News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी युवाहरूको स्वत:स्फूर्त विद्रोहले नेपालमा पुराना राजनीतिक दलहरूको सत्ता गुम्न पुग्यो र अन्तरिम सरकार गठन भएको छ।
- विद्रोहपछि भएको विध्वंसमा विभिन्न समूह मिसिए जसले विद्रोहको शुद्धता प्रभावित गर्यो।
- अबको प्राथमिकता शान्ति कायम राखेर चुनावमा जानु र भ्रष्टाचार छानबिनका लागि आयोग गठन गर्नु हो ।
जेनजी युवाहरूको विद्रोहका कारण नेपालमा पुराना राजनीतिक दलहरूको सत्ता गुमेको छ। नेतातन्त्रमा जकडिएका दलहरू आन्दोलनबाट बढारिए पनि अझै होशमा आएका छैनन्। नेतृत्वको दम्भ हटेको छैन।
चाकडीमा रमाउने जमात युवाहरूको बलिदानीलाई नै नजरअन्दाज गर्दै अहिलेको परिवर्तनलाई नै अवैधानिक करार गर्न उद्यत छ। अन्तरिम सरकार बनेको, चुनाव घोषणा भएको छ। तर राजनीतिक वातावरण कसरी अघि बढ्ने हो निश्चित छैन। यसै सन्दर्भमा लेखक/विश्लेषक विष्णु सापकोटासँग अनलाइनखबरकर्मी दुर्गा खनालले गरेको संवाद :
जेनजी युवाहरू जागेपछि नेपालमा सत्तापलट भएको छ। यो प्रदर्शन थियो कि, आन्दोलन थियो कि, विद्रोह वा जनआन्दोलन थियो ? यो घटनालाई कुन शब्द प्रयोग गर्ने ?
यसलाई कसरी अर्थ्याउने भन्ने हो। भदौ २३ गते जेनजी युवाहरूको स्वत:स्फूर्त प्रदर्शन हो। यद्यपि त्यसमा सहभागिता बृहत् समाजकै थियो। नेपालमा जे भइराखेको छ त्यो ठीक छैन फेर्नुपर्छ भनेर सुरु भएको एउटा विरोध प्रदर्शन थियो। त्यो बढ्दै गएर पछि जुन रुप लियो त्यसपछि चाहिं यसलाई म विद्रोह नै भन्छु। विद्रोह नै सबैभन्दा नजिकको शब्द हुन्छ।
अघिल्लो दिनको प्रदर्शन विद्रोहको रुपमा पुग्यो । भोलिपल्ट त्यसको प्रतिक्रियामा केही हुने त अपेक्षा नै थियो। जुन विध्वंस र हिंसामा परिणत भयो। यी दुई दिनलाई सँगै जोडेर हेर्नुपर्छ।
धेरैको मनमा विद्रोह भयो भन्ने छ। तर जुन विध्वंस भयो त्यसले एकप्रकारको ‘स्तब्धता’ को अवस्था पनि छ। इतिहासका यस्ता कतिपय विद्रोह, आन्दोलन अथवा प्रदर्शनहरूको नाम भविष्यमा यसले कुन कोर्समा समाज र देश जान्छ भन्ने कुराले पनि परिभाषित र पुनर्परिभाषित हुँदै जान्छ।
अघिल्लो दिन भ्रष्टाचार, सामाजिक अवस्था र सामाजिक सञ्जाल बन्द विरुद्धमा युवाहरूको आन्दोलन उठेको थियो।
पहिलो दिनमै १९ जनाको सहादत भयो। स्वाभाविक रुपमा भोलिपल्ट त्यसको आक्रोश आउने नै थियो। यो अवस्थालाई मौका छोप्न कुनै शक्ति आएको थियो ? यस्तो शक्तिले विध्वंस मच्चायो भन्ने विश्लेषण पनि भइरहेको छ नि !
