+
+
Shares

दिल्लीका औषधि उद्योगी लागूऔषध कारोबारी, बैंककमा ‘राधे-राधे’ भनेपछि आउँथ्यो गाँजा सहितको सुटकेश

थाइल्याण्ड नि:शुल्क घुमाइदिने प्रलोभन देखाएर आम नागरिकलाई भरिया बनाउने गिरोहका नाइकेलाई अभियुक्तले नै काठमाडौंसम्म ल्याएका छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ साउन ४ गते २१:५९

४ साउन, काठमाडौं । सन् २०२० अघिसम्म भारतीय नागरिक अमरजित सिंह (५२) दिल्ली र हिमाञ्चलमा औषधि उद्योग चलाइरहेका थिए ।

उनका अनुसार, सरकारबाट अनुमति लिएर राखेको प्लान्टमा दुई दर्जन बढी प्रकृतिका औषधिहरू बन्थे । सुरुमा व्यवसाय ठिकठाकै चलिरहेको थियो । तर, औषधिको नमूना जाँचमा कैफियत देखिएपछि एकपछि अर्को मुद्दा खेप्नुपर्‍यो ।

व्यवसाय निरन्तर ‌‌ओरालो लाग्न थालेकै बेला कोरोना महामारी आयो । खासमा महामारी औषधि कम्पनीका लागि अवसर बन्नुपर्ने थियो । तर, पहिल्यै टाट पल्टिएका कारण अमरजितले व्यवसाय माथि उठाउन सकेनन् । बरु आर्थिक संकटमा परेर चौतर्फी घेरिएका बेला नयाँ व्यवसाय थाल्ने भन्दै काठमाडौं आइपुगे ।

उनले काठमाडौंको चुच्चेपाटीमा ६ लाख लगानी गरेर मदिरा पसलबाट सुरुवात गरे ।

पसल चलाउन अमरजितले दिल्लीका कपिल भारद्वाज नामक व्यक्तिसँग साझेदारी समेत गरेका थिए । ‘अदालतमै ऊसँग चिनजान भएको थियो, त्यसबेला उसलाई पनि काम थिएन’ अमरजितले भने, ‘त्यसपछि मैले मिलेर काम गरौंला भनेर काठमाडौं ल्याएँ, उसले पनि २/४ लाख रुपैयाँ लगानी समेत गर्‍यो ।’

तर, भारतमा औषधि उद्योग छाडेर काठमाडौं प्रवेश गरेका अमरजित यतिबेला लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरी हिरासतमा छन् । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी), कोटेश्वरले थाइल्याण्डबाट आउने हाईब्रिड गाँजा तस्करीमा उनको संलग्नता भेट्टाएपछि नियन्त्रणमा लिएको प्रहरी बताउँछ ।

‘उनले बैंकक नि:शुल्क घुमाइदिने र केही पैसा समेत दिने प्रलोभनमा भारतीय नागरिकहरूलाई भिजिट भिसामा पठाउने गरेको देखिएको छ’ ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइराला भन्छन्, ‘फर्किएर आउँदा चाहिं ती मानिसहरूले सुटकेशमा लागूऔषध बोकेर आउने गरेको फेला परेको छ ।’

अनेक प्रलोभन

भारतमा अमरजितले मुद्दा–मामिलामा चक्कर चलाइरहँदा कपिल भारद्वाज (४८) सँग भेट भएको थियो । पञ्जाबको हरियाणा, गुरुग्राम स्थायी घर भएका पवन प्रिन्टिङ प्रेस चलाउँथे, लकडाउनले व्यवसाय धरासायी बनेका बेला अमरजितसँग जोडिएका थिए ।

‘इण्डियामा राम्रो काम भइरहेको थिएन, अमरजितले प्रस्ताव गरेपछि यहाँ ठिकै होला भनेर आएको थिएँ’ कपिलले सुनाए, ‘मदिरा पसलबाट राम्रो नाफा भइरहेको थिएन, तर पसल बसेको घरका धनी अमेरिका जान लागेकाले त्यो लिएर गेष्ट हाउस चलाउने तयारी थियो ।’

अमरजित चाहिं थाइल्याण्डको पटाया वा बैंककमा होटल खोल्ने प्रस्ताव राखिरहन्थे । कहिले यूएईसहित अन्य खाडी मुलुकमा कमदार पठाउने तयारी गरिरहेको सुनाउँथे । कुरा सुन्दा कपिललाई लाग्थ्यो, अमरजित धनाढ्य व्यक्ति हुन्, व्यवहार बिग्रिंदा अदालतको चक्कर काट्नु परेको थियो ।

