
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको न्यूरोडस्थित विश्वास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्षसहित ७ जना पदाधिकारीले करिब ५ करोड रुपैयाँ ठगी गरी फरार भएका छन्।
- फरार हुनेहरूमा अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, र सदस्यहरु अनिता थापा र रोहित खड्का छन्।
- काठमाडौं जिल्ला अदालतमा उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा दायर भएको छ र उनीहरुलाई फरार प्रतिवादी बनाइएको छ।
२० साउन, काठमाडौं। बचतकर्ताहरूको करिब पाँच करोड रुपैयाँ ठगी गरेर एक सहकारीका सञ्चालक समितिका सबै पदाधिकारीहरु फरार भएका छन् ।
काठमाडौं महानगरपालिका–१० न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु फरार भएका छन् ।
फरार हुनेहरुमा सहकारीका अध्यक्ष ४३ वर्षीय दमन्ता घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी, कोषाध्यक्ष ४४ वर्षीया भारती न्यौपाने गौतम, सदस्य २९ वर्षीया अनिता थापा र सदस्य ३८ वर्षीय रोहित खड्का छन् ।
लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो । २६ माघ २०८० मा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।
लामो समयसम्म खोजी गर्दा पनि उनीहरु फेला नपरेपछि फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिस काठमाडौंका एक अधिकृतले बताए ।
पछि यो सहकारीविरुद्ध थप जाहेरी आएपछि अनुसन्धान गर्दा अरू पाँच करोड रुपैयाँ अपचलन भएको पाइएको प्रहरीले बताएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ ।
उनीहरूले १५ बचतकर्ताको चार करोड ८० लाख २३ हजार २८६ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । सुरेशकुमार पोदार नाम गरेका एक बचतकर्ताको १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको आरोप छ ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को ठगी गर्न नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर भएको छ । जसअनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।
अनुसन्धान अधिकारीहरुको अनुसार बचतकर्ताको रकम उनीहरुले बाँडफाँड गरी बिना धितो ऋण भन्दै लगेर नतिरी फरार भएका हुन् ।
प्रतिक्रिया 4