+
+
Shares

घर छाडेको डेढ वर्षपछि १३ देश घुमेर अमेरिका, ५६ दिन थुनामा बसेर नेपाल फिर्ता

५६ दिनसम्म अमेरिकी प्रहरीको थुनामा बसेका एक नेपाली युवालाई नेपाल डिपोर्ट गरिएको थियो । उनी २५ जेठ २०८२ मा काठमाडौं आइपुगेका थिए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ साउन ६ गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाबाट डिपोर्ट हुनेमध्ये एक जना युवाले यतिखेर आएर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएका छन्।
  • ती युवाबाट जाहेरी लिएर उनलाई अमेरिका पठाउने गिरोहबारे ब्युरोले अनुसन्धान अघि बढाएको छ।
  • कात्तिक २०८० मा नेपालबाट हिंडेका ती व्यक्ति करिब डेढ वर्षपछि अमेरिका पुगे तर तत्कालै उनी पक्राउ परे।

६ साउन, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ३७ जना नेपाली २५ जेठ २०८२ मा काठमाडौं ओर्लिए । अमेरिकी सरकारले डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला २५ जेठ मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

उनीहरूलाई अध्यागमनले सामान्य सोधपुछ गर्‍यो । सँगै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पनि केरकार गर्‍यो । उनीहरू कसैले पनि अमेरिका पठाउने व्यक्तिको नाम पोलेनन् । जाहेरी दिन पनि आनाकानी गरे । सामान्य सोधपुछपछि उनीहरूलाई आफन्त तथा परिवारको जिम्मा लगाइयो ।

यसरी डिपोर्ट हुनेमध्ये एक जना युवाले यतिखेर आएर मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् । ‘कोही पनि जाहेरी दिनै नमान्ने, केही बोल्नै नमान्ने प्रवृत्ति देखिएको छ । तर लामो परामर्श र कन्भिन्स गराएपछि अमेरिकाबाट फर्केका एक युवाले भने मानव तस्करीबारे जाहेरी दिनुभएको छ । हामीले अनुसन्धान अघि बढाएका छौं’ ब्युरो प्रमुख तथा एसएसपी कृष्ण पंगेनीले अनलाइनखबरसँग भने ।

मानव बेचबिखन तथा ओसार-पसारको कसुरमा पीडितको जाहेरी विना अनुसन्धान नै अघि नबढ्ने भएकाले अनुसन्धानमा समस्या हुँदै आएको छ । पीडितलाई पनि मानव तस्करको समूहले पुनः अर्को देश पठाउने प्रलोभन देखाउने र नसके पैसा फिर्ता दिने वचन दिने गरेकाले प्रहरीमा जाहेरी नगर्ने प्रवृत्ति छ ।

६५ लाख रुपैयाँमा अमेरिका लैजाने र अमेरिका पठाउन नसकेको अवस्थामा रकम फिर्ता दिने प्रलोभन देखाएपछि अमेरिका जान तयार भएको ती युवाले जाहेरीमा उल्लेख गरेका छन् ।

अहिले भने ती युवाबाट जाहेरी लिएर उनलाई अमेरिका पठाउने गिरोहबारे ब्युरोले अनुसन्धान अघि बढाएको छ ।

ब्युरोको अनुसन्धानका क्रममा ती युवालाई अमेरिका लैजाने भनेर डेढ वर्षअघि नै मानव तस्करको समूहले काठमाडौंबाट लगेको खुलेको छ । २०८० को कात्तिकतिर ती युवालाई अमेरिकाको सपना देखाएर काठमाडौंबाट लगेको देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्किएकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (तस्वीर : अनलाइनखबर)

६५ लाख रुपैयाँमा अमेरिका लैजाने र अमेरिका पठाउन नसकेको अवस्थामा रकम फिर्ता दिने प्रलोभन देखाएपछि अमेरिका जान तयार भएको ती युवाले जाहेरीमा उल्लेख गरेका छन् ।

मानव तस्कर समूहको प्रस्तावमा सहमत भएर रकम जुटाउन थालेको ती युवाको भनाइ छ । त्यसपछि मानव तस्करको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारत लगेर त्यहाँबाट विभिन्न मुलुक हुँदै अमेरिका छिराएको बताएका छन् ।

काठमाडौंबाट हवाई मार्ग हुँदै नयाँदिल्ली पुगेका ती युवालाई त्यहाँबाट श्रीलंका लगिएको थियो । श्रीलंकाबाट दुबई लगिएको र त्यहाँ केही समय राखिएको बताइएको छ ।

