
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको सर्वसाधारण नागरिकले कसरी थाहा पाउने ? सैद्धान्तिक तर्क धेरै हुन सक्छन् तर नागरिकले बुझ्ने व्यावहारिक जवाफ हो– उनीहरूले महसुस हुने गरी गरिएको काम।
कैयौं चुनौती र आलोचनाका बावजुद पनि यही काम स्थानीय सरकारहरूले गरिरहेका छन् र, उनीहरूले संघीयताको उज्यालो बनेर देशको शासन प्रणालीलाई नागरिकको घरदैलोसम्म पुर्याइरहेका छन्।
यीमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गरेका ६ वटा उत्कृष्ट स्थानीय तहहरू यस्ता नमूना पालिका हुन् जसको अभ्यास सबैका लागि उदाहरणीय र अनुकरणीय बन्न सक्छन्।
उनीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई कसरी राम्रो बनाए र आफूलाई नागरिकको सेवामुखी संरचनामा बदले ? अनि, कसरी रचे सफलताको कथा ? हामी यस्तै ६ पालिकाका कथा भन्नेछौं। आउनुहोस्, स्याङ्जाको अर्जुनचौपारीको कथा पढौं :
गत वर्ष चैतमा स्याङ्जा अर्जुनचौपारीवासीको मनै कुँडिने एउटा समाचार बाहिरियो। समाचार थियो, ‘अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर।’
विशेष अदालतले आफ्ना जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचारी ठहर गरेपछि स्थानीयवासीको मन खिन्न हुने नै भयो। तथापि, फैसलाको पूर्णपाठ भने आउन बाँकी नै छ।
पालिकामा नयाँ जनप्रतिनिधि आएपछि भने सेवा प्रवाह, विकास निर्माणदेखि सुशासनसम्मका विषयमा धेरै सुधार भएको उनीहरूले महसुस गरेका छन्। उनीहरूको मन खुशीले ढक्क फुलेको छ।
अर्जुनचौपारीवासी हुनुमा उनीहरूलाई गर्व लागेको छ। त्यसको कारण- पालिका अब्बल सावित हुनु र एकपछि अर्को सम्मान पाउनु हो। गत वर्ष नै नेपाली कांग्रेसले जितेका पालिकाहरूमध्ये उत्कृष्ट काम गरेको भन्दै पार्टीले अध्यक्ष प्रकाश तिवारीलाई सम्मान गर्यो।
त्यतिबेला उनीहरूलाई लाग्यो, ‘आफ्नो पार्टीले सम्मान गर्नु त के ठूलो कुरा हो र ?’ तिवारी नेतृत्वको समूह निर्वाचित भएर कार्यभार सम्हाल्दै गर्दा अर्जुनचौपारी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) मा ७५३ स्थानीय तहमध्ये ४५०औं स्थानमा थियो।
गत आर्थिक वर्षसम्म आइपुग्दा भने (लिसा) मा स्याङ्जाकै प्रथम र गण्डकीकै उत्कृष्टमध्येमा दर्ज भयो। यही वर्ष तिवारीलाई अनलाइनखबर डटकमले देशभरिका ‘चालीस वर्षमुनिका चालीस युवा’ घोषित गर्यो।
यही ६ भदौमा अर्जुनचौपारी गाउँपालिकाले अर्को इतिहास कायम गर्यो। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) मा गण्डकी प्रदेशकै प्रथम मात्रै बनेन, गाउँपालिकातर्फ देशकै अब्बल पालिका घोषित गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत नै गर्यो।
