
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको टोलीले लोक गीतमा देखिएको अश्लीलता नियन्त्रण गर्न गृहमन्त्री रमेश लेखकलाई भेटेर आग्रह गरेका थिए।
- गृहमन्त्री लेखकले साइबर ब्यूरोमा फोकल पर्सन तोकेर अश्लील गीतहरू विरुद्ध कारबाही अगाडि बढाउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन्।
- लोक गीतमा अश्लीलता र छाडापन बढेको विषयमा व्यापक विरोध भए पनि विवादित गीतहरू युट्युबमा यथावत छन् र नियमनका लागि सूचना प्रविधि र संस्कृति मन्त्रालयसँग समन्वय आवश्यक छ।
गत असार २६ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको एक प्रतिनिधि टोली गृहमन्त्री रमेश लेखकलाई भेट्न मन्त्रालय पुग्यो। सोही दिन राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको टोलीले पनि गृहमन्त्रीसँग भेटघाट गरेको थियो ।
दुवै टोलीको एउटै उद्देश्य थियो – लोक गीत संगीतमा पछिल्लो समयदेखि देखिएको अश्लीलता र छाडापनलाई नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नु।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको टोलीले गृहमन्त्रीलाई तीज पर्वको नाममा प्रकाशित छाडा तथा अश्लील भिडियोहरूलाई नियन्त्रण र रोक लगाउनुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाएको थियो ।
पत्रमा उल्लेख गरिएको थियो कि यी गीतहरूमा प्रयोग भएका शब्द, हाउभाउ र दृश्यहरूले सामाजिक मर्यादाको उल्लङ्घन गरेको छ। साथै यस्ता सामग्रीहरूले युवाहरूमा नकारात्मक सोच जन्माउने र सामाजिक सद्भावनामा आँच पुर्याउने काम गरिरहेको छ।
व्यापारिक लाभको उद्देश्यले बनाइएका यस्ता सामग्रीहरूले मौलिकता, भाषा र सांस्कृतिक मूल्य-मान्यतालाई क्षति पुर्याइरहेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।
गृहमन्त्री लेखकले तत्कालै कारबाही सुरू गर्ने आश्वासन दिए । साइबर ब्यूरो अन्तर्गत सम्बन्धित क्षेत्रका गुनासो सुनुवाइका लागि फोकल पर्सन तोकेर कारबाही अगाडि बढाउन प्रहरी महानिरीक्षकलाई निर्देशन समेत दिए।
त्यसको तीन दिनपछि असार २९ गते राष्ट्रिय लोक सञ्चार नेपालको टोली पुनः साइबर ब्यूरो पुगेर तीनवटा गीतविरुद्ध कारबाहीको मागसहित निवेदन दर्ता गराएको थियो । उजुरी परेकामध्ये केही नव कलाकार भए पनि एउटा गीतमा करोडौं दर्शकले हेरेका चर्चित गायक तथा गायिकाहरू नै संलग्न छन्।
‘लुकी लुकी’ नामक विवादित गीतमा रामजी खाँड र शान्तिश्री परियारको स्वर रहेको छ भने सुनील क्षेत्री, विनय अधिकारी र प्रियंका कार्कीले अभिनय गरेका छन् ।
अचम्मको तथ्य यो छ कि, रामजी खाँड हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष हुन् । त्यस्तै, चर्चित गायिका शान्तिश्री परियार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिकी महिला उपाध्यक्ष पदमा रहेकी छिन् ।
विरोधको उत्खनन्
