
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक दिनेश राउतले आगामी रोमान्टिक फिल्म 'कुमारी'को छायांकन पाटनको बंगलामुखी मन्दिरमा मंगलबारदेखि सुरु गरेका छन्।
- फिल्ममा आकृति राजभण्डारी र अभिषेक खड्काले मुख्य भूमिका निभाउनेछन् र छायांकन ३५ दिनमा सकिने अपेक्षा गरिएको छ।
- बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण हुने 'कुमारी'को पटकथा विकास सुवेदीले लेखेका हुन्।
ललितपुर । निर्देशक दिनेश राउतले आगामी रोमान्टिक फिचर ‘कुमारी’को छायांकन मंगलबारदेखि थालेका छन् ।
पाटनको बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन थालिएको हो, जहाँ निर्माता, प्राविधिक र कलाकार सहभागी थिए ।
छायाङ्कन ३५ दिनमा सकिने अपेक्षा छ । यो फिल्मको शीर्ष भूमिकामा आकृति राजभण्डारी र अभिषेक खड्का छन् ।
आकृतिले यसअघि ‘जलाकी’बाट फिल्ममा डेब्यू गरिसकेकी छन् । त्यसअघि उनको प्रसिद्धी भने सुशान्त केसीको ग्लोबल हिट म्युजिक भिडियो ‘बार्दली’बाट भयो । ‘कुमारी’ आकृतिको दोस्रो फिल्म हो ।
खड्काले भने यो फिल्मबाट फिल्ममा डेब्यू गर्न लागेका हुन् । यी दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मा, र भूपी लुहारजस्ता कलाकारको पनि अभिनय रहनेछ ।
बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । पटकथा विकास सुवेदीले लेखेका हुन् ।
राउतले ‘आइएम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’जस्ता सफल प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेपछि सामाजिक विषयमा केन्द्रित ’पर्व’, ’महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ’पुजार सार्की’ जस्ता फिल्म निर्देशन गरेका थिए ।
उनको पछिल्लो लभस्टोरी फिल्म ‘क्लासिक’ थियो । त्यसपछि उनी ‘कुमारी’ मार्फत फेरि प्रेमकथाको संसारमा फर्केका हुन् ।
सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने फिल्मको कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत छन् ।
प्रतिक्रिया 4