‘पछिल्लो समय मलाई थाइल्याण्डमा होटल खोल्नुपर्छ, तँ रिसर्च गर, म लगानी गर्छु भनिरहेको थियो’ कपिलले सुनाए, ‘त्यसअनुसार म बैंकक गएको थिएँ, त्यहाँ केही होटलहरू हेरेर, फोटो खिचेर फर्किएको थिएँ ।’

उनलाई बैंकक जानलाई टिकट र केही खर्च समेत दिइएको थियो ।

तर, बैंकक छाडेर फर्किने बेला कपिलले आफ्नो ‘एउटा सुटकेश पनि ल्याइदिनु’ भन्थे । ‘इण्डियामा नपाइने कतिपय महँगो पर्ने कस्मेटिक सामानहरू हुन्छ भनेको थियो’ उनले भने, ‘पहिलो पटक पठाउँदा हेरेको थिएँ, त्यसबेला अरू केही थिएन ।’

होटल खोल्न अध्ययन गर्ने भन्दै गएका बेला उनले तीन पटक त्यस्ता झोला ल्याइसकेका थिए । हरेक पटक विमानस्थलमा सुरक्षा जाँच पार हुन्थे, कपिललाई केही शंका भएन ।

‘चौथो पटक आउँदा मसँग पवन नामका साथी पनि थिए, जो ३० वर्षदेखि मसँग प्रिन्टिङ प्रेसमा काम गर्दै आएका थिए’ उनले थपे, ‘दुई जनाले एक/एक वटा झोला बोकेर आएका थियौं ।’

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, ८ जेठमा दुई जना बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

विमानस्थलमा उनीहरूलाई एउटा स्थानमा पुगेर ‘राधे राधे’ भन्न भनिएको थियो, त्यसपछि उनीहरूलाई सुटकेश दिइन्थ्यो ।

‘कोड भनेपछि झोला त दिए, तर यसपटक पहिले जस्तो झोला खोल्ने पिन चाहिं दिएका थिएनन्’ उनले सुनाए, ‘तीन पटक झोला ल्याइसकेको थिएँ, सबै पटक पहिल्यै झोलाको पिन पाउँथें । त्यसैले अवैध केही नहोला भन्ने विश्वास थियो ।’

बैंककबाट ८ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका कपिल सरासर सुरक्षा जाँच पार गरेर बाहिरिए । पवन चाहिं यसपटक रोकिए । पवनका अनुसार, उनलाई स्क्यानरमा केही शंकास्पद चिज देखियो भनिएको थियो ।

भरिया त पहिले पनि समातिएका थिए, तर अन्तरदेशीय लागूऔषध ओसारपसारको मुख्य कारोबारीलाई नै समात्नु चाहिं ब्युरोको सफलता हो – कृष्ण कोइराला, एसएसपी, लागूऔषध नियन्त्रण ब्यूरो

धेरै बेरसम्म पवन नआएपछि कपिल उनलाई खोज्दै जाँच हुने ठाउँतिर गए । उनी पुग्दा त्यहाँ खटिएका अधिकारीहरूले पवनलाई सुटकेशको पिन नम्बर दिन भन्दै केरकार गरिरहेका थिए । ‘त्यसपछि मैले मोबाइल खोलेर हेर्दा बैंककबाट उडिसकेपछि सुटकेशको नम्बर आएको रहेछ’ कपिलले सुनाए, ‘त्यसपछि त्यस्तो केही छैन भन्दै नम्बर दिएको थिएँ ।’

तर, प्रहरीले जाँच गर्दा पवनको झोलामा ९ किलो हाईब्रिड गाँजा र २.५ ग्राम कोकिन भेटिएको ब्युरोका एसएसपी कोइराला बताउँछन् ।

पवनको झोलामा लागूऔषध भेटिएपछि त्यहाँ खटिएका अधिकारीहरूले कपिललाई उनको झोलाबारे सोधखोज गर्न थाले । उनले बाहिर रहेको बताए, अधिकारीहरूसँगै गएर लिएर आए ।

भित्र जाँच गर्दा कपिलको झोलामा पनि ९ किलो गाँजा भेटियो । त्यहाँ खटिएका अधिकारीहरूले विस्तृत अनुसन्धानका लागि दुवै जनालाई सुटकेश सहित लागूऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइदिए ।

अभियुक्तले नै पुर्‍याए नाइकेसम्म

प्राय: बैंकक हुँदै काठमाडौं आउने लागूऔषध बरामद भएको घटनामा भरिया मात्र समातिन्छन्, या नेपालबाट सीमा क्षेत्रसम्म ओसार्ने भरिया । यो घटनामा चाहिं प्रहरीले उनीहरूलाई लागूऔषध लिएर आउनेलाई नै समात्न सफल भएको अधिकारीहरू बताउँछन् ।

