+
+
Shares

सामाजिक सञ्जाल बन्दले तत्काल पर्ने मुख्य ४ असर

सरकारले सूचीकरणमा नआएको भन्दै सामाजिक सञ्जाल बन्द गराएको छ । यसले ठूलो सम्पर्कको माध्यम टुट्ने अवस्था सिर्जना भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सूचीकरणमा नआएको भन्दै फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालका प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको छ।
  • साइबर सुरक्षा विज्ञ डा. राजीव सुब्बाले सामाजिक सञ्जाल बन्द हुँदा नि:शुल्क भीपीएन प्रयोगले साइबर जोखिम बढ्ने बताएका छन्।
  • समाजशास्त्री डा. मीना पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक र परिवारबीचको भावनात्मक सम्बन्धमा सामाजिक सञ्जाल बन्दले असर पर्ने बताएकी छिन्।

१९ भदौं, काठमाडौं । सरकारले सूचीकरणमा नआएको भन्दै फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालका प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको छ । गत साता सरकारले सात दिनको समय तोकेर दर्ताको आह्वान गरेको थियो । तर उक्त समयमा दर्ता नभएपछि सञ्चार मन्त्रालयले सूचीकरणमा नभएका सञ्जालहरु बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले प्ल्याटफर्मले ७ दिनभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी समेत तोक्नुपर्नेछ भनेको थियो । त्यो नभएपछि बन्द भएको हो ।
हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।

आम मानिसको जीवन शैली बनिसकेको समाजिक सञ्जाल बन्दबाट धेरै असर पर्न सक्छ ।

केही दिन अघि सामाजिक सञ्जाल बन्द भए त्यसको के के असर पर्छ भन्नेमा विज्ञहरुको मत सहितको सामग्री सम्प्रेसण गरेको छ । त्यसक्रममा विज्ञहरुले सामाजिक सञ्जाल बन्दका मुख्य असरहरुबारे बताएका थिए । उनीहरुका विचारका आधारमा सामाजिक सञ्जाल बन्दले तल्काल यी चार असर पर्नसक्छन् ।

१. साइबर जोखिम

साइबर सुरक्षा विज्ञ डा. राजीव सुब्बाले सामाजिक सञ्जाल बन्द भए साइबर सुरक्षा जोखिम बढ्ने बताएका थिए । कारण, केही कुरा बन्द हुँदा विकल्प खोज्ने मानवीय स्वभाव नै हो । त्यसमा पनि भीपीएनको प्रयोग झन् बढेर जान्छ । त्यसैले हाम्रोजस्तो साइबर चेतनास्तर कम भएको मुलुकमा नागरिकले विकल्प खोज्दा साइबर सुरक्षाको जोखिम झन् बढ्नसक्ने उनको भनाइ थियो ।

सुब्बाकाअनुसार टिकटक बन्द हुँदा धेरैले नि:शुल्क भन्दै विभिन्न खाले भीपीएन प्रयोग गरे, जुन नियमन नभएका र असुरक्षित हुन्छन् । उनकाअनुसार नि:शुल्क भीपीएनहरूले प्रयोगकर्ताको स्क्रिनशट, कीबोर्ड डेटा, र पासवर्ड संकलन गर्न सक्छन्, जसले बैंकिङ ठगी र साइबर अपराधलाई बढावा दिन्छ ।

यस्ता भीपीएनहरू ‘नन–एट्रिब्युटेबल’ हुने भएकाले अपराधीलाई कारबाही गर्न कठिन हुन्छ । टिकटक बन्द हुँदा भीपीएनमार्फत धेरै साइबर अपराधका घटना भएका उदाहरण छन् । सुब्बाका अनुसार नागरिकले विकल्प खोज्दा झन् साइबर जोखिमको सिकार हुने सम्भावना हुन्छ । अपराधीले पनि यस्ता मौका कुरेर बसिरहेका हुन्छन् ।’

२. सामाजिक सम्बन्ध र सम्पर्कमा असर

अधिकांश नेपाली परिवारका युवा बाहिर छन् । तिनै आप्रवासीले देशको अर्थतन्त्र धानिरहेको अवस्था छ । र, उनीहरुको नेपाल वा घरसँगको सम्बन्धको लागि सबैभन्दा महत्वपूर्ण हिस्सा बनिसकेको छ सामाजिक सञ्जाल । यी बन्द हुँदा त्यो क्षेत्रमा विशेष असर गर्नसक्ने समाजशास्त्री डा. मीना पौडेलले बताएकी थिइन् ।

