
१६ भदौं, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे पार्टी निर्णय सच्चिने विश्वास गरेका छन् ।
सेन्टर फर पब्लिक पोलिसी, नेपालले सोमबार गरेको अन्तरसंवादमा उनले एमालेको राजनीतिक कोर्सबारे विश्लेषण सुनाए । पत्रकारहरूसँग पाण्डेको विश्लेषण सार छ– विद्या भण्डारीको सदस्यताबारे गरिएको निर्णय सच्चिन्छ, विधान महाधिवेशनमा कुरा उठ्छ ।
केन्द्रीय कमिटी बैठकबाट पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयमा फरक मत राखेको र उक्त मत विधान अविधेशनमा पनि लैजाने उनले बताए । ‘तत्कालै भिन्न मतका रुपमा माइन्यूट लेखन टोलीलाई यो हाम्रो फरक मत हो भने दियौं । तर त्यो (फरक मत) अपानिमा सर्कुलर भएन भन्ने भएपछि युवराज ज्ञवाली र मैले संयुक्त रुपमा सही गरेर छलफलको विषय बनाइयोस् भनेका छौ’, उनले भने ।
विद्या भण्डारीको सदस्यता नै विधान अधिवेशनको मुख्य एजेण्डा बन्ने पनि उनले बताए । ‘विद्या भण्डारी राजनीतिमा आउँछु भन्दाखेरी उहाँको सदस्यता स्वीकार गर्ने कि नगर्ने भन्ने मात्र बहस छ यहाँ’, उनले भने ।
संविधानले नलेखेको कुरा एमालेको निर्णयबाट हुन नसक्ने भएकाले पनि विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय सच्चिनले पाण्डेले विश्वास गरे ।
एमालेको विधानले पार्टी सदस्यलाई सार्वभौम मानेकाले पनि भण्डारीबारे गरिएको निर्णय सच्चिने उनले विश्वास गरे ।
‘एमालेका सदस्य भन्दा ठूलो शक्तिशाली कोही छैन । सदस्यहरुको टिर्मिनेशन भएपछि कोही नेताको केही चल्दैन । जहाँबाट पनि स्थिति फर्कन बाध्य हुन्छ’ पाण्डेले भने, ‘हेर्दै जानुस् । हामीले भनेको कुरामा शंका लाग्न सक्छ, अर्को अर्को साक्षात्कारमा तिमीहरुले भनेको कुरा सत्य रहेछ भन्ने स्थिति आउँछ ।’
तर केही समय लाग्न सक्ने पनि उनले बताए । ‘यो लडाइँ तितो बन्न सक्छ, केही समय लिन सक्छ । केही अप्ठ्यारोबाट गुज्रन सक्छ’ पाण्डेले भने, ‘तर निष्कर्षमा पुग्छ । हामी पार्टीका विधि, स्थापित मान्यता र परम्पराभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्याउन चाहन्छौं ।’
एमालेभित्र भइरहेको सार्थक बहस मन नपराउनेहरूले विभाजनको भ्रम फैलाएको पनि उनले बताए । ‘एकथरीले यो बहसलाई सार्थक नबनाउन यो त (विद्या भण्डारीको एजेण्डा) विभाजनलाई हो भने नकारात्मक टिप्पणी गरिरहेका छन्’, पाण्डले भने, ‘सार्थक बहसले पार्टी विभाजन हुँदैन । सार्थक बहसलाई दमन गरियो भने मात्रै नतिजा नकारात्मक आउछ ।’
विद्या भण्डारी सक्रिय राजनीतिमा आउने कुरा पार्टी विभाजनसँग नजोडिने पनि उनले बताए । ‘विद्याजीको कुरा गर्नुस्, चाहे हामी कसैको, यो पार्टी विभाजन गर्न खोजेको भन्ने तर्कमा एक रत्तिभर पनि दम छैन । हामीले बनाएको पार्टी विभाजन गरेर हिड्छौं ? त्यो किमार्थ हुँदैन’, पाण्डेले भने ।
प्रतिक्रिया 4