दुबईबाट उज्वेकिस्तान र त्यहाँबाट साउथ अफ्रिका पुर्‍याइएको थियो । साउथ अफ्रिकाबाट खाडी मुलुक कतार र युरोपियन मुलुक स्पेन पुर्‍याइएको ब्युरोका एक अनुसन्धान अधिकृत बताउँछन् ।

यो प्रकरणमा अहिले ब्युरोले अनुसन्धान गरेको छ । पीडित युवाले जाहेरीमा उल्लेख गरेका व्यक्तिको खोजी काम सुरु भएको प्रहरीले बताएको छ ।

युरोपियन मुलुक स्पेनबाट दक्षिण अमेरिकी मुलुक ब्राजिल लगियो । ब्राजिलबाट अमेरिका छिराउने मानव तस्करको समूहले बताएको र त्यहाँबाट पनि नसकेपछि बोलिभिया पुर्‍याइएको डिपोर्ट भएर फर्केका युवाले बताएका छन् ।

बोलिभियाबाट पेरु, इक्वेडर, कोलम्बिया हुँदै पानामा लगियो । यो बीचमा मानव तस्करको समूहले पटक–पटक रकम हाल्न लगाएपछि घरका सदस्यलाई भनेर ६५ लाखबाहेक थप ४ लाख रुपैयाँ दिएको ती युवाले प्रहरीसमक्ष बताएका छन् । पानामाबाट अमेरिका छिर्ने क्रममा भने ती युवा पक्राउ परेका थिए ।

कात्तिक २०८० मा नेपालबाट हिंडेका ती व्यक्ति करिब डेढ वर्षपछि चैत २०८१ मा अमेरिका पुगेका थिए । तर तत्कालै उनलाई पक्राउ गरेर प्रहरीले थुनामा राखेको थियो । ५६ दिनसम्म अमेरिकी प्रहरीको थुनामा बसेका उनलाई नेपाल डिपोर्ट गरिएको थियो । उनी २५ जेठ २०८२ मा काठमाडौं आइपुगेका थिए ।

अमेरिकाको सपना देख्दा उनले अनेक हन्डर त खाए नै ७९ लाख पनि गुमाए । यो प्रकरणमा अहिले ब्यूरोले अनुसन्धान गरेको छ । पीडित युवाले जाहेरीमा उल्लेख गरेका व्यक्तिको खोजी कार्य सुरु भएको प्रहरीले बताएको छ ।

ट्रम्पपछि १८३ नेपाली डिपोर्ट

अमेरिकी राष्ट्रपति निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका थिए । जसअनुसार उनले अवैध रूपमा अमेरिका रहेका आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरे ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि २० जनवरीदेखि अहिलेसम्म १८३ नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।

जसमा २० महिला र १६३ पुरुष रहेको अध्यागमन विभागको तथ्यांक छ । फिर्ता भएकाहरू अधिकांशजसो डंकी रुट (अवैध) बाटो हुँदै अमेरिका पुगेकाहरू रहेको बताइन्छ ।

अमेरिकाबाट डिपोर्ट भएर आएका व्यक्तिहरूको अवस्था एकै प्रकृतिको रहेको देखिएको ब्यूरोले बताएको छ । घरखेत बेचेर ऋण गर्दै करिब करोड खर्च गरेर अमेरिका हिंडेकाहरू ट्रम्पको नीतिपछि अहिले धमाधम डिपोर्ट हुँदै आएका छन् ।

डिपोर्ट भएका नेपालीहरू लिएर फर्किएको अमेरिकी जहाज (तस्वीर : अनलाइनखबर)

त्यसो त ट्रम्पले जिम्मेवारी सम्हाल्नु पहिला पनि अवैध रूपमा रहेका नेपालीहरू अमेरिकाबाट डिपोर्ट हुँदै आएका छन् ।

आर्थिक वर्ष २०७५/७६ देखि अहिलेसम्म ४१० नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । २०७५/७६ मा ४५ जना, २०७६/७७ मा ८३ जना, २०७७/७८ मा ३० जना, २०७८/७९ मा १३ जना, २०७९/८० मा ७ जना, २०८०/८१ मा २१ जना, २०८१/८२ मा २०६ जना र चालु आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म ४ जना गरी ४१० जना डिपोर्ट भएका छन् ।

अमेरिका बाहेक अन्य देशबाट पनि नेपालीहरू धमाधम डिपोर्ट भएका छन् । पानामाबाट १९ पुरुष र एक महिला गरी २० जना डिपोर्ट भएका छन् । म्यानमारबाट २३, कम्बोडियाबाट ९ र पलाउबाट २० नेपाली पछिल्लो समय डिपोर्ट भएर नेपाल आएका छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?