+
+
Shares

शिक्षा विधेयक : फेरि निजी विद्यालयलाई शैक्षिक गुठीमा ल्याउने विषय प्रवेश

सरोकारवालाहरूले आन्दोलनको घोषणा गरेपछि शिक्षा समितिमा पारित भएका विषयहरू समेत उल्ट्याउनेगरी छलफल अघि बढेको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ साउन २९ गते २२:१४

२९ साउन, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा टुंगिसकेको विषय फेरि उल्ट्याउनेगरी छलफल अगाडि बढेको छ । निजी विद्यालयहरूले पूर्ण छात्रवृत्ति नदिने भन्दै आन्दोलन घोषणा गरेपछि शैक्षिक गुठीमा ल्याउने विषयले प्रवेश पाएको छ ।

बिहीबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको परामर्श समन्वय उपसमितिको बैठकमा निजी विद्यालयलाई शैक्षिक गुठीमा ल्याउने विषयमा छलफल भएको हो । शिक्षा मन्त्रालयको अनुपस्थितिमा परामर्श समितिको बैठक बसेको थियो ।

निजी विद्यालयको सञ्चालन कम्पनी वा शैक्षिक गुठीमा रहने प्रावधान पारित भइसकेको छ । तर, निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक नदिने भनेपछि शैक्षिक गुठीमा ल्याउने विषय प्रवेश भएको हो ।

‘निजीको विषयमा नरम भएर कम्पनीमै सञ्चालन गर्न पाउने राखिएको छ । इच्छा भएमा मात्र गुठीमा सञ्चालन गर्न सक्छन् । तर पूर्ण छात्रवृत्तिमा पोशाक र आवास सुविधा नदिने भनेर निजीले आन्दोलन घोषणा गरेपछि शैक्षिक गुठीमा ल्याउने विषयमा छलफल भएको हो,’ परामर्श उपसमितिका एक सदस्यले भने ।

निजी विद्यालय सेवामूलक, लोककल्याणकारी क्रमश: गैरनाफामूलक बनाएर सञ्चालन गर्ने समितिबाट पारित भएको छ । तर, क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउनुपर्ने माग निजी विद्यालय सञ्चालकहरूको छ । यो विषय सुरुदेखि नै पेचिलो बनेको थियो ।

कम्पनीमा राखेर गैरनाफामूलक राख्न नहुने तर्क निजी विद्यालय सञ्चालकहरूको छ । ‘कम्पनीमा लगेको २४ वर्ष भयो । बैंकको ऋणमा चलाएको छ । गुठीमा लैजान कानुनले पनि मिल्दैन,’ एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानले भने, ‘सरकारले २ आर्थिक वर्षको बजेटले पनि मुआब्जा दिन सक्दैन ।’

सांसदहरूले निजी विद्यालयलाई १० देखि २० वर्षसम्मको सयम दिएर शैक्षिक गुठीमा ल्याउनुपर्ने संशोधन पनि हालेका थिए । संशोधनअनुसार निश्चित समय दिएर निजीलाई शैक्षिक गुठीमा ल्याउने विषयमा परामर्शमा सांसदहरूले प्रस्ताव राखेका छन् ।

छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा आवासीय र पोशाक सुविधाको प्रस्ताव गरिएको थियो ।

जसमा भनिएको थियो, ‘पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा सम्झनु पर्छ ।’

तर, निजी विद्यालय सञ्चालकहरूले पोशाक र आवासीय सुविधा हटाउन दबाब दिएका छन् ।

‘निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ । विपन्नको लागि आवास र पोशाक सुविधा पनि हुनुपर्छ । विपन्नलाई देउ भनेको न हो । ५ सय जनामा ५० जनालाई दिन समस्या हुँदैन,’ परामर्शका अर्का एक सदस्यले भने ।

तर, निजी विद्यालय सञ्चालकहरूले हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्कमात्र रहनुपर्ने अडान राखेका छन् ।

यो विषयलाई लिएर प्याब्सन र एनप्याब्सनले बिहीबारदेखि नै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । तर, बिहीबार नै निजी विद्यालय सञ्चालकहरूले शिक्षा समितिसँग छलफल गरेका छन् ।

‘चरणबद्ध आन्दोलनमा छौं । समितिसँग छलफल पनि भयो । कम्पनीमा रहेर गैरनाफामूलक भन्ने शब्द राख्न मिल्दैन हटाउन भनेका छौं,’ एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानले भने, ‘पूर्ण छात्रवृत्ति पनि सम्भव छैन । १० प्रतिशतलाई कडाइकासाथ नियमन गरौं ।  यसमा पनि ३ लाख बच्चाले छात्रवृत्तिमा पढ्न पाउँछन् । तर पूर्ण छात्रवृत्ति भनेर आवास र पोशाक दिन सकिँदैन ।’

गत २२ साउनमा बसेको समितिको बैठकमा बोलेका १९ जना सांसदले आवास र पोशाक सुविधा राख्नुपर्ने मत राखेका थिए । यो बहुमत सदस्यको आवाज हो ।

निजी विद्यालय मात्र होइन, शिक्षक महासंघले पनि भदौको दोस्रो साताबाट आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

शिक्षकको बढुवा, सरुवा, विभागीय कारबाही, अस्थायी प्रकृतिका शिक्षकको स्थायीत्व, ट्रेड युनियन, बालकक्षा शिक्षक, विद्यालय कर्मचारी तथा संस्थागत विद्यालयका शिक्षकको व्यवस्थापन, शिक्षक दरबन्दी मिलान सहमति अनुसार नभएको महासंघको भनाइ छ ।

नमिलेका विषय थाती राखेर लेखियो प्रतिवेदन

विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ साउनमा सचिवालयलाई प्रतिवेदन लेख्न निर्देशन दिएको थियो ।

समितिको निर्देशन अनुसार सचिवालयले नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकेको हो । ‘प्रतिवेदन लेखनको काम सकिएको छ,’ समिति सचिव दशरथ धमलाले भने ।

एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदन अघिल्लो बैठकमा परिमार्जनसहित पारित गरेपछि समिति सचिवालयले प्रतिवेदन तयार पारेको हो । तर, विधेयकमा अझै केही विषय मिल्न बाँकी छ ।

२२ साउनमा बसेको समितिको बैठकले नमिलेका विषय परामर्श समन्वय उपसमितिबाट सहमति जुटाउने निर्णय गरेको थियो । नमिलेका विषय शिक्षा मन्त्रालयसहित परामर्श समन्वय उपसमितिको बैठकबाट टुंगो लगाउने तयारी छ ।

परामर्शको बैठक बसेर नमिलेको विषयमा टुंगो लगाएपछि समितिको बैठक बोलाएर सदस्यहरूलाई अध्ययनका लागि प्रतिवेदन दिइने छ ।

समिति सदस्यहरूले प्रतिवेदन अध्ययन गरेपछि कुनै त्रुटि भएमा सच्याएर विधेयक समितिबाट पारित गरिनेछ । पारित भएको प्रतिवेदन संसद्मा पेस गरिनेछ । यसका लागि अब २ वटा बैठक बोलाउने तयारी समितिको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?