+
+
Shares

५९४ बोरा चिनी गायब प्रकरण: एसपी पनि हेडक्वार्टर तानिए, २० जनामाथि छानबिन

११ नं. गण रौतहटका गणपति तथा एसपी सन्तोष बस्नेतलाई सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकमा झिकाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ भदौ १२ गते २१:२८
सशस्त्र प्रहरी बल रौतहट ११ नम्बर गणपति तथा एसपी सन्तोष बस्नेत (बाँया) र सशस्त्रको हेडक्वार्टर हल्चोक ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलका एसपी सन्तोष बस्नेत र डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई ५९४ बोरा चिनी गायब प्रकरणमा हेडक्वार्टर तानिएको छ।
  • रौतहटको गरुडा नगरपालिका शिवनगरमा भन्सार छलेर ल्याइएको ७०० बोरा चिनीमध्ये ५९४ बोरा गायब भएको छ भन्ने आरोप छ।
  • यस प्रकरणमा करिब २० जनामाथि छानबिन भइरहेको छ र दोषी देखिए कारबाही गरिने सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

१२ भदौ, काठमाडौं । तस्करीमार्फत भित्रिएको ५९४ बोरा चिनी गायब बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एसपी पनि हेडक्वार्टर तानिएका छन् ।

११ नं. गण रौतहटका गणपति तथा एसपी सन्तोष बस्नेत हेडक्वार्टर तानिएका हुन् । उनलाई बुधबार सशस्त्रको हेडक्वार्टर हल्चोकमा झिकाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

उनीसँगै सशस्त्रका एकजना डीएसपी पनि हेडक्वार्टर तानिएका छन् । सुरक्षा बेस सन्तपुरका डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई पनि हेडक्वार्टर तानिएको छ । यसअघि डीएसपी बस्नेतलाई मधेश प्रदेशस्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीमा तानेर छानबिन गरिएको थियो ।

एसपी बस्नेतलाई भने सचेत गराइएको थियो । तर छानबिनका क्रममा उनीहरूको गल्ती भेटिएपछि हेडक्वार्टर नै झिकाएर थप छानबिनको प्रक्रिया अघि बढाइएको छ ।

यसअघि यो प्रकरणमा तस्करीको चिनी लुकाएर भण्डारण गरेको सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख तथा डीएसपी अमर लामा नेतृत्वको टोली घटनास्थलमा गएर छापा मारेको थियो । सो क्रममा ५९४ बोरा चिनी गायब भएपछि डीएसपी लामालाई हेडक्वार्टर झिकाएर छानबिन गरिएको थियो ।

लामापछि अहिले थप एकजना डीएसपी र एकजना एसपी समेतलाई हेडक्वार्टर तानिएको हो । तीनैजनामाथि सशस्त्र प्रहरीको कानुन महाशाखाले छानबिन गरिरहेको छ ।

‘हेडक्वार्टर तानिएकाहरूमाथि छानबिन भइरहेको छ । दोषी देखिएको अवस्थामा उनीहरूको भूमिकाअनुसार विभागले कारबाही गर्छ,’ सहप्रवक्ता थापाले अनलाइनखबरसँग भने ।

सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा गत साउन अन्तिम साता तस्करीको ७०० बोरा चिनी लुकाएर राखेको भन्ने भिडिओ सहितको सूचना हेडक्वार्टरमा आएको थियो । त्यसपछि सशस्त्र हेडक्वार्टरले कारबाहीका लागि मातहत निकायलाई निर्देशन दियो ।

रौतहटको गरुडा नगरपालिका शिवनगरमा रहेको उपेन्द्र सहनीको घरमा भन्सार छलेर ल्याइएको ७०० बोरा चिनी भण्डारण गरिएको थियो ।

२९ साउन राति डीएसपी अमर लामाको टोलीले सहनीको घरमा छापा मारेको थियो । बरामद चिनी भन्सार कार्यालयमा बुझाइयो । तर जब भन्सारमा बुझाइएको चिनीको परिमाणबारे हेडक्वार्टरले थाहा पायो, त्यसपछि भने यो प्रकरणमा गोलमाल भएको विषय खुल्यो ।

७०० बोराभन्दा बढी चिनी भण्डारण गरेर राखिएको भिडिओ सहितको सूचना आए पनि गौर भन्सार कार्यालयमा बुझाउँदा जम्मा १०६ बोरा देखाइयो । त्यसपछि भने सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए ।

प्रारम्भिक जाँचका क्रममा अवैध रूपमा चिनी भित्र्याउने व्यक्तिले केही रकम दिएर करिब ६०० बोरा चिनी बरामद नगराएको हुनसक्ने आशंका गरिएको छ ।

घटनामा प्रत्यक्ष जोडिएको भन्दै त्यहाँका डीएसपी लामालाई हेडक्वार्टर यसअघि नै झिकाइएको थियो । जिम्मेवारी खोसेर सशस्त्र प्रहरीले उनीमाथि आन्तरिक छानबिन अघि बढाएको छ ।

प्रारम्भिक जाँचका क्रममा अवैध रूपमा चिनी भित्र्याउने व्यक्तिले केही रकम दिएर करिब ६०० बोरा चिनी बरामद नगराएको हुनसक्ने आशंका गरिएको छ ।

हेडक्वार्टर तानिएका लामा करिब ४ महिनाअघि मात्रै रौतहट पुगेका थिए । उनी यसअघि पनि रौतहटको बोर्डर आउट पोस्ट (बीओपी)मा बसेका थिए ।

अहिले यो प्रकरणमा करिब २० जनामाथि छानबिन भइरहेको छ । उनीसँगै छापा मार्न गएका टोलीका सबै सदस्य छानबिनमा छन् । छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासले यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

माथि उल्लेखित बाहेक छानबिनमा तानिनेहरूमा नं. ११ गण हेडक्वार्टर रौतहटका एक इन्स्पेक्टर, सुरक्षा बेस देवाही रौतहटका एक इन्स्पेक्टर र सुरक्षा बेस दुधियाभारका एक इन्स्पेक्टर पनि छन् । उनीहरूलाई बाहिनीले छानबिन गरिहरेको छ ।

त्यसैगरी दुईजना जुनियर सशस्त्र प्रहरी अधिकृत छन् । ११ जना भने जवान, हवल्दार छानबिनमा छन् । यही प्रकरणमा इन्स्पेक्टर रामचन्द्र लागेजुलाई त बाहिनीबाट नसियतसमेत दिइसकेको छ ।

अहिले हेडक्वार्टर तानिएका एसपी राजेन्द्रबहादुर बस्नेतसहित इन्स्पेक्टर गणेशकुमार बोहरा, इन्स्पेक्टर दधिराम पौडेललाई यसअघि बाहिनीले सचेत गराएको थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?