
१९ साउन, काठमाडौं । २०४६ सालको जनआन्दोलनको चर्चित तस्वीरकी ‘पोष्टर गर्ल’ गणतन्त्रमा गम्भीर प्रकरणमा मुछिएकी छन् ।
तत्कालीन २२ वर्षीय विद्यार्थी नेतृ दुर्गा थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युवालाई असुली गरी विदेश पठाउने गिरोहसँग जोडिएको आशंकामा छानबिनको दायरामा परेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अधिकृतका रुपमा खटिएकी उनको संलग्नता खुल्ने आधारहरू उच्च सरकारी तहमा पुगेको थियो । त्यसपछि गृह प्रशासनले यस विषयमा गोप्य रुपमा छानबिन अघि बढाएको थियो ।
‘जाँच गर्दा सूचना आएजस्तो उहाँको केही कैफियत देखियो,’ मन्त्रालयका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यसपछि जिम्मेवारीबाट हटाएर विभागमा तानेका छौं ।’
थापाले भने आफूलाई बदनाम गराउनलाई यस्तो आरोप लगाइएको दाबी गरिन् ।
‘म एक महिनाअघि विमानस्थल जाने बित्तिकै तीर्थराज भट्टराई कारबाहीमा पर्नुभयो,’ उनले भनिन्, ‘पछि अर्का प्रमुख विष्णु कोइरालासँग मसहित केही साथीहरूको डिस्कस भयो,त्यसपछि सरुवा मागेर गएको थिएँ ।’
आफूले अध्यागमन विभागका नयाँ महानिर्देशकलाई समेत सबै विषय भनेर ‘फेरि विमानस्थल पठाउनु होला, म जान्न’ भनेको समेत उनले दाबी गरिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेर तत्कालीन विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको थियो । मोबाइल जफत गरेर साँझ आयोगले उनलाई हाजिर जमानतमा छाडेको थियो ।

भट्टराई छानबिनमा परेपछि विमानस्थल अध्यागमनको नेतृत्वमा गृह प्रशासनले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई पठाएको थियो ।
गृहका अधिकृतहरूका अनुसार, कोइराला विमानस्थल अध्यागमनको नेतृत्वमा रहेका बेला समेत भिजिट भिसा असुली गरेर युवालाई विदेश पठाउने क्रम रोकिएको थिएन । यसबारे अनलाइनखबरले समेत प्रमाणसहित रिपोर्टिङ गरेको थियो ।
त्यही बीचमा उच्च सरकारी नेतृत्वसम्म दुबई र नेपालको गरी दुईवटा मोबाइल नम्बरसँगै ‘भिजिट भिसामा पठाउने’ भन्दै भएको संवादको स्क्रीनसट पुगेको थियो । त्यो सूचना गृह प्रशासनसम्म पुगेपछि प्रहरीलाई गोप्य छानबिन गराइएको स्रोतको दाबी छ । त्यसक्रममा दूबईको सम्पर्क नम्बर र नेपाली नम्बरको विवरणमाथि छानबिन भएको थियो ।
मन्त्रालय स्रोतका अनुसार, त्यसरी उपलब्ध नेपाली नम्बर सिराहाको एक व्यक्तिको नाममा दर्ता भएको पाइएको थियो भने दुबईको नम्बरको ह्वाट्स एप विमानस्थलबाटै चलिरहेको खुलेको थियो । स्रोतका अनुसार, मोबाइल नम्बर दर्ता गर्ने व्यक्तिसँग बुझ्दा उनलाई त्यसबारे केही थाहा थिएन भने त्यो नम्बरको लोकेसन पनि काठमाडौंमै देखिएको थियो ।
‘दुवै नम्बर विमानस्थलमा चलिरहेको थाहा भएपछि गोप्य जाँच गर्दा अधिकृत थापा नै त्यसमा संलग्न रहेको देखियो’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यही अनुसार गृहमा रिपोर्टिङ भएपछि उहाँलाई जिम्मेवारीबाट हटाइएको थियो ।’