सेवा प्रवाह, योजना कार्यान्वयन, बजेट व्यवस्थापन, प्रशासनिक क्षमता, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सेवा प्रभावकारिताका आधारमा गरिएको मूल्यांकनमा अर्जुनचौपारीले उच्चतम अंक ल्याउँदै देशकै उत्कृष्ट गाउँपालिकाको स्थान हासिल गरेको हो।
अर्जुनचौपारीले एकपछि अर्को सफलता कसरी हात पार्यो त ? पालिकामा स्वतन्त्र रूपमा वडाध्यक्ष लडेका चन्द्रकान्त अर्याल भन्छन्, ‘अहिलेका जनप्रतिनिधिबाट सरकार छ भन्ने प्रत्याभूति भएको छ। नागरिकमा आशा जगाइरहेको छ। पारदर्शिता, सुशासन, विकासमा मात्रै होइन, नागरिकलाई सेवामा पनि विश्वस्त तुल्याएको छ।’

चन्द्रकान्त मात्रै होइन, एमालेबाट जनप्रतिनिधि उठेका वजेश विष्टले पनि पालिकामा आएको परिवर्तनबारे खुलेर प्रशंसा गरे। शिक्षा, स्वास्थ्यमा त धेरै परिवर्तन आइसकेको उनले बताए। ज्येष्ठ नागरिक, अपांगता भएकाले घरमै सेवा पाएको विष्टको भनाइ थियो।
‘सडकको पहुँच र धार्मिक पर्यटकीय गतिविधि बढेको छ। विकासको केन्द्रमा आमाहरूलाई राखेको छ’ एमालेमा आवद्ध विष्टले अनलाइनखबरलाई फेरिएको अर्जुनचौपारीलाई यसरी चिनाए, ‘स्याङ्जाको सानो यो पालिका हिजो गुमनाम जस्तै थियो, आज देशमै नामी बनेको छ।’
गत आर्थिक वर्षमा ५७ करोडको बजेट ल्याउँदा कुल ८५ प्रतिशत बजेट खर्च गरेको अर्जुनचौपारीको विकास खर्च (पूँजीगत) ८२ प्रतिशत थियो। उनी आउँदा गाउँपालिकाको बेरुजु १२ करोड थियो। वर्षेनि त्यसको फर्स्योट गर्दै अहिले ५ करोडमा झरेको छ।
स्याङ्जाकै सानो र कम आन्तरिक स्रोत रहेको पालिकामा यसअघि लाखमा राजस्व उठ्थ्यो। गत वर्ष १ करोड ४५ लाख रुपैयाँ संकलन भयो। आन्तरिक राजस्व २ करोड रुपैयाँ लक्ष्य गाउँपालिकाको छ।
नागरिकका असीमित चाहनालाई यति सानो साधन-स्रोतले कसरी सम्बोधन गरेर खुशी पार्न सकिन्छ त ? गाउँपालिका अध्यक्ष तिवारी भन्छन्, ‘नागरिकसँग जोडिएर काम गर्नु ठूलो कुरा रहेछ। सानो सानो सुधारको काम गर्यो भने पनि नागरिकका निम्ति ठूलो आशाको विषय बन्दोरहेछ, यत्ति हो कि आफ्ना योजना, काम र खर्च पारदर्शी हुनुपर्यो।’
नागरिकलाई छरितो र झन्झटमुक्त सेवा प्रवाह चाहिएको छ। साना-साना तर अत्यावश्यक विकासको आवश्यकता पूरा होस् भन्ने चाहन्छन्। विशेषगरी विकासका निम्ति खटिरहने र नागरिकका सुख–दु:खमा जोडिने जनप्रतिनिधि खोजेका छन्। यसका निम्ति जनप्रतिनिधि र कर्मचारीको समन्वय र साथ चाहिंदो रहेछ भन्ने अर्जुनचौपारीले नागरिकलाई महसुस नै गराएको छ।