उनका अनुसार वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक र उनीहरूका परिवारको सामाजिक–भावनात्मक सम्बन्धमा ठूलो असर पर्न सक्छ । उनकाअनुसार सञ्जालले विदेशमा रहेका श्रमिकलाई परिवार, समाज र संस्कृतिसँग जोडिराखेको छ । प्लेटफर्म बन्द भएमा श्रमिक र परिवार बीचको भावनात्मक सम्बन्ध टुट्छ, जसले नैराश्यता, एक्लोपन र मनोवैज्ञानिक दबाब बढाउँछ ।

३. व्यवसाय र स्टार्टअपमा धक्का

अहिले ठूलो समूह समाजिक सञ्जालबाट व्यवासय गर्ने गर्छन् । त्यसैले यसले नेपालको अनौपचारिक अर्थतन्त्र प्रभावित हुनसक्छ । सामाजिक सञ्जाल हाम्रो मार्केटिङको सबैभन्दा ठूलो प्लाटफर्म बनिसकेको छ । यकिन तथ्याङ्क नरहेपनि ग्राहकदेखि बिक्रेतासम्म सामाजिक सञ्जालमा भर पर्न थालेका छन् । सामान किन्दा वा चाहिएको कुरा खोज्दा धेरैजसो सामाजिक सञ्जालमै भर पर्ने गरेका छन् । त्यसैले यो बन्दा हुँदा मार्केटिङ सबैभन्दा ठूलो च्यानल गुम्छ ।

पछिल्लो समय युवाहरुले कम लागतमा स्टार्टअप गर्ने सबैभन्दा ठूलो आधार सामाजिक सञ्जाल नै बनेको छ । यसबाट कन्टेन्ट मार्केटिङ गरेर व्यवसायमा हात हाल्न सहज भएको छ । नेपालमा सामाजिक सञ्जाल बन्द हुँदा यो तप्का प्रभावित हुन्छ।

त्यस्तै, यदि फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्म बन्द भए नेपाली स्टार्टअप र अनौपचारिक अर्थतन्त्रमा ठूलो असर पर्ने व्यसायीहरुको धारणा छ ।

सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्दा अनौपचारिक अर्थतन्त्रमा ठूलो धक्का पुग्ने अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीको धारणा छ । सामाजिक सञ्जाल साना/ठूला व्यवसायी र स्टार्टअपका लागि मार्केटिङको प्रमुख आधार बनेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको २०१८ को आर्थिक गणनाले नेपालमा ९ लाख २३ हजार व्यवसाय रहेको देखाउँछ, जसमध्ये ४९ प्रतिशत दर्ता नभएका अनौपचारिक छन् । यस्ता व्यवसायले सामाजिक सञ्जालमार्फत बजार विस्तार, विज्ञापन र आयआर्जन गरिरहेका छन् । त्यस्तै, आईएफसी (इन्टरनेशनल फाइनान्स कर्पोरेसन) को एक अध्ययनले पनि अनौपचारिक क्षेत्रले अर्थतन्त्रको ३८ प्रतिशत योगदान दिएको देखाएको थियो ।

४. अभिव्यक्ति स्वतन्त्रतामा संकुचन

सञ्जाल बन्द हुँदा यसले अभिव्यक्ति स्वतन्त्रतामा पनि संकुचन ल्याउँछ । सेन्टर फर मिडिया रिसर्चका निर्देशक समेत रहेका मिडिया अनुसन्धानकर्ता उज्ज्वल आचार्यका अनुसार सामाजिक सञ्जाल बन्दा भए अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सम्पर्कमा क्षति पुग्छ ।

सामाजिक सञ्जाल नेपालीहरूका लागि सञ्चार, अभिव्यक्ति र व्यापारिक गतिविधिको प्रमुख माध्यम बनेको छ । त्यसैले विकल्प विना बन्द हुँदा यसले अभिव्यक्ति खुम्च्याउँछ । व्यक्तिहरुको लागि अहिले सामाजिक सञ्जाल सञ्चारको ठूलो आधार बनेको छ । यो हुँदा अभिव्यक्ति स्वतन्त्रतासँगै सञ्चार पनि खुम्चिन्छ । कुनै पनि अनियमिततादेखि अरू कुरा विरुद्ध आवाज उठाउन पनि यसले सहयोग पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?