‘भरिया त पहिले पनि समातिएका थिए, तर मुख्य कारोबारीलाई नै समात्नु चाहिं ब्युरोको सफलता हो’ एसएसपी कोइराला भन्छन्, ‘यसले नेपाली र भारतीय नगारिकहरू कसरी लागूऔषध तस्करी गर्ने गिरोहको चंगुलमा फसिरहेका छन् भन्ने पनि देखाउँछ ।’

कृष्ण कोइराला, एसएसपी

विमानस्थलमा लागूऔषध बरामद भएलगत्तै ब्यूरोले थप अनुसन्धान थाल्यो । त्यसक्रममा दुवै जनाले अमरजितको नाम लिएका थिए । कपिल आफूले ती व्यक्तिलाई बाबु समान ठान्ने गरेको बताउँछन् । अमरजितबाट धोका भएको भन्दै अहिले हिरासतमा सँगै हुँदा समेत उनीसँग कपिल बोल्दैनन् ।

उनीहरूबाट प्रहरीले पाएको सूचनाले यसपटक अन्तरदेशीय लागूऔषध कारोबारको नाइकेसम्म पुर्‍याउन सक्थ्यो । त्यसैले दुईजना पक्राउ परेको विषयलाई गोप्य राखेर अनुसन्धान अघि बढ्यो । त्यसक्रममा कपिलकी श्रीमती आफैं उनलाई काठमाडौं ल्याउन अग्रसर भइन् ।

उनी दिल्लीस्थित अमरजितको घर पुगिन् र आफ्नो श्रीमान् काठमाडौंमा बिरामी परेको बताइन् । अरमजित घरसम्म किन आएको भन्दै रिसाए । प्रहरीका अनुसार, पछि भागेर भारतको आसामसम्म पनि पुगे । भलै अमरजित आफू अदालती मामिलाको चक्करमा परेर त्यसबेला गोवा पुगेको बताउँछन् ।

अनुसन्धानका क्रममा उनी नेपालमा आउने औषधिजन्य लागूऔषधको उत्पादनमा समेत जोडिएको हुनसक्ने देखिएको अधिकृतहरू बताउँछन्

श्रीमतीले पवन अस्पतालमा भर्ना भएको र सुटकेश त्यहीं भएको बताएकी थिइन् । पछि उनले अस्पतालको तस्वीर पठाउन भने । प्रहरीले उनलाई अस्पतालमा लगेर बिरामी सरह बनाएर तस्वीर पनि खिचायो । सुटकेशको फोटो पठाउने व्यवस्थापन भयो ।

त्यो देखेपछि अमरजित काठमाडौं आउन तयार भए ।

तर, केही दिनअघि काठमाडौंको भेन्स क्यासिनोमा समेत एक लाख ३० हजार जम्मा भएकाले त्यो निकाल्न काठमाडौं जान चाहिरहेका बेला कपिलको श्रीमती आइपुगेको उनी बताउँछन् ।

‘उनले उपचारका लागि झण्डै १५ लाख मागेकी थिइन्, मैले त्यत्रो दिने कुरा त थिएन’ अमरजित भन्छन्, ‘तर, उतै गएर केही रकम पनि दिन्छु भनेर काठमाडौं आएको थिएँ ।’ काठमाडौं आइपुगेपछि उनले कपिलकी श्रीमतीलाई क्यासिनोमै बोलाएका थिए ।

‘मैले भाडा र खर्चका लागि भनेर ५० हजार रुपैयाँ पनि दिएको थिएँ’ उनले सम्झिए, ‘तर, केही समयपछि म पक्राउ परें ।’ पक्राउ परेपछि उनले लागूऔषध ल्याउन समेत नभनेको दाबी गर्दै उनीहरूलाई सेक्स टोयज ल्याउन लगाउने गरेको बताइरहेका छन् ।

तर अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, उनको मोबाइल फोनमा भएको अरु विवरणबाट समेत अमरजित यो गिरोहको नाइके भएको देखिन्छ । अनुसन्धानका क्रममा उनी नेपालमा आउने औषधिजन्य लागूऔषधको उत्पादनमा समेत जोडिएको हुनसक्ने देखिएको अधिकृतहरू बताउँछन् । ‘त्यो सबै पाटोमा अनुसन्धान भइरहेको छ’, एसएसपी कोइराला भन्छन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?