
News Summary
Generated by OK AI. Editorially reviewed.- ट्रेड टावर कम्पनी अध्यक्ष शिवहरि दंगालले होटल क्रिस्टलको घरजग्गा लिजमा लिने क्रममा ३ करोड ९० लाख रुपैयाँ अपचलन गरेको पाइएको छ।
- घरधनी मुकुन्दमणि अर्यालले रकम भुक्तानी नभएको भन्दै ९ वैशाख २०८२ मा केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी पेस गरेका छन्।
- प्रहरीले दंगालविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ र प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ।
६ साउन, काठमाडौं । सर्वसाधारणमा गत असारमा मात्रै सेयर बिक्री गरेको ट्रेड टावर कम्पनी अध्यक्ष शिवहरि दंगालले ३ करोड ९० लाख रुपैयाँ अपचलन गरेको पाइएको छ ।
दंगालले होटल क्रिस्टलको घरजग्गा लिजमा लिने क्रममा संस्थाबाट पैसा लिएर पनि सम्बन्धित व्यक्तिलाई भुक्तानी नदिएका हुन् ।
होलटका लागि आवश्यक घर तथा जग्गा लिजमा लिने क्रममा घरको मूल्यसमेत निर्धारण भएको सम्झौतामा देखिन्छ । उक्त घरको मूल्य ३ करोड ९० लाख कायम भए पनि भुक्तानी कहिले दिने भन्ने विषय सम्झौतामा उल्लेख नहुँदा घरधनीले भुक्तानी पाउन नसकेको पीडितको भनाइ छ ।
तर, कम्पनी अध्यक्ष दंगालसँग अनलाइनखबरले सम्पर्क गर्दा अदालती प्रक्रियामा भएका कारण आफूले केही बोल्न नमिल्ने बताए ।
‘३ करोड ९० लाखको विषय लिजमा लिने सम्झौता नभई पछि आएको हुनाले यसबारे मलाई धेरै जानकारी छैन,’ दंगालले अनलाइखबरसँग भने ।
हालको ट्रेड टावर तत्कालीन संकल्प इन्भेस्टमेन्ट एन्ड होल्डिङले काठमाडौं चाबहिलमा होटल सञ्चालन गर्न मुराहरि अर्याल र मुकुन्दमणि अर्यालको नाममा रहेको घरजग्गा लिजमा लिने सम्झौता गरेको थियो । उक्त सम्झौता हुँदाका बखत नै घरको मूल्य ३ करोड ९० लाख तोकी भुक्तानी दिने गरी सम्झौता भएको जग्गा/घरधनी मुकुन्दमणि अर्यालले अनलाइनखबरलाई बताए ।
अर्यालका अनुसार घरको मूल्य कहिले भुक्तानी लिने सम्बन्धमा सम्झौतामा उल्लेख नभए पनि दिने भनेपछि आफूहरूले पाउनेमा ढुक्क थिए ।
अर्याल परिवार र उक्त कम्पनीबीच २ पुस २०७५ मा लिज करार सम्झौता भएको थियो । सोही अनुसार काठमाडौ महानगरपालिका–९ को कित्ता नम्बर १३७ र १४८ को करिब ४ रोपनी जग्गा र त्यसमा निर्माण भएको १२ हजार २ सय १४ वर्गफिटको घरसमेत लिज करार सम्झौता भएको अर्याल बताउँछन् ।
‘साविकको घरबापत एकमुष्ट ३ करोड ९० लाख मूल्य तोकिएको र त्यो रकम मैले पाउने व्यवस्था भएको थियो तर भुक्तानी मिति कहिले भन्ने उल्लेख भएको थिएन,’ अर्यालले भने, ‘कोरोनाका कारण २०७७ असार १ गते घर कम्पाउन्ड हस्तान्तरण गरी ट्रेड टावरले जिम्मा लिएको हो ।’
सम्झौता घरको रकमबारे भुक्तानीको मिति उल्लेख नभएपछि ताकेता गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । साथै, ट्रेड टावरले अर्यालको उक्त घरमा निर्माण सम्झौता विपरीत स्वीकृत नक्साभन्दा २ तला बढी थप गरी १ वैशाख २०८१ मा उद्घाटन पनि गरेको अर्यालको भनाइ छ ।
आफूले पाउनुपर्ने घर भाडाबापत रकम लामो समय बितिसक्दा पनि नपाएपछि अर्यालले त्यसको खोजी गर्दा रकम भुक्तानी भइसकेको भनिएको तर आफूले नपाएपछि उनी कानुनी उपचारमा लागेका हुन् ।
अर्यालका अनुसार १९ मंसिर–१५ पुस २०७५ बीचमै घरको मूल्य भुक्तानी भएको थियो । ‘म र मेरो दाइको नाममा जारी भएको बिअरर चेक सटाकसुटुक अध्यक्ष शिवहरि दंगाल र निजका नजिकका मान्छेहरू आफैंले भुक्तानी लिइसकेको बुझियो,’ अर्यालले भने, ‘यस विषयमा खोजबिन गर्दा २०८१ फागुन २४ गते ट्रेड टावरका पूर्वकर्मचारी/सञ्चालकबाट जानकारी लिँदा ४४ वटा बिअरर चेक काटी दंगालले आफ्नो र आफ्ना मान्छेको व्यक्तिगत खातामा रकम ट्रान्सफर गरेको देखियो । ती अधिकांश चेक ९/९ लाख रुपैयाँको मात्र रहेको पनि खुल्यो ।’
