७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका छन् । उपमहासचिव जनार्दन शर्माले अनलाइनखबरलाई बताए अनुसार, पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका हुन् ।
माओवादीको पदाधिकारी बैठक गत आइतबार बसेको थियो । जहाँ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको उपमहासचिव शर्माले जानकारी दिएका हुन् ।
‘मंसिरमा महाधिवेशन नै गर्ने हो भने करिब दुई महिना हुन्छ । दुई महिनालाई वरिष्ठ नेता नारायणकाजीले पनि मलाई कार्यवाहक दिनुपर्यो भनेर माग गर्नुभएको थियो हिजो (आइतबार) मिटिङमा । माग गरेपछि मैले भनें दिइदिनुस् न त उहाँलाई कार्यवाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस्,’ उपमहासचिव शर्माले पदाधिकारी बैठकमा भएको छलफल सुनाए ।
यस्तो आग्रह शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गरेका हुन् ।
महाधिवेशनसम्म कार्यवाहकको रुपमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेतृत्व गर्ने र त्यसपछि प्रचण्ड सहितका सबै पदाधिकारी नेतृत्वमा नआउने उनको प्रस्ताव छ । हाल रहेका पार्टीका सबै पदाधिकारी निर्देशक समितिमा बदलिनुपर्ने उनको आग्रह छ । मंसिरमा हुने महाधिवेशनबाट पूरै नयाँ नेतृत्व ल्याउने उनको प्रस्ताव छ । यसो गर्दा पार्टीको साख थप बढ्ने उनको विश्वास छ ।
पार्टीले केवल महाधिवेशन तोकेर मात्रै नहुने, महाधिवेशनमा कार्यकर्तालाई स्वतन्त्र ढंगले आफ्नो नेता छान्ने र नयाँ–नयाँ विचार आउने वातावरण बनाउन दिन सक्नुपर्ने उपमहासचिव शर्माको आग्रह छ ।
प्रतिक्रिया 4