बजेट निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शी र नागरिकले प्रत्यक्ष थाहा पाउने गरी भइरहेको छ। नीति तथा कार्यक्रम, बजेट समयमै ल्याउने र त्यसको सबै प्रक्रिया पूरा गरेका कारण पनि लिसामा अर्जुनचौपारीलाई नम्बर थपिएको हो। १-१ नम्बर पाउने गरी स्वमूल्यांकनमा राखिएका १०० सूचकमध्ये अर्जुनचौपारीले ८८.७५ अंक पाएको हो।
गाउँ सभा होस् वा कार्यपालिका बैठक सबै अहिलेसम्म सर्वसम्मत रूपमा भएका छन्। जनप्रतिनिधि-कर्मचारीबीच बेलाबेला हुने मनमुटावले विकासदेखि सेवा प्रवाह नै प्रभावित भइरहने थुप्रै उदाहरण छन् तर अर्जुनचौपारीमा पछिल्लो कार्यकालमा यो दृश्य देखिंदैन।

‘विशेष परिस्थितिमा राति ८ बजेसम्म पनि कर्मचारी सेवा दिइरहेका हुन्छन् र जनप्रतिनिधिले हौसला बढाइरहेका भेटिन्छन्’, फरक पार्टीबाट चुनावमा उम्मेदवार बनेका चन्द्रकान्तले सुनाए।
कार्यपालिका बैठकले गरेका हरेक निर्णय पारदर्शी रूपमा सार्वजनिक गर्ने गरिएको छ। सार्वजनिक सम्पत्ति संरक्षणदेखि प्राकृतिक स्रोतको दोहन हुन दिएको छैन।
सिद्धार्थ राजमार्गबाट जम्मा २ किलोमिटरको दूरीमा रहेको अर्जुनचौपारीलाई हिजो दिशा, नापनक्सा बताउनुपर्थ्यो, आज आफैं चिनिएको छ। पालिकाले देशमै फरक शैली र महत्वको धार्मिक गन्तव्य नवग्रह मन्दिर बनाएपछि मात्रै झन्डै २ लाखले भ्रमण गरिसकेका छन्।
गड्यौला आकृतिमा गड्यौला खोलामा निर्माण गरिएको बोटानिकल पार्क अर्जुनचौपारीकै अर्को गन्तव्य बन्न पुगेको छ। विकास निर्माणसँगै नागरिकको सेवा र गाउँपालिका चिनाउनका निम्ति अर्जुनचौपारीले केही भिन्न अभियान नै चलाएको छ।
स्वास्थ्य र सेवाको सारथि
नेपालका हरेक गाउँको नियति उस्तै छ। अधिकांश घरमा बुढाबुढी र अशक्त छन्। गाउँ छाड्न मन नलागेर र गाउँमै केही सम्भावना देखेर बसिरहेका पनि छन्। अर्जुनचौपारी गाउँपालिकाले सबैभन्दा बढी तिनै ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै अभियान चलायो, ‘नागरिकलाई टेवा, घरघरमा स्वास्थ्य सेवा।’
यो अभियानअन्तर्गत १५-१५ दिनमा त्यस्ता घर-घरै स्वास्थ्यकर्मी पुग्छन्। बुढाबुढी, अशक्त, अपांगता भएकाहरूको स्वास्थ्य अवस्था बुझ्छन्। सुगर, ब्लड प्रेसर लगायतको अवस्था नाप्छन्। नतिजा हेरेर मिल्ने भए औषधि दिन्छन्, नत्र त्यसको जानकारी लिएर थप उपचारका लागि पालिकाबाटै समन्वय गर्छन्।
‘प्रत्येक १५-१५ दिनमा टोलटोलमा पुगेर नागरिकको स्वास्थ्य अवस्था जानकारी लिनैपर्छ। गाउँमा अधिकांश बुढाबुढी छन्। छोराछोरी खाडीदेखि अस्ट्रेलिया, अमेरिकासम्म छन्। उनीहरूलाई पनि न्यास्रो लाग्दो हो, केही नभए पनि बात मारेर हाम्रा स्वास्थ्यकर्मी फर्किन्छन्’ अध्यक्ष तिवारीले भने, ‘परिवारका कोही सदस्य विदेशबाट आएका छन्, चकलेट खाएर फर्किनु तर घरघर पुग्नु भनेको छु।’