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले समेत उनलाई जिम्मेवारीबाट हटाइएको पुष्टि गरेका छन् । तर, अन्य कुरा आफूलाई थाहा नभएको बताए ।
‘म आउनुभन्दा पहिल्यै जिम्मेवारीबाट हटाइएको हो, त्यसैले त्यसबारे मलाई धेरै थाहा छैन,’ तिवारीले अनलाइनखबरसँग भने, ‘म हाजिर भएको एकसाताजति भयो, अहिले यस्तो कुरामा शून्य सहनशीलताको नीति अपनाएर काम भइरहेको छ ।’
स्रोतका अनुसार, थापासँगै शम्भु ठगुन्ना नामका अधिकृत समेत जिम्मेवारीबाट हटाइएका थिए । तिवारी आएपछि पनि थप दुईजना अधिकृतको जिम्मेवारी खोसिएको छ ।
‘मेरो पालामा दुईजनालाई केही विषयमा शंका लागेर तानेको छु, तर त्यसमा भन्न सकिने खाल्को केही आधार फेला परिसकेको छैन’, उनले भने, ‘यसमा कसरी सुधार गर्ने भनेर अहिले हामीले काम गरिरहेका छौं ।’
टिसर्टमा पनि छापिएको त्यो भाइरल तस्वीर
७ फागुन २०४६ देखि चलेको पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोलन सफल भएर २६ चैतमा प्रजातन्त्र पुनर्स्थापना भएको थियो ।
त्यसबेला १८ वर्षका फोटो पत्रकार मिन बज्राचार्यले जनआन्दोलनको एउटा आइकनिक तस्वीर खिचेका थिए, जसलाई अहिलेसम्म प्रजातन्त्र सम्झाउने तस्वीरका रुपमा लिइन्छ ।
त्यो तस्वीरमा हाल छानबिनको दायरामा रहेकी अधिकृत थापा विद्यार्थी नेतृका रुपमा दुई हातमाथि उठाउँदै उत्सव मनाइरहेको देखिन्छ ।
प्रजातन्त्र जिन्दवाद भन्दै नारा लगाइरहेको भिडमा थोरै महिलामध्ये उभिएकी उनले खुशी मनाइरहेको तस्वीर सार्वजनिक भएपछि उनी एकाएक चर्चामा आएकी थिइन् ।
बज्राचार्यका अनुसार, त्यो तस्वीर तत्कालीन राजा वीरेन्द्रले प्रजातन्त्र घोषणा गरेपछि विजयोत्सव मनाउँदै खुलामञ्चमा आयोजित कार्यक्रममा लिइएको थियो ।
त्यसदिन कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी लगायत स्टेजमा थिए भने बज्राचार्यले अग्रपंक्तिबाट भिडमा विद्यार्थी नेतृले खुलेर उत्सव मनाइरहेको देखेपछि त्यो तस्वीर लिएका थिए । पछि त्यो तस्वीर टिसर्ट, ब्यानर र मगमा समेत छापिएको थियो ।

२०५२–२०६३ सालसम्म चलेको १० वर्षे माओवादी द्वन्द्व र २०६२/६३ को दोस्रो जनआन्दोलनका बेला समेत बज्राचार्यले उनलाई सडकमा फेला पारेर तस्वीर खिचेका थिए । त्यसबेला पनि उनी ‘गणतन्त्र जिन्दवाद’को नारा लागि रहेकी थिइन् ।
२०४५ सालमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध उनी २०६३ सालतिर तरुण दलको काठमाडौं जिल्ला सदस्य भएकी थिइन् । पछि नुवाकोटबाट क्षेत्रीय प्रतिनिधिसमेत बनिन् ।
पछि लोकसेवा आयोगको जाँच पास गरेर उनी सरकारी सेवामा प्रवेश गरेकी थिइन् । अधिकृतमा बढुवा भएपछि उनी रसुवाको सहायक प्रमुख जिल्ला अधिकारी समेत बनिन् ।