भोलिपल्ट ठ्याक्कै के भएको थियो भनेर ‘ब्ल्याक एण्ड ह्वाइटमा’ भन्न सक्ने कोही पनि छैन। के भएको थियो भनेर राज्यका निकायहरू पनि बुझ्ने क्रममै होलान्। विभिन्न विश्लेषण अथवा बुझाइहरू त आइनै राखेका छन्। अघिल्लो दिन जसरी गोली चलाएर १९ जनाको हत्या भयो, त्यसले स्वाभाविक रूपमा भोलिपल्ट एकदमै ठूलो त्यसको प्रतिक्रिया हुनेवाला छ भन्ने चाहिं देखिएको थियो।
तर त्यो प्रतिक्रियाका लागि आउनेमा अघिल्लो दिनका जेनजी मात्र नभई धेरै थिए। जब स्थिति हिंसा र विध्वंसमा गयो त्यो बेला विभिन्न समूह देखा परे। एउटा समूह राजनीतिक दलका नेताहरूको घर निशाना लगाउन थाल्यो। अर्को खालका समूह र तत्वहरू अरुतिर लागे। विद्रोहको शुद्धता र पवित्रतामा त्यसले केही प्रभाव पार्यो।
एकदमै पवित्र रूपमा भएको विद्रोहलाई प्रयोग गर्न सकिन्छ भनेर निक्लिने कतिपय समूह त को हुन् भनेर थाहा पनि भइसकेको छ। बाँकी थाहा हुँदै जाला। राजनीतिक दलहरूको सिन्डिकेट र व्यापक भ्रष्टाचार, बेरोजगारी तथा अर्थतन्त्रले लय समात्न नसकेको अवस्थामा सामाजिक सञ्जाल बन्द गर्नु त विद्रोहको तत्कालको कारण मात्र थियो।
विरोधमा आएको स्वत:स्फूर्त जुन समूह थियो त्यो पूर्ण पवित्र र वैध थियो। त्यसपछि भोलिपल्टको घटनामा समय पर्खेर बसेका, ध्वंस गर्ने सोच भएकाहरू पनि मिसिए।

समाजमा यो तहको आक्रोश र मनस्थिति भइसक्दा पनि हाम्रो राज्यसंयन्त्र सूचनाविहीन थियो कि सरकारका नेतृत्वकर्ताको अहंकारले यो स्थिति आयो ?
अहंकारको परिणाम त हो नै। जे कुराको विरोधमा अघिल्लो दिनको प्रदर्शन आयोजना गरिएको थियो त्यसको सूचना समेत थाहा नपाउनु राजनीतिक नेतृत्व निकम्मा छ, काबिल छैन भन्ने कुराको पराकाष्ठा थियो। आन्दोलन नै हुँदैछ भन्ने सूचना नै नलिए जस्तो गरेर गैरजिम्मेवार बने।
राज्य संयन्त्रै सूचनाविहीन थियो कि थाहा पाएर पनि यसलाई नजरअन्दाज गरेर बसिरहेको थियो ?
उनीहरूले जसरी वर्षौंदेखि हेप्दै आएका थिए, त्यसैगरी अहिले पनि हेपेका थिए। यो केही पनि होइन भनेका थिए। मान्छेमा दम्भ, अहंकार वर्षौंसम्म रह्यो भने उसलाई आफू अहंकारी भएको थाहै हुँदैन।
उनीहरूलाई सामान्य जस्तो लागिररहेको थियो। संवेदनशील हुने क्षमता नै गुमाइसकेका थिए। त्यसले गर्दा त्यो समयको चेत नै थिएन। समय कहाँ पुगेको छ ? बाहिर समयले के भनिराखेको छ ? के हुँदैछ भन्ने उनीहरूसँग बुझ्ने क्षमता र संवेदनशीलता नै रहेन ।
अब अन्तरिम सरकार गठन भएको छ। मुख्य काम चुनाव भनिएको छ। यो परिस्थितिलाई कसरी सँगालेर लैजानुपर्ला ?