त्यसपछि अर्यालले ९ वैशाख २०८२ मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा भुक्तानी गराइदिन अनुरोध गर्दे जाहेरी पेस गरे । ब्युरोले एनआईसी बैंक र मालपोत कार्यालयबाट विवरण मगाइ विपक्षीबाट एक साताभित्र जवाफ समेत प्राप्त गरिसकेको छ ।
‘जाहेरी परेको थाहा पाएपछि दंगालले ११ वैशाखमा मध्यस्थ नियुक्ति गर्न भनी पत्र पठाएका थिए, उनले हामीलाइ झुक्याएको हुनाले ठगी, बैंकिङ कसुर साथै अनुचित कार्य गरी गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको भन्दै मध्यस्थ नियुक्त गर्न अस्विकार गर्यौं,’ अर्यालले भने ।
कानुनी उपचारका माध्यमबाट न्याय मिल्ने आशामा प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको उनले बताए । अर्यालका अनुसार प्रहरी परिसर काठमाडौंले २४ असारमा ठगी सम्बन्धी कसुरमा हिरासतमा राखी अनुसन्धान गर्ने भन्दै पक्राउ पुर्जी पनि जारी गरी थमाएको पनि छ ।
तर, प्रहरीले भने प्रक्राउ गर्दाकै दिन दंगाललाई रिहा गरेको अर्यालले बताए । काठमाडौं प्रहरी परिसरमा यस विषयमा सम्पर्क गर्दा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको जनाएको छ ।
प्रहरीका अनुसार पुस २०७५ मा भएको सम्झौतापछि पनि ४ वटा पूरक सम्झौता भएको छ । उक्त पूरक सम्झौता अनुसार जग्गामा भएको भवन भत्काइएको र जग्गाधनीकै सहमतिमा ट्रेड टावरले नयाँ भवन बनाएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी प्रहरीले दंगाल विरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणको कसुर गरेको भन्दै २४ असारमा मुद्दा दर्ता गरेको प्रहरी परिसर कार्यालयले जनाएको छ ।
दुई पक्षबीच भएको करार सम्झौतामा के छ ?
- प्रथम पक्षको जग्गामा भवन निर्माण कार्य सुरु गर्नुअघि निर्माण गर्ने भवनको प्रस्तावित डिजाइन, परियोजनाको अनुमानित लागत स्टिमेट र निर्माण तालिका आफ्नै खर्चमा तयार पार्ने कार्य द्वितीय पक्षको रहने छ ।
- द्वितीय पक्षले पेस गरेको नमुना, डिजाइन एवं त्यसमा दुवै पक्षको सहमतिले स्वीकृत गरे बमोजिम भवन र सुविधा बनाउनुपर्ने छ । उक्त डिजाइन भूकम्प प्रतिरोधात्मक हुनुपर्ने छ । भवनमा प्रयोग हुने सामान गुणस्तरीय हुनुपर्ने छ ।
- जग्गामा माटो परीक्षणपछि काठमाडौं महानगरपालिकाद्वारा निर्धारित मापदण्ड अनुसार आरसीसी भवन सहित परियोजना विकास गर्ने गरी लिज अवधि गणना सुरु भएको १० वर्षभित्र उक्त परियोजनामा कम्तीमा ४० करोड थप नयाँ लगानी गरी सक्ने जिम्मेवारी दोस्रो पक्षको रहने छ ।
- लिज सम्झौताको कित्ता नम्बर १३७ मा निमार्ण भएको ५ तले घरको निर्मित क्षेत्रफल ४२२६ वर्गफिट र कित्ता नम्बर १४८ मा निर्माण भएको ३ तले घरको निर्मित क्षेत्रफल ७९८८ वर्गफिट गरी जम्मा १२२१४ वर्गफिट क्षेत्रफलको भवन तथा त्यसले चर्चेको सबै भौतिक सुविधाको सम्झौता गर्दाको बखतको मूल्य दुवै पक्षको आपसी सहमतिमा एकमुष्ट ३ करोड ९० लाख रुपैयाँ निर्धारण गरी दोस्रो पक्षलाई भोगचलन गर्ने जिम्मा लिन दिन दुवै पक्ष मञ्जुर गर्दछौं ।
- परियोजनाको आवश्यकता अनुसार उक्त भवन भत्काउने वा मर्मतसम्भार गरी प्रयोगमा ल्याउने वा आंशिक उपयोग गर्ने निर्णय र जिम्मेवारी दोस्रो पक्षको रहने छ ।
- प्रस्तावित भवन निर्माण कार्य गर्दा बेसमेन्ट पार्किङ सहित भुइँ तलामा व्यापारिक प्रयोजनका लागि सटर राखी, भुइँ तलाभन्दा माथि आवासीय प्रयोजनमा उपयोग गर्ने गरी आवासीय/व्यापारिक मिश्रित उपयोग रहेको भवन निमार्ण गरिने छ ।
- प्रस्तावित भवन निर्माण गर्नका लागि द्वितीय पक्षले आफ्नै लगानीमा आधुनिक सुविधायुक्त भवन निर्माण गर्ने र निर्माण गरिएको भवनमा द्वितीय पक्षले अन्य कुनै व्यक्ति, फर्म, कम्पनी, सरकारी वा गैरसरकारी कार्य, विदेशी संघसंस्था आदिलाई आफूले मनासिब सम्झेको सर्तहरूमा प्रथम पक्षसँग गरेको सम्झौता नबढाइ लिज वा बहालमा दिन पाउने छ ।
- जग्गा तथा त्यसका निर्मित भवन लिलाम बिक्री गर्न नपाइने ।
प्रतिक्रिया 4