृद्धि गर्नेसमेत केन्द्रीय बैंकको उद्देश्य छ ।

लाभांश नीति अनुमतिपत्र प्राप्त संस्थाले मार्गदर्शन समेत आधार लिई लाभांश वितरण सम्बन्धी नीति तर्जुमा गरी लागु गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । यस्तो नीति संस्था सञ्चालक समितिबाट पारित भएको हुनुपर्ने छ ।

नियामकीय पूँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकता सम्बन्धी विवरण लाभांश नीतिमा समावेश गर्नुपर्ने छ ।

नगद लाभांश र सेयर लाभांश वितरण सम्बन्धी नीति, जोखिम बहन कोष, जगेडा कोषमा नाफाको निश्चित रकम छुट्याउने सम्बन्धमा उल्लेख गर्नुपर्ने छ । जोखिम बहन कोषको रकम संस्थालाई अप्रत्याशित आइपर्ने घटनाबाट हुने क्षति व्यवस्थापनमा प्रयोग गर्न सकिने छ ।

कोषहरूबाट भएको खर्च विवरण केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्ने छ । भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको समेत व्यवस्था गरी नाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्ने छ । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिने छ ।

संस्थाले तोकिएका कोषमा रकम छुट्याइ बाँकी सञ्चित नाफाबाट लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्नेछन् । लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृतिसँगै लाभांश प्रस्ताव समेत समावेश गरी बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।

संस्थाको सञ्चित नाफाबाट लाभांश वितरण गर्ने स्वीकृतिका लागि लाभांश वितरण गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय, लेखा परीक्षण भएको वित्तीय प्रतिवेदन तथा अघिल्लो आवको कर चुक्ता प्रमाणपत्र, कोषहरूमा रकम छुट्याइएको विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण, बैंक तथा वित्तीय संस्थामा भाखा नाघेको कर्जा नभएको, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको र प्रचलित कानुनी व्यवस्थाको पालना भएको/हुने बेहोरा सहित स्वघोषणा गरेको हुनुपर्ने सर्त केन्द्रीय बैंकले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?