अहिलेको स्थितिमा जे भएको छ यसलाई कसरी बुझ्ने भन्नेमा एउटा ठूलो समूह छ। समाज स्तब्ध पनि छ। पुराना दलहरू बढारिनै पर्ने थियो । अब त बढारिए कि भनेर खुसी हुने र नयाँ सुरुवातको लागि एउटा स्पेस बन्यो भन्ने एकातिर छ।
अब सबैले ध्यान दिनुपर्ने कुरा के छ भने यो एकदमै भावुक हुने समय पनि हो। कतिलाई चोट परेको छ, कतिलाई बदलाको भावना छ। अति खालका कुराकानी पनि आइरहेका छन्। यस्ता अति खालका बयानबाजी बढ्दै गए भने झन् आन्दोलित हुने अवस्था छ।
त्यसले गर्दा अहिले पहिलो ध्यान यो स्थितिलाई शान्त बनाउनतर्फ दिनुपर्छ। स्तब्ध मोडबाट शान्त हुन केही दिन त यसै लाग्ला। यो समयमा हिंसात्मक र बदलावका शब्द प्रयोग गर्नुहुँदैन। राजनीतिक दलको नेतृत्वहरूले पनि आफ्ना कार्यकर्ता र समर्थकलाई त्यस्तो भाषा प्रयोग नगर्न र शान्त रूपमा प्रस्तुत हुन भन्नुपर्छ।
कतिपय देशहरूमा ‘कु’ भएर शासन सत्ता परिवर्तन हुनलाई एक घण्टा पनि लाग्दैन। तर नेपालमा ‘कु’ नभई विद्रोह मार्फत यति छिटो सत्ता परिवर्तन र अन्तरिम सरकार गठन भएको छ। विद्रोहपछि चाँडो अन्तरिम सरकार बनेको पनि एकदमै नौलो हो।
अबको लक्ष्य चुनावको छ। पुराना दलहरू जो सत्तामा थिए अथवा सत्तामा आउन पर्खेका थिए तिनले संविधान विपरीत भयो भनेर एउटा रेकर्डको लागि भन्ने कुरा ठीकै हो। तर अब उनीहरूको शक्ति त सडकले फेरिसक्यो। उनीहरूले यो कुरा स्वीकार्नुपर्छ। राजनीति अर्को ठाउँमा आइसक्यो, समय फेरियो।
आन्दोलनले एउटा नयाँ वैधता दिइसक्यो। यसलाई कानुनी र संवैधानिक रूपमा हेर्नुहुँदैन। सर्वोच्च अदालतले पनि त्यहाँ केस गयो भने त्यसरी हेर्दैन। किनभने राजनीति फेरिइसक्यो, राजनीतिलाई मान्यता दिनुपर्यो।
अब नेपालका राजनीतिक दलहरूको शीर्ष भनिएको नेतृत्वको जुन तप्का थियो, तिनीहरूको युग सकियो। त्यसलाई नस्वीकार्ने र दोस्रो, तेस्रो तहकाले फेरि पुरानालाई पुन:स्थापित गर्न खोजे भने तिनले समय नचिनेको हुनेछ। तिनीहरू पनि बढारिनका लागि योग्य हुन्छन्।
दलहरूका अभिव्यक्ति हेर्दा सच्चिने कुनै सम्भावना देख्नुभएको छ ?