असार ६ युट्युबमा धुर्व पुनको रिलिज भएको ‘गाई कालो’ शीर्षकको गीत सुरूमा सुन्दा लोक दोहोरीको रूपमा देखिन्छ । किनकि उक्त गीत दोहोरीको संरचनामा छ र लोक बाजाहरू पनि प्रयोग गरिएको छ । तर अवलोकन गर्दा यो गीत कतैबाट पनि लोक दोहोरी गीत हो भन्ने लाग्दैन । गीतमा द्विअर्थी शब्दका साथै चुम्बन र यौनका कुराहरू गरिएको छ भने भिडियो त हेर्न अप्ठ्यारो हुने खालको छ । यसले हाम्रफ लोक संस्कृतिको धज्जी उडाएको कुरा स्पष्ट देखिन्छ ।
त्यस्तै असार १९ अर्थात् जुलाई ३ तारिखमा राजकुमार वलीको नामबाट युट्युबमा प्रकाशित ‘सल्ला दमारमा’ भन्ने गीतले सबै खालका हद पार गरेको छ । साहित्य कलाले बिम्ब र लक्षणाको प्रयोग गरेर घटना, मनोभाव वा परिस्थितिको झल्को दिनुपर्नेमा यो गीतमा गायिकाले ‘राँगाले भैंसी, गोरुले गाईलाई गरेझैं माया गरन मलाई’ भनेर गाएकी छिन्।
यी दुवै गीतको भिडियो निर्देशन तिलक ठकुरी चिट्टीले गरेका छन् । अर्को गीत ‘लुकी लुकी’ को शब्द र भिडियो पनि उल्लेखित गीतहरूभन्दा कम छैन । गीतमा शब्दहरू यति अश्लील छन् कि, पारिवारिक माहोलमा सुन्न र हेर्न सकिँदैन।
गीत लेख्ने गीतकार, गाउने र अभिनय गर्ने कलाकारहरूले कलाको, त्यसमाथि पनि लोक लय, भाषा, साहित्य र बाजाको यसरी अपमान गरेका छन् कि उनीहरूलाई कलाकार भन्नु पनि मनासिव देखिँदैन । भिडियोमा प्रस्तुत हाउभाउ र भेषभूषा चलचित्रको आइटम गीतभन्दा पनि निम्न स्तरका छन्।
सामाजिक सञ्जालमा व्यापक विरोध भए पनि । यी गीतहरूमाथि उजुरी परे पनि यो लेख तयार गर्दासम्म गीतका भिडियोहरू युट्युबमा यथावत छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको व्यापक विरोधपछि सम्बन्धित संस्थाले पहलकदमी लिएको बुझ्न गाह्रो पर्दैन । तर प्रकाशन वा प्रसारण भएका सामग्री कतै न कतै सुरक्षित हुने भएकाले यस्ता सामग्रीले लज्जास्पद इतिहास निर्माण गर्ने कुरा निश्चित जस्तै छ ।
विवादित बिगत
म्युजिक नेपालको अर्काइभमा रहेको मधु क्षेत्रीको २०४६ सालको लोक गीत ‘साइली र माइली पोइला गएछन्’ तत्कालीन समयमा निकै विवादित भएको थियो । त्यसपछि रेडियो नेपालले केही समय प्रसारणमै रोक लगायो ।
त्यस्तै लोक गायक कुमार बस्नेतले २०४८ सालमा गाएको ‘छोरी भन्दा आमा तरुनी’ गीत पनि तत्कालीन समयमा निकै विवादित थियो। यो गीत सर्वाधिक विवादित त भयो नै, उत्तिकै चर्चित पनि भयो ।
तत्कालीन समयको लोक गीत भनिए पनि यो मुख्यतः काठमाडौं जस्तो शहरी परिवारको उदाहरणलाई पेश गरेर बनाइएको स्पष्ट हुन्छ।
कुमार बस्नेत तत्कालीन समयमा अश्लील र छाडा गीत गाउने गायकका रूपमा परिचित थिए । उनैले गाएको ‘लप्सीको गेडो चुसेर’ भन्ने गीत पनि द्विअर्थी नै छ । ‘छोरी भन्दा आमा तरुनी’ र ‘लप्सीको गेडो चुसेर’ दुवै गीतले महिलालाई परपुरुषको खाँचो र यौन आशक्ति रहेको भन्ने संदेश दिन्छ।
तत्कालीन समयमा प्रसारण गर्ने संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन मात्र भएको थियो । तिनको पहुँच आम जनतासम्म नभएकाले अहिले जस्तो विरोध वा विवादको स्वर उच्च नभएको मात्र हो ।
