 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- भूमिमन्त्री बलराम अधिकारीमाथि घुस लिएको तीन फरक अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान सुरु गरेको छ।
- अख्तियार स्रोतका अनुसार मन्त्री अधिकारीका छोरा मनोज र भाइ शालिकरामले रकम लिएको सूचना प्राप्त भएको छ।
- पूर्वमन्त्री राजकुमार गुप्ताले घुस लिएको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए भने मन्त्री अधिकारी पदमा छन्।
१३ साउन, काठमाडौं । अनुकूलको कर्मचारी सरुवा गरिदिन घुस लिएको अडियो सार्वजनिक भएसँगै निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको दुई साता बितिसकेको छ ।
त्यही घटनामा घुस लिएको आरोपमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी चुपचाप पदमा बसिरहेका छन् ।
जब कि अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिले आफूले मन्त्री अधिकारीलाई समेत रकम दिएको भनी खुलाएका थिए । सार्वजनिक भएको विवरणहरू केलाउँदा लिचीबारीको जग्गाबारे निर्णय गर्ने सम्भावित कर्मचारीको खोजी र व्यवस्थापनका नाममा मन्त्री गुप्ताको तुलनामा अर्का मन्त्री अधिकारीको संलग्नता अझ गहिरो भएको देखिन्छ ।
अख्तियार उच्च स्रोतका अनुसार, मालपोत कार्यालय, कास्कीका अनुकूल व्यक्तिको व्यवस्थापन र जग्गा रजिस्ट्रेसनको विषयमा पोखराका ती व्यक्तिले मन्त्री अधिकारी र उनका दुई नातेदारको नाम पोलेका छन् ।
‘मन्त्री बलराम अधिकारीका छोरा मनोजले उनीबाट पटक-पटक नगद बुझेको भन्ने सूचना हामीलाई आएको छ, केही फोटो पनि प्राप्त भएको छ’ अख्तियारस्रोतले भन्यो, ‘त्यसबाहेक मन्त्रीका भाई शालिकराम अधिकारीले बैंकिङ कारोबारबाट १० लाख रुपैंया लिएको सूचना छ । मन्त्रीलाई दिनुपर्ने रकम त्यसरी उनलाई दिएको भन्ने खबर छ ।’
स्रोतका अनुसार, सुरुमा पोखराका ती व्यक्तिले मन्त्री अधिकारीमार्फत पोखरा लिचीबारीको जग्गाको काम गराउन चाहन्थे । चार दशक पुरानो अदालतको फैसला कार्यान्वयन गराउने भन्दै शाह परिवारले ती व्यक्तिलाई प्रयोग गरिरहेका थिए ।
मन्त्री अधिकारीले जग्गाको काम गराइदिने आश्वासन सहित कास्कीका प्रमुख मालपोत अधिकृतमा चिरञ्जीवी पौडेललाई सरुवा गरेका थिए । त्यसक्रममा ७० लाख खर्च भएको अर्को अडियो पनि सार्वजनिक भएको छ ।

‘काम गरिदिने आश्वासन पाएपछि अडियो रेकर्ड गर्ने ती व्यक्तिले मन्त्री अधिकारीका छोरालाई पटक-पटक रकम बुझाएको भनेर बताएका छन्’ अख्तियार सम्बद्ध स्रोतले भन्यो, ‘पछि भूमि व्यवस्था मन्त्रीले काम नगरिदिएपछि बल्ल उनी सामान्य प्रशासनमन्त्री गुप्ताकोमा पुगेको देखिन्छ ।’
अख्तियार सम्बद्ध स्रोतका अनुसार, भूमि व्यवस्थामन्त्री अधिकारीमाथि घुस लिएको तीन फरक प्रसंग सहितको विवरण प्राप्त छ ।
पहिलो, केही साताअघि सार्वजनिक भएको अडियोमा अर्का मन्त्री गुप्ताले भूमी व्यवस्थामन्त्री अधिकारीले अर्कैसँग पैसा खाएकाले आफूहरूले भनेको व्यक्तिको पक्षमा काम नगर्ने जवाफ दिएका थिए । पोखराका खेमबहादुर पुनलाई भूमि आयोगको अध्यक्ष बनाउन सामान्य प्रशासनमन्त्री गुप्ताले २५ लाख रुपैयाँ लिएको भनी मन्त्री गुप्तासँगको संवादको अडियो बाहिरिएको थियो ।
सार्वजनिक भएको अर्को अडियोमा कर्मचारी व्यवस्थापनका लागि जेब्रा झोलामा हालेर मन्त्री अधिकारीको छोरा मनोजलाई ३२ लाख रुपैयाँ बुझाएको भन्ने संवाद छ ।
भैंसेपाटीको कुनै रेस्टुरेन्टमा डिल भएको सूचना पाएपछि अख्तियारको टोली त्यो रेस्टुरेन्टमा पुगेर समेत भिडियो फुटेजबारे अनुसन्धान गरेको थियो । पोखराकै ती व्यक्तिबाट उनका छोरा मनोजले पटक-पटक रकम बुझेको अडियो समेत रेकर्ड भएको छ ।
दोस्रो, मन्त्री बलरामका भाइ शालिकराम अधिकारीको खातामा समेत रकम ट्रान्सफर भएको सूचना अख्तियारमा पुगेको हो । मन्त्री अधिकारीकै आग्रहमा पोखराका ती व्यक्तिले उनका भाइ शालिकरामको एनआईसी एसिया बैंकको खातामा रकम जम्मा गरिदिएका थिए । २३ जनवरी २०२५ मा पोखराका ती व्यक्तिले शालिकरामको खातामा पाँच लाख रुपैयाँ ‘डिपोजिट’ गरिदिएको सूचना प्राप्त भएको, अख्तियारका एक अनुसन्धान अधिकृतले बताए ।
तेस्रो, मालपोत कार्यालय पोखरामा दिपक सुवेदी नाम गरेका नासु छन् । उनले एक संवादमा ‘चिरञ्जीवीलाई मैले ७० लाख रुपैयाँ खर्च गरेर ल्याएको मान्छे मै हुँ……’ भन्दै अश्लिल शब्द बोलेका छन् । अडियोमा अर्को व्यक्तिले ‘७० लाख ?’ भनेर प्रश्न गर्दा उनले अश्लिल शब्द बोल्दै ‘हो मा हो’ मिलाएका छन् । स्रोतका अनुसार, उनीहरूले नाम उल्लेख गरेका चिरञ्जीवी भन्ने व्यक्ति मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेल हुन् ।
अडियो सुन्दा कुराकानी गर्नेहरू मदिराले मातेको अनुमान गर्न सकिन्छ, किनभने उनीहरूको स्वर लरबरिएको छ । अनलाइनखबरलाई प्राप्त ५२ सेकेन्ड लामो अडियोमा उनीहरूले ‘७० लाख रुपैयाँ खर्च गरेर ल्याएको’ चिरञ्जीवीलाई ल्याएको भने पनि कसलाई रकम बुझाएको हो भन्ने स्पष्ट छैन ।
१ साउनमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आफ्नै नाम मुछिए जसरी त्यो अडियोका बारेमा स्पष्टीकरण दिएका थिए । ‘जाँड खाएको मान्छेलाई तैले भन कि भन, पायो कि पाएन, मैले यस्तो पठाएको छु भन्ने कुरा समेत गरिदिएको छ’ अडियोमा मन्त्रीको नाम खुलेको थिएन, तर झुक्किएका मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा भनेका थिए, ‘यो विशुद्ध चरित्र हत्या गर्ने प्रयास हो ।’
मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘ती मानिसहरू (अडियो रेकर्ड गर्ने व्यक्ति लगायत) कास्कीका प्रमुख मालपोत अधिकृतलाई फिर्ता गराउन आफूकहाँ आएका थिए । आफूले हुन्न भनेर जवाफ दिएपछि यी कुराहरू बाहिर आएका हुन् ।’
स्रोतका अनुसार, त्यो घटनामा तत्कालीन सचिव अर्जुन पोखरेल समेत जोडिएका छन् । पटक–पटक पोखरा गएका उनले लिचीबारीको जग्गाको काममा सहजीकरण गरिदिने आश्वासन सहित केही लाभ लिएका थिए ।