देखेको छैन। योभन्दा अलि अनौठो लाग्ला। अब पनि दलहरू सच्चिएनन् भने नयाँ आउछन् नि! यिनै दलहरू नै रहनुपर्छ भन्ने के छ र ? निर्मम हिसाबबाट पुनर्संरचना गरेर आएनन् भने ती दलहरू जान्छन्।
फेरि उठेर आउँछौं भनेका छन्। उठ्ने, आउने हक सबैलाई छ। लोकतन्त्र छ। नागरिक अधिकार छन्। दल खोल्ने अधिकार छ। तर जुन विद्रोह भयो त्यसलाई गलत बुझ्नुभएको छ। बुझ्ने क्षमता राख्नु पनि भएको छैन।
यो कुनै ‘कु’ भएको होइन। ‘कु’ भएको भए पो सडकमा आएर हामी जाग्छौं, उठ्छौं भन्नु ठीक छ। भवनहरू जलेका छन् त्यसलाई बनाउनको लागि आउँछु भन्न पाइयो। उहाँहरूले फिनिक्स चराको एउटा बिम्ब धेरै प्रयोग गर्नुभएको छ। त्यो मिथ पनि उहाँहरूले अलि राम्रोसँग पढे हुन्थ्यो। त्यो फिनिक्स चराले आफू जल्ने तयारी आफैंले गरेको हुन्छ।
अनि ऊ फर्कंदाखेरि पूरै नयाँ र यौवन साथ फ्रेस सुन्दर भएर फर्केको हुन्छ। कुरुप र जीर्ण शरीर बोकेर त्यो चरा फर्केको हुँदैन। फिनिक्स चराको बिम्ब प्रयोग गर्ने हो भने नयाँ भएर आउने हो, सुन्दर भएर आउने हो। अझै पनि पुरानो जे छ त्यहीबाट फर्केर आउने प्रयास गर्नुभयो भने उहाँहरू बढारिनुहुन्छ।
जहिले पनि देश चलाउने चल्ने संविधान अन्तर्गत हो। तर राजनीतिक आन्दोलनहरू भनेका संविधान अन्तर्गत मात्र होइनन् अथवा त्यसलाई फेर्ने नै आन्दोलनहरूले हो। अहिले संविधान त इन्ट्याक्ट छ। सरकार बनेको छ।
सुशीला कार्कीको इमानदारिता छ। त्यसका कारण अबको फोकस भनेको समाजलाई ‘स्तब्ध’ अवस्थाबाट बाहिर ल्याउने, छलफल गर्ने र चुनाव गर्ने हो। सरकारको मूल काम चुनाव हो।

सरकार र राष्ट्रपति संस्थाको काम राजनीतिक दलहरूलाई साथमा लिएर शान्तिपूर्ण चुनाव गराउने हो। चुनावको माहोलका लागि सहजीकरण गर्ने हो। कसैले यतिबेला संविधानका कुरा गर्छ भने त्यो आफू बढारिन्छु भन्ने डरले खोचे थापेको भनेर बुझिनेवाला छ।
यदि कसैले इलेक्सन कहाँ हुन्छ ? संसद् पुनर्स्थापना गर्नुपर्छ भन्यो भने त्यो नयाँ चुनावमा जान डराएको हुनेछ। यदि कसैले पहिला संसद् पुनर्स्थापना भएको थियो भन्ने नजिरको कुरा गर्छ भने त्यो राजनीतिक रूपमा अबुझ हो।
त्यतिखेर कु भएको थियो। त्यो बेला प्रजातन्त्र फर्काउनको लागि संसद् फर्काउनु परेको हो। अहिले प्रजातन्त्र, लोकतन्त्र कहीं गएको छैन। पहिलाको नजिर मिल्दै मिल्दैन। त्यसैले अब चुनावमा जानुको विकल्प छैन। संसद् विघटन भएको आन्दोलनका कारण हो। त्यसैले त्यसमा संविधान हेर्ने होइन।
अहिले आन्दोलन र भ्रष्टाचार छानबिनका लागि छुट्टाछुट्टै आयोग बनाउने कुरा छ। यसका कारण चुनाव नै नहुने त हुँदैन ? दलका नेताहरूलाई आयोगमा बयान लिन थालेर यता चुनाव गराउन सम्भव हुन्छ ?