कर्मचारी वृत्तमा ‘कमाउ अड्डा’का रुपमा परिचित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा समेत पटकपटक काम गर्ने अधिकृतमा पर्छिन्, उनी । ‘उहाँ यसपालि छैठौं पटक विमानस्थल अध्यागमनमा कार्यरत् हुनुहुन्थ्यो’, विमानस्थल अध्यागमन स्रोत भन्छ ।
गृह स्रोतका अनुसार, थापालाई पछिल्लो पटक गृहसचिव गोकर्णमणि दुवाडीले विमानस्थल अध्यागमनमा पठाएका थिए । अख्तियारको छानबिनमा रहेका सहसचिव भट्टराईको ‘कोर टिम’का अधिकृतहरूको सूचीमा थापा र ठगुन्ना समेत पर्ने अधिकारीहरूको दाबी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा मानव तस्करी भइरहेको सूचना पटकपटक आएपछि एक वर्षदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखिरहेको थियो । त्यसक्रममा गम्भीरतापूर्वक हेर्न भन्दै गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत आयोगले पटकपटक पत्र लेखेको थियो ।
तर, कुनै कारबाही नभएपछि ५ जेठदेखि विमानस्थलमा आयोगका अनुसन्धान अधिकृतहरूले गोप्य अपरेशन चलाएका थिए । यद्यपि, जाँच चलिरहँदा अख्तियारबाटै गृह प्रशासनसम्म सूचना चुहियो र तत्कालीन विमानस्थल अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई एक्कासी सरुवा भए ।
गृह मन्त्रालयले सरुवा गरेको भोलिपल्टै सूचना चुहिएको थाहा पाएर आयोगले सहसचिव भट्टराईलाई विमानस्थलबाटै पक्राउ गर्यो । उनको मोबाइल समेत जफत गरेर अनुसन्धान अघि बढ्यो । मोबाइलको डिजिटल फरेन्सिक जाँचको रिपोर्ट समेत आइसकेको छ ।
त्यसबेला भट्टराईलाई हाजिर जमानतमा छाडिए पनि अनुसन्धान अझै चलिरहेको छ । पूर्वसचिव शंकरदास वैरागी नेतृत्वको अध्ययन समितिले पनि छानबिन गरिरहेको छ ।
भिजिट भिसाका नाममा स्पेन पठाइएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा छानबिन चलिरहेको छ ।
अख्तियारका अधिकृतहरूका अनुसार, हालसम्मको अनुसन्धानले विमानस्थल अध्यागमनमा संगठित रुपमा असुली हुने गरेको देखिन्छ । घुसको हिसाबकिताब राख्न सफ्टवेयरसमेत प्रयोग हुने गरेको अधिकृतहरू बताउँछन् ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, प्राय: बिचौलियाले असुली गरिएका व्यक्तिहरूको विवरण पठाउन कर्मचारीलाई छुट्टै स्मार्टफोन दिने गरेका थिए । त्यस्ता फोन प्रत्येक हप्ता फेरिने गरेको अनुसन्धानबाट खुलेको छ ।
विगतमा भिजिट भिसा प्रकरणमा पक्राउ परेका अध्यागमनका अधिकृतहरूले समेत विचौलियाले फोन दिने गरेको प्रहरीसँगको बयानमा स्वीकारेका थिए ।
अध्यागमनमा हुने अतिरिक्त आम्दानीकै कारण त्यहाँ दरबन्दीभन्दा बढी कर्मचारी खटाइने गरेका थिए ।
पछिल्लो समय अनुसन्धान चलिरहेकै बेला समेत भिजिट भिसामा असुलेर युवालाई विदेश पठाइरहेको खुलेपछि भर्खरै लोकसेवाको परीक्षा पास भएका ४५ नयाँ अधिकृतलाई विमानस्थलमा पठाइएको थियो । यद्यपि, विमानस्थलमा कामको चाप बढी हुने हुँदा थप कतिपय पुराना कर्मचारी समेत त्यहीँ कार्यरत छन् ।
प्रतिक्रिया 4