त्यससम्बन्धी प्रमाणबारे अडियो रेकर्ड गर्ने व्यक्तिले ‘क्यूआर मार्फत केही रकम भुक्तानी गरेको र रकम दिएको समेत बताएको’ अख्तियार स्रोतले बतायो । त्यतिबेला सचिव पोखरेलले पोखरास्थित एक रिसोर्टमा बसेर वनकुखुरा र मदिरा किन्न लगाएको भन्दै अख्तियारमा अडियो पेस भएको छ । उनीमाथि पाँच लाख रुपैयाँ लिएको आरोप छ ।
मन्त्री अधिकारीले दुई साताअघिको पत्रकार सम्मेलनमा सार्वजनिक भएको कुनैपनि अडियो आफ्नो नभएको जिकिर गरेका थिए ।
उनले आफ्नो संलग्नता भेटिए जस्तोसुकै कारबाही भोग्न तयार हुने बताएका थिए । उनले भनेका थिए, ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडिओबाट प्रष्ट हुन्छ ।’
भूमी व्यवस्था मन्त्रालय सम्बद्ध स्रोतका अनुसार, मन्त्री बलराम अधिकारीकै इच्छामा मालपोत कार्यालय कास्कीका प्रमुख बनाइएका प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेलले सुरुवातताका पोखरा लिचीबारीको जग्गा शाह परिवारकै नाममा दर्ता गरिदिने आश्वासन दिएका थिए । त्यस क्रममा उनले शाह परिवार निकटका व्यक्तिबाट आर्थिक लाभ समेत लिएका थिए ।

मंसिर, पुस र माघ २०८१ मा उनी काठमाडौं आएर पोखरा जाने क्रममा कम्तीमा तीन पटक अडियो रेकर्ड गर्ने व्यक्तिकै खाताबाट भुक्तानी भएको प्लेन टिकट लिएका थिए । अख्तियार सम्बद्ध स्रोतले भन्यो, ‘रकम खर्च गर्दा समेत उनीबाट काम नभएपछि लमजुङका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई ल्याउन खोज्ने क्रममा अडियो रेकर्ड भएर बाहिरिएको देखिन्छ ।’
स्रोतका अनुसार, अख्तियारले पूर्वमन्त्री गुप्ताको बयान सुरु गरेको छ । तर डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि मोबाइल मागेपछि मन्त्री गुप्ताले अर्कैको साथमा मोबाइल अख्तियारमा पठाइदिएका थिए । अख्तियारले लमजुङका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसँग पनि सोधपुछ गरेको छ ।
अख्तियारको टोलीले पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित अरू व्यक्तिसँग बयान लिएको छ । अडियो रेकर्ड गर्ने पोखराका ती व्यक्तिसँग लगातार पाँच दिन बयान लिएपछि अख्तियारले अरूसँग बयान थालेको हो । आरोपितहरूसँगको बयानपछि अख्तियारले अडियो रेकर्ड गर्ने पोखराका ती व्यक्तिसँग फेरि बयान लिने तयारी गरेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4