यो एकदमै जटिल कुरा हो। मसँग केही विचार छन् तर ठ्याक्कै यो गर्दा ठिक होला भन्ने छैन। जुन विध्वंस भयो त्यसको अनुसन्धानका लागि न्यायिक आयोग चाँडै बनिहाल्नुपर्छ। त्यो सबैको हितमा छ।
किनभने समाजको एकताका लागि पनि यो चाहिन्छ। जे गरे पनि हुन्छ र त्यसको कहिल्यै पनि छानबिन हुँदैन भन्ने अवस्था रहनुहुन्न। त्यसैले छानबिन र कारबाही हुनुपर्छ।
भ्रष्टाचार नियन्त्रण आयोग बनाउनु पनि जरुरी छ। जेनजीको प्रदर्शन मुख्यत: भ्रष्टाचारबारे थियो।
सरकार ६ महिनाका लागि मात्र भएकाले लामो र ठूलो महत्वाकांक्षा राखेर यसो गर्छौं, त्यसो गर्छौं भन्ने उसँग ठाउँ छैन। तर भ्रष्टाचार विरुद्धको जुन आवाज थियो त्यसको लागि एउटा आयोग बनाएर शुरु गर्नुपर्छ।
आन्दोलनको भावनालाई प्रतिनिधित्व गर्ने व्यक्ति र नागरिक समाजका र अरू वैधानिकता भएका व्यक्तिहरू समेतको सल्लाहमा बन्नुपर्छ, शुरु हुनुपर्छ। तर त्यसको समय चाहिं ख्याल गर्नुपर्छ।
पार्टीहरूभित्र अहिले पुनर्गठनको बहस चलिरहेको छ। पुरानै नेताको अनुहार लिएर उनीहरू चुनावमा जाने अवस्थामा छैनन्। त्यसैले पार्टी पुनर्गठनको कुराले चुनाव प्रभावित गर्ने हो कि ?
प्रभाव त पार्छ। पार्टीहरू अझै आफूहरू बिग्रेको भनेर स्वीकार्न तयार छैनन्। उनीहरूलाई हाम्रो विरुद्ध षड्यन्त्र भएको हो भन्ने लाग्छ। हामीलाई हटाउनलाई हो भन्ठान्छन्। हाम्रो नेतृत्वलाई छानेर यस्तो गरियो भनेर जाने होलान्। हामी कति पथभ्रष्ट भयौं भन्ने बुझ्न सकेका छैनन्। पथभ्रष्ट भएकाले आफू पथभ्रष्ट भाको थाहा पाउँदैन।
दुनियाँले भ्रष्ट ठान्छ। ऊ आफू एकदमै नैतिक मान्छ। यी दलहरूमा त्यही कुरा लागु हुन्छ। त्यसले गर्दा दलहरूमा अब जसको अझै पनि वैधता र स्वीकार्यता छ, जसमा केही नयाँ भिजन छ उनीहरूले त्यो पुरानोलाई आउन नसक्ने गराए भने ठीक छ।
पुराना दलहरूका ७७ जिल्ला मात्र होइन गाउँपालिका तहसम्म नै केही न केही मान्छे छन्। कतिपय जीविकाको लागि जोडिएका मान्छे पनि छन्। कुनै आदर्शको लागि जोडिएका छन्।
दुई चार जनालाई नमस्कार गर्ने, लाल सलाम, जय नेपाल खाने कुराहरूसँग जोडिएको छ। त्यसले गर्दा फेरिनुपर्छ भन्न जति सजिलो छ यिनीहरू चेत्लान् भन्ने सम्भव छैन। फेरिएनन् भने नयाँ आउँछन्।
बदलिएनन् भने फेरि विरोध हुन्छ। समाजमा एउटा उम्लिने विन्दु त हुँदोरहेछ नि! अस्तिको प्रदर्शन त्यही न हो। यदि पार्टीभित्र आन्तरिक लोकतन्त्र हुन्थ्यो भने एउटै नेताको अनुहार देखिन्थ्यो।
२०/३० वर्ष एउटै नेतृत्व देखिंदा राम्रो काम गरे पनि पत्याइँदैन। राम्रो गर्छु भने पनि पत्याइँदैन। अनुहार देख्दै रिस उठ्छ। अब दलहरू यो आत्मसात् गरेर अघि बढ्लान् भन्ने मलाई चाहिं लाग्दैन।

तपाईंले विभिन्न देशमा गएर काम गर्नुभयो। यस्तो खालका विद्रोह भएर कति ठाउँमा चुनाव नै हुनसकेका छैनन्। बंगलादेशमा पनि अन्तरिम सरकारले चुनाव गर्न सकेको छैन। हाम्रोमा पनि चुनाव भएन भने के हुन्छ ?
