+
+
Shares

कैलाली कारागार तनाव : कैदीबन्दीको संख्या यकिन गर्न धमाधम गणना

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १५:००

२५ साउन, धनगढी । तनावग्रस्त कैलाली कारागारमा रहेका कैदीबन्दीको संख्या यकिन गर्न गणना थालिएको छ । शनिबारमात्रै कारागारको जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालले प्रत्येक कैदीलाई बोलाएर संख्या गणना गर्न थालेका हुन् ।

कारागार स्रोतका अनुसार, अहिले धमाधम कैदीबन्दीको संख्या यकिन गर्ने काम भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, प्रत्येकको अनुहार हेर्दै जेलरको नेतृत्वमा कैदीबन्दीको गणना भइरहेको हो ।

कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् ।

घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन । सो क्रममा आइतबार दिउँसो २ बजेपछि कैदीबन्दीको संख्या यकिन गर्नका लागि प्रशासन सक्रिय भएको हो ।

भित्रको स्थिति तनावग्रस्त भएपछि कैदीबन्दीका आफन्तहरू कारागार परिसरमा पुगेर सोधखोज गरिरहेका छन् ।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् ।

स्रोतका अनुसार, गृह मन्त्रालय वा कारागार विभागबाटै प्रतिनिधिहरू आएपछि मात्रै थुनुवा कक्ष खोल्ने भनेर उनीहरूले बताइरहेका छन् ।

कारागार भित्रको अवस्थाबारे तथ्यगत विवरण सार्वजनिक हुन सकेको छैन ।

विभिन्न कसुरमा सजाय काटिरहेका कैदीबन्दीका आफन्त समेत कारागार भित्र झडप भएको खबरले चिन्तित देखिएका छन् ।

कारागार प्रशासनले उनीहरूलाई गेटबाहिरै रोकेको छ ।

१५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँ राख्दा कैलाली कारागारमा पटकपटक तनाव हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?