देशमा सूचना र प्रविधिले फड्को मारेपछि यस्ता अश्लील, छाडा र विवादित गीतको संख्यामा बाढी आयो । रेडियो नेपाल स्थापना भएको केही वर्षसम्म भारत गएर गीत रेकर्ड गर्नुपर्ने बाध्यता थियो ।
आम मानिसको घरमा रेडियो नहुने अवस्था, कला गला भएर पनि रेकर्ड गर्न पहिले भारत र पछि काठमाडौं जान नसक्ने अवस्था, कलाकार बन्नका लागि रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण हुनुपर्ने अवस्था थियो । यस्तो कडा नियन्त्रणका बेला पनि नेपाली गीत संगीत सीडी क्यासेटको जमानासम्म यसरी विकृत थिएन ।
तर जब निजी टेलिभिजनहरूको स्थापना भयो, निजी रेकर्डिङ स्टुडियोको चरण पार गरेर युट्युब जस्ता प्लेटफर्महरूले व्यापकता पायो, तब निर्बाध रूपमा द्विअर्थी, अश्लील र पारिवारिक तथा सामाजिक विचलन ल्याउने गीतहरूको बाढी आयो। यो प्रवृत्ति कुमार बस्नेतहुँदै राजकुमार बलीसम्म आइपुगेको छ।
रक्षक नै भक्षक
हालै एक टिभी अन्तर्वार्तामा गायक कुमार बस्नेतले अश्लील र छाडा भन्ने गीत नै नहुने बताए । उनले भने-‘लोकमा जे प्रचलित छ त्यो टिपेर ल्याएपछि लोक गीत बन्छ ।’
यसको सोझो अर्थ यो हुन्छ कि, लोकमा बोलिने र लोकको अस्तित्वमा रहेका अश्लील शब्दावली, अपशब्द वा कसैलाई होच्याएर प्रयोग गरिने भनाइ, उक्ति वा गीत गायन वा अभिनयको रेकर्डेड प्रसारण सामग्रीमा ल्याउँदा केही फरक पर्दैन ।
उनले राष्ट्रिय टेलिभिजनको अन्तर्वार्तामा सपाट रूपमा महिलाको शरीर र अङ्गलाई इङ्गित वा कटाक्ष गर्ने गीत गाए । रेडियो नेपालकी पूर्व समाचार वाचिका तथा चर्चित लोक दोहोरी गायिका कोमल वली जो राष्ट्रिय सभाको सदस्य पनि भइन्, उनले तीज गीतको नाममा ‘पोइल जान पाम’ भन्ने गीत निकालिन् ।
उक्त गीत विवादित र चर्चित त भयो नै तर तीज गीतका नाममा तीज संस्कृतिको विकासमा उनको योगदान पनि कालो अक्षरले लेखिएको छ।
लोक गीत संगीतलाई लोक गीत नै रहन नदिई र्याप ब्याटलका नाममा विकृत गरेको अपाच्य र अश्लील दोहोरी गाएको भन्दै पछिल्लो वर्ष लोक तथा दोहोरी गीत प्रतिष्ठानले केही कलाकारहरूलाई चेतावनी दिएको थियो। साथै त्यस्ता गीत नगाउन सचेत गराएको थियो भने केन्द्रीय सदस्य बालचन्द्र बराललाई निलम्बन नै गरेको थियो ।
तर कारबाहीमा परेकी एक कलाकारले विभिन्न समयमा पहिले नेतृत्वमा रहेका तर उल्लेखित र्याप ब्याटल, छाडा, द्विअर्थी र अश्लील गाएका खुमन अधिकारी, शिव हमाल, प्रकाश सपुत, प्रीति आले, पूर्णकला बिसी र बद्री पंगेनीलाई पनि कारबाही माग गरेकी थिइन् ।
तत्कालीन समयमा विभिन्न र्याप ब्याटल तथा लाइभ दोहोरीका नाउँमा गीत गाउने वा रेकर्डेड गीतमा अभिनय गर्ने अग्रपङ्क्तिमा नव कलाकार मात्र नभएर कुनै समय नेतृत्व गरेका गायक-गायिका साथै चर्चित रियालिटी शोको अवार्ड जितेका खेम सेञ्चुरीसम्म सामेल छन् । उनीहरूले लेखेका र गाएका गीत, अभिनय गरेका भिडियो र प्रत्यक्ष दोहोरीमा गाएका गीतहरूले नेपाली लोक गीत संगीतलाई उल्टो बाटोमा हिँडाउन अग्रसर देखिन्छन् ।