बाङ्लादेशको र यहाँको केही फरक छ। त्यहाँ संगठित विद्यार्थीको आन्दोलन थियो। नेपालीहरूको स्वत:स्फूर्त खालको थियो। फेरिनुपर्छ भन्ने थियो तर कसरी फेरिने भन्ने हाम्रोमा स्पष्ट कुरा केही थिएन।
कसरी फेर्ने भनेर कुनै संगठित शक्ति समूह थिएन। अब के-के फेरिनुपर्छ भन्ने आइसकेको छ। नेपालको यो विद्रोहको शैलीले कतिपय अन्य मुलुकहरूलाई पनि प्रेरित गरेको छ। बाङ्लादेश र श्रीलंका भन्नेहरूले अब नेपाललाई पनि उदाहरण दिन थालेका छन्।
नेपालमा नयाँ संविधान ठूलो संघर्ष र सशस्त्र द्वन्द्वलाई व्यवस्थापन गर्ने साधन पनि हो। हामीले त्यसरी हेर्नुपर्छ। नयाँ संविधान भनेको नेपालमा मधेश विद्रोह, जनजाति आन्दोलन, थारू आन्दोलन लगायत धेरै आन्दोलनका मागहरूलाई म्यानेज गर्न पनि आएको हो। त्यसैले खेलाँची गरेर संविधान यताउता भयो भने नेपाल लामो र एकदमै अनिश्चिततामा जान्छ। त्यसैले संविधान बचाउनु सबै पक्षको हितमा छ।
राजावादीहरू राजतन्त्र ल्याउन पाए हुन्थ्यो अथवा मौका बल्ल आएको हो कि भनेर बसेका पनि होलान्। तर संविधानमा कुनै षड्यन्त्र भयो भने ठूलो विरोध हुन्छ। त्यसैले राजतन्त्रवालाले खासै केही नदेखे हुन्छ।
संक्रमणलाई व्यवस्थापन गर्ने साधन नै संविधान हो। त्यसैले अहिले मधेशवादी दल अथवा जनजातिको मुद्दा बोक्नेहरू सबैले मुद्दा उठाउने बेला यो होइन। यो बेलामा अन्तरिम सरकार छ। चुनावमा लाग्ने हो।
अहिले संविधान जति चलाइयो, त्यति चलाउनै पर्ने भएर चलेको हो। थप चलाउनुपरे चुनावछि बन्ने संसद्लाई अधिकार हुन्छ।
नेपालका कुनै पनि घटनाक्रमहरूमा विदेशी शक्तिहरूको षड्यन्त्रको आशंका गरिन्छ तपाईंले यी घटनाक्रमहरूमा चाहिं कतै विदेशी प्रभाव देख्नुभएको छ ?
अहिलेको विरोधमा केही विदेशी षड्यन्त्र देख्दिनँ। यद्यपि नेपालमा एउटा यस्तो खालको स्कुलिङ र मानसिकता बोकेका मान्छे छन्, ओ आफू जन्मनुमा पनि कतै विदेशी षड्यन्त्र थियो कि भन्ने सोच्छन्।
अहिले तरल स्थिति छ। अब यी पार्टीहरू नै गुहार्न जान्छन्। विदेशी शक्ति भन्छन्। यिनीहरूले नै खतरा निम्त्याउन सक्छन्। भूराजनीतिक त जुन मुलुकको पनि हुन्छ। तर नेपालमा चाहिने भन्दा बढी यो कुराको हाइप हुन्छ।
हरेक कुरालाई षड्यन्त्र भन्नुहुँदैन। विदेशी भन्ने बित्तिकै एकदम ‘इभिल’ हुन्छन् नेपाललाई सक्काउँछन् नै भन्ने पनि हुँदैन। यहाँ कमजोर भएको खण्डमा मात्र उनीहरू आउने हो। आफ्नो स्वार्थअनुसार आफ्ना अनुकूलका शक्तिहरू आइदिउन् भनेर त कोसिस गरिहाल्छन्। चनाखो चाहिं हुनुपर्छ।

अहिलेको घटनामा संवैधानिक राष्ट्रपति र नेपाली सेना समेत राजनीतिक स्थिति सम्हाल्न अग्रभागमा आउनुपर्यो। अब यी दुई संस्थालाई थप क्षयीकरण गर्ने सम्भावना र कोसिस हुने हुन् कि ?