स्वास्थ्य जाँचका लागि घुम्ती सेवा मात्रै दिइएको छैन, अन्य सेवाका निम्ति पनि जनप्रतिनिधि र कर्मचारीको टोली दुर्गम तथा अपायक क्षेत्रमा पुग्छन्। स्वास्थ्य संस्थाहरूको सबलीकरणमा पनि पालिकाले ध्यान दिएको छ।
तिवारी नेतृत्वको टिम पालिकामा निर्वाचित भएर आउनुअगाडि ३ वडामा आफ्नै भवन र ३ वटामा भाडामा स्वास्थ्य चौकी थिए। अहिले सबै वडामा आफ्नै पक्की भवन छ। स्वास्थ्य संस्थाको हेल्थ डेस्क अनिवार्य छ र यहाँ शनिबारका दिन पनि स्वास्थ्य संस्था खुला हुन्छन्।
पालिका आफैंले आँखा उपचार केन्द्र चलाएको छ। जहाँ आसपासका पालिकाले पनि सुविधा पाएका छन्। अप्रेसन गर्नुपर्यो भने वालिङ वा हिमालय आँखा अस्पताल पोखरामा पालिका आफैंले समन्वय गरेर उपचार गरिदिन्छ।
एमाले स्थानीय नेता वजेश विष्टका अनुसार पालिकाले शिक्षा क्षेत्रमा पनि आशालाग्दो काम गरेको छ। प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गर्ने गरेको छ। अर्जुनचौपारीमा २९ वटा विद्यालय छन्। ‘म जिम्मेवार शिक्षक’, ‘बृहत् शैक्षिक उत्प्रेरणा कार्यक्रम’ जस्ता कार्यक्रम मार्फत शिक्षक उत्प्रेरित छन् भने अभिभावक पनि खुशी छन्।
विकास र जागरणको मूल प्रवाहमा आमाहरू
अर्जुनचौपारी गाउँपालिकाले जागरण र विकासको मूल प्रवाहमा आमाहरूलाई राखेको छ। जहाँ आमाहरूले सशक्तीकरणदेखि गाउँ-समाजका सामाजिक काम र साना–साना विकासको अगुवाइ गर्छन्।
आमाहरूले आफ्नो सशक्तीकरणको माग मात्रै गर्दैनन्, समूहको बैठकबाट निर्णय गरेर आवश्यक योजना पनि माग गर्छन्। पालिकाले उनीहरूलाई रित्तोहात फर्काउँदैन। ‘सशक्तीकरण होस् वा सामाजिक काम या विकास निर्माण नै आमाहरूलाई मूल प्रवाहमा ल्याएका छौं, राखेका छौं’, प्रकाशले बताए।
पालिकाले आमा समूह पालिकामा दर्ता गर्ने र टोल-टोलसम्म विकास, योजना निर्माण र अन्य कामको सहजीकरण तथा समन्वयमा पनि आमासँग सहकार्य गर्ने गरेको छ। पालिकाले यसलाई ‘द आमा समूह मोडल’ नाम दिएको छ।
६ वटा मात्र वडा रहेको अर्जुनचौपारीमा ६९ वटा आमा समूह दर्ता भएका छन्। आमाहरू मूलप्रवाहमा आए हरेक परिवार मूलप्रवाहमा आउँछ भन्ने मान्यताका साथ सञ्चालनमा ल्याएको नौलो विकास मोडल हो, यो।
विकासमा बामे सर्दै, गाउँ चिनाउन लागि पर्दै

सिद्धार्थ राजमार्गबाट २ किमीको दूरीमा गाउँपालिका र ६ किमीको दूरीमा पालिकाको केन्द्र भए पनि २०७९ सालमा १ किमी पनि पक्की सडक थिएन। तर अहिले २५ किमी पक्की तथा कालोपत्रे भइसकेको छ।