त्यस्तै, दोहोरी साँझहरूको अवस्था झन् विकराल छ । दोहोरी साँझमा दोहोरी गाएर उदाएका र स्थापित भएका धेरै कलाकारहरू नेतृत्वमा पुगे तर आज त्यहाँ कार्यरत गायक-गायिका तथा वाद्यवादकहरूको स्थिति नाजुक छ । मदिरा र अंग प्रदर्शन नै दोहोरी साँझको विशेषता बनेको कुरा छर्लङ्ग छ ।
नियमन, नियन्त्रण र विवेकको प्रयोग
माथि उल्लेख गरिएका गीत, तिनका भिडियो र गायक-गायिकाहरू प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता गीतका भिडियो र गायक-गायिकाहरू सयौंको संख्यामा छन्, जसको चर्चा एउटा लेखमा गरेर सकिँदैन ।
कला साहित्यले तत्कालीन समयको दर्पणको काम गर्नुपर्छ र तिनीहरू त्यही सापेक्षतामा प्रस्तुत हुनुपर्छ । आजभन्दा पचास वर्षअघि महिला दिदी-बहिनीहरूले गाउने भाषा र आजको भाषा उस्तै हुने कुरा भएन र उस्तै खोज्नु पनि मूर्खतापूर्ण हुन्छ ।
हिजोका सामाजिक समस्या, भौगोलिक समस्या, माया-प्रेमका कुरा आज पक्कै उस्तै हुँदैनन् । यसर्थ हिजोकै जस्तो गीत संगीत खोज्नु न्यायोचित नहोला तर कला प्रस्तुतिको न्यूनतम विवेक कलाकारमा हुनुपर्छ ।
कलाकारको अभिव्यक्ति वा प्रस्तुतिले समाज रूपान्तरणमा ठूलो मद्दत गर्छ । व्यवस्था परिवर्तनका ठूला-ठूला आन्दोलनहरू कलाकारको उपस्थिति भएपछि मात्र सफल भएका छन् । उनीहरूको आह्वान र प्रस्तुतिले मानिसहरूको लहर ह्वात्तै बढेका इतिहास छन्।
मानिसमा सकारात्मक भन्दा छिटो नकारात्मक कुराले ठाउँ पाउने गर्छ । चर्चित हुनका लागि वा मुनाफा आर्जनका लागि अहिले जे गरे पनि हुन्छ भन्ने सोच हुनसक्छ तर त्यसले स्वयं कलाकारलाई दीर्घकालमा फाइदा गर्दैन।
हाम्रा लोक कलाहरू यसैगरी सफ्ट पोर्न बन्दै जाने हो भने त्यसले भविष्यमा निकै विकराल स्थिति ल्याउनेछ ।
रेडियो नेपालबाट गीत बज्दा तत्कालीन व्यवस्थापकको तजबीजबाट वा तत्कालीन शासकको हुकुममा गीत प्रसारण गरिएका उदाहरणहरू छन् । वर्तमान समयमा जो कोही पनि सजिलै गीत लेख्न, गाउन, रेकर्ड गर्न र प्रसारण गर्न स्वतन्त्र छ ।
स्वतन्त्रता जहिले पनि सुन्दर नै हुन्छ जतिबेला त्यहाँ विवेक र अनुशासन हुन्छ । विवेक र अनुशासनविहीन स्वतन्त्रता केवल अराजक हुन्छ । नेपाली लोक गीत संगीतमा पनि भएको त्यही हो।
हामीसँग गीत संगीतको नियमन वा जाँच-पास गर्ने आधिकारिक निकाय छैन त्यसको अर्थ जसलाई जे गर्न पनि छुट छ भन्ने होइन। श्रोता-दर्शक नै सबैभन्दा ठूलो जाँच-पास गर्ने अधिकारी हुन् । यो बुझेर कलाकारहरू स्वयं सचेत हुनु जरुरी छ ।
हाल साइबर ब्यूरोमा उजुरी गरेर यो समस्याको समाधान हुँदैन भन्ने कुरा लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई पक्कै थाहा होला । यो मुख्यतः सूचना प्रविधि र संस्कृति मन्त्रालयसँग सम्बन्धित मुद्दा हो ।
सरोकारवाला निकायहरूले सम्बन्धित पक्षहरूसँग व्यापक सल्लाह र समन्वय गरेर आवश्यक पहलकदमी लिओस् ।
प्रतिक्रिया 4