त्यस्तो कोसिस गर्ने तत्व हुनसक्छन्। यसमा नेपाली सेना र राष्ट्रपति संस्था सचेत छन् र सचेत हुनुपर्छ। यी दुई संस्थाले अहिले जुन भूमिका खेल्नु पर्यो परम्परागत रुपमा त्यो अपेक्षित भूमिका होइन। तर परिस्थिति यस्तो थियो कि, त्यो बेलामा चाहिं स्वाभाविक नै देखियो।
देश जलिराखेको थियो, रोक्ने कोही नभएको बेला नेपाली सेनाको खोजी भयो। पछि राष्ट्रपतिबाट पहल भयो। त्यो सहजीकरणलाई सहजै मान्नुपर्छ। अब दुवै संस्थाले आफ्नो संवेदनशीलता बुझ्छन्। एक्टिभ हुँदैनन्। यदि भए र लोकतन्त्रमा सम्झौता हुने अवस्था आयो भने नेपाली समाजले मान्दैन।
कुनै पनि खालको अर्को तन्त्रको कोसिस भयो भने पनि त्यो टिक्दैन। जनता फेरि सडकमा आइहाल्छन्। नेपाली समाजको एउटा स्थापित र पोजेटिभ स्ट्रेन्थ भनेको यो हो।
अस्थिरतामा चुनाव हुन नदिने र चुनाव नभएको फाइदा उठाउँदै चाहिं त्यस्ता संस्थाहरूलाई सक्रिय गराएर आफ्नो स्वार्थपूर्ति गर्ने शक्तिहरूको इन्फ्लुएन्स तपाईंले कतिको देख्नुभयो ?
कोसिस चाहिं गरिराराख्छन्। यो विद्रोहभन्दा अगाडि पनि फलानो संस्था आइदियो भने आफूले केही गरिखान पाइन्थ्यो कि ? आफ्नो जीविकोपार्जन हुन्थ्यो कि भन्ने सोच्थे। त्यस्ता तत्वहरूले अहिले पनि अवसर आयो भन्ने सोचेका होलान्।
पुरानो असफल भइसकेको पंक्तिलाई बढार्नको लागि पनि अस्तिको म्यान्डेट हो। अब भ्रष्टाचारविरुद्ध मज्जाले डटेर देखिने परिणाम ल्याउने गरी काम गर्ने हो। अब नयाँ समय आइसक्यो। पुरानोले चल्नेवाला छैन। युवाहरूले बोल्ने भाषा नै बदलिइसक्यो। अहिले संसारकहाँ पुगेको छ तर हाम्रा ती पुराना नेताहरूले गर्ने कुरा बुझिंदैनथ्यो।
अहिले पनि समाजवाद भन्छन्। त्यसको केही अर्थ छैन। कम्युनिष्टले पनि समाजवाद, कांग्रेसले पनि समाजवाद भनेको अहिलेका युवा पुस्ता जेनजीलाई केही पनि अर्थै लाग्दैन। बीपीले भन्नुहुन्थ्यो, मार्क्सले भन्नुहुन्थ्यो भन्ने कुराको अब अर्थ रहेन। योबाट समयको सिफ्ट भइसकेको छ। टाइम अर्कै ठाउँ पुगिसकेको थियो। हाम्रो राजनीतिक नेतृत्व पुरानो ठाउँमै थियो।
समाजको भाषा फेरिइसकेको थियो। दलहरूको भाषा ७० वर्ष पुरानो थियो। त्यसमा अब ठूलो परिवर्तन भएको छ। समयलाई चिन्नेहरू अब सान्दर्भिक हुन्छन्। नहुनेहरू असान्दर्भिक होलान्।
आन्दोलनको यो उपलब्धिपछि अब जेनजी युवा, दल, सरकार र नागरिक समाजले के-के गर्नुपर्छ ? शुरुमा जेनजी युवाहरूले लिनुपर्ने बाटो बताइदिनुस् न !
