
९ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साह हत्या घटनामा संलग्न भएको आरोपमा एक सन्दिग्ध व्यक्ति पक्राउ परेका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका ती सन्दिग्ध व्यक्ति रुबीको हत्यामा संलग्न हुने धेरै प्रमाणहरु फेला परेका छन् । ‘सोधपुछका क्रममा एक जनालाई नियन्त्रणमा लिएका छौं । हत्यामा ती व्यक्ति संलग्न हुनसक्ने केही प्रमाणहरु फेला परेका छन् । थप बुझ्ने र भेरिफाई गर्ने काम हुँदैछ’ एक जना अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।
गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्केकी रुबी मृत अवस्थामा सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएकी थिइन् ।
साँझ करिब ६ बजेतिर आमा मिथिलादेवी साहलाई फोन गरेर केही सामान ल्याउनुपर्छ भनेर समेत सोधेकी रुबी त्यसपछि बेपत्ता भएकी थिइन् । त्यो राति उनी घर फर्किनन् । राति १० बजेतिर नै शंकास्पद अवस्थामा सडकमा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । आइतबार बिहान भने प्रहरी टोलीले खानतलासी गर्दा रुबीको शव भेटिएको थियो ।
प्रतिक्रिया 4