९ किमी गोरेटोबाटो, ३ पक्की पुल र २ झोलुंगेपुल निर्माण भएका छन्। अर्जुनचौपारीले नेपालकै पहिलो नवग्रह मन्दिर बनायो, जुन मन्दिर दर्शनका लागि ९ दिनमै झन्डै २ लाख धार्मिक पर्यटक पुगिसके। जबकि, पहिले अर्जुनचौपारीलाई चिनाउन छिमेकी पालिका र सिमाना बताउनुपर्थ्यो।
नवग्रह मन्दिर यसरी बन्यो, जहाँ आस्था र रोजगार सँगै जोडिएको थियो। प्रधानमन्त्री रोजगार कार्यक्रमको साझेदारीमा १ वर्षमा नवग्रह मन्दिर निर्माण गरिएको हो। अहिले मासिक रूपमा करिब ३० हजार भक्तजन त्यहाँ पुगिरहेका छन् र पालिकाले आन्तरिक आम्दानीको स्रोत समेत यसलाई बनाएको छ।
नवग्रह मन्दिर, नवग्रह कृषि फार्म, लामडाँडा होमस्टे, औद्योगिक ग्राम, स्थानीय रोजगार कार्यक्रममा गरी प्रत्यक्ष ९४ जनालाई पालिका आफैंले रोजगारी प्रदान गरेको छ। नेपालमा सञ्चालन भएका ४ वटा औद्योगिक ग्राममध्ये अर्जुनचौपारी पनि एक हो।
योजना सम्झौता वडामै हुने गरेको छ। अधिकांश काम वडाबाटै डिजिटल प्रविधि मार्फत नै हुने गरेको छ। सरकारी कागजात सम्बन्धी समस्या पहिचान तथा समाधान कार्यक्रम सञ्चालन गर्ने गरेको छ। सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण शिविर चलाउँछ भने नियमित स्वास्थ्य, कृषि तथा पशु सम्बन्धी शिविर सञ्चालन गर्ने गरेको छ।
गुनासा पनि छन्, ध्यान दिनुपर्ने

देशमै अब्बल घोषित हुनु भनेको कमजोरीरहित हुनु होइन। अर्जुनचौपारी गाउँपालिका अध्यक्षमाथि पनि गाउँपालिकाभन्दा ज्यादा काठमाडौं, पोखरा बस्ने, विकास र सेवालाई पार्टीकरण गर्ने गरेको केही आरोप छन्। दीर्घकालीन र दिगो विकास विकासमा भन्दा खुद्रे योजना र लोकप्रियतावादी हुने गरेको केही गुनासो विपक्षीहरूको छ।
प्राप्त सम्मान र पुरस्कारको ओजलाई कायम राख्दै सीमित स्रोत र साधनबाट जनताको मन जित्न सक्नु ठूलो कुरा भएको बताउँछन्, समाज अध्येता दीपक पराजुली।
‘धेरै ठाउँमा जनप्रतिनिधिमाथि नागरिकको ठूलो विश्वास छैन। आज अख्तियारदेखि न्यायपालिकासम्म सबैभन्दा बढी मुद्दाहरू स्थानीय तहकै छन्। त्यसमा अर्जुनचौपारी पनि अछुतो छैन’ पराजुलीले अर्जुनचौपारीलाई सुझाव दिए, ‘जनप्रतिनिधिले म सबैथोक हुँ र कर्मचारीले म विना केही हुँदैन भनेर द्वन्द्व देखिन्छ। कानूनभन्दा माथि कोही हुँदैन र एकै पद, ठाउँमा स्थायी कोही छैन। त्यसैले हौसिने होइन कि कमजोरी सुधार्न र थप हौसलाका साथ काम गर्नेले मात्र इतिहास बनाउँछ।’
अब्बल पालिका-१
अब्बल पालिका-२
अब्बल पालिका-३
अब्बल पालिका-४
प्रतिक्रिया 4