संयमता हो। जेनजी भनेको कुन-कुन समूह हो भन्ने थाहा छैन। जेनजीको भावना बोक्ने ठूलो समाज छ। अहिले परिस्थिति जहाँ पुगेको छ, मौका उहाँहरूले सिर्जना गरिदिनुभएको छ।
अहिले आयोग बनाएर भ्रष्टाचार छानबिन गर्ने एउटा तरिका होला। तर निजामती सेवा रिफर्मको कुरा पनि छ। अब नेपालको इतिहास पनि अझ गहिरोसँग पढ्ने र भिजन बनाउनको लागि समाजसँग संवाद पनि गर्नुपर्छ। अन्तर्राष्ट्रिय अभ्यास के छन् त्यो हेर्ने, बुझ्ने र संवादमा जाने हुनुपर्छ।
राजनीतिक दलहरूलाई तपाईंको के सन्देश छ ?
राजनीतिक दलहरूप्रति समाजको थुप्रै वितृष्णा थियो। यद्यपि जुन हिंसा र विध्वंस भएको छ त्यो निन्दनीय छ। यसको खोजबिन हुनुपर्छ। राजनीतिक दलहरू जुन आदर्शको लागि बनेका हुन् ती दल कुनै देशमा सधैंभरि रहनुपर्छ भन्ने पनि होइन। चन्द्रसूर्य रहुन्जेल हामी रहनुपर्छ भन्ने केही पनि छैन ।
उहाँहरूले अझै पनि समाजलाई केही दिन सकिन्छ भन्ने लाग्छ भने नयाँ भिजन लिएर आउनुपर्छ। होइन भने जति गर्नुभयो ठीक छ, अब शान्तसँग बस्नुस्।

अन्तरिम सरकारलाई के भन्न चाहनुहुन्छ ?
अन्तरिम सरकारको ध्यान चाहिं सबैलाई विश्वासमा लिने र चुनावमा जानेमै हुनुपर्छ। कार्यकारी शक्ति भएपछि त्यसको दम्भ देखाउन हुन्न। महत्वाकांक्षा बढाउन हुन्न। सानोतिनो कुनै बहानामा चुनाव फेरि सार्न सकिन्छ कि भन्नेतिर नजाओस्। समाजमा अवसर पनि छ तर सँगसँगै अहिले समाज स्तब्ध पनि छ। त्यसैले अतिकति शान्त पार्नुपर्ने पनि छ।
नागरिक समाजको मत निर्णायक हुन्छ। यो अवस्थामा नागरिक समाजले चाहिं कस्तो सुझबुझपूर्ण अवस्थामा बस्नुपर्छ ?
मैले बुझ्ने नागरिक समाज र यहाँ चलनचल्तीमा बुझिने भन्दा अलि फरक जस्तो छ। व्यक्ति पनि नागरिक समाज हुनसक्छ। कतिपय नागरिक संस्थाहरू पनि नागरिक समाज हुनसक्छन्।
कसैलाई अलि बढी पत्याइएको हुन्छ कसैलाई अलि कम पत्याइएको हुन्छ। समाज अब सुरक्षित छ त्यस्तो हिंसा हुँदैन भन्नेमा लाग्नुपर्छ।
उत्तेजक र भ्रमपूर्ण कुराहरू ल्याउनुभएन। हामी सबै नागरिक सरोकारवाला हो। त्यसैले अहिलेको जे अभीष्ट छ त्यसमा फोकस हुनुपर्छ।
प्रतिक्रिया 4