
११ असोज, न्यूयोर्क । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग युद्ध रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् ।
संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै भारत-पाकिस्तानबीच युद्ध रोक्ने श्रेय ट्रम्पलाई जाने बताएका हुन् ।
ट्रम्पलाई जस दिन भारतले इन्कार गरिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री राष्ट्रसंघीय महासभामै यो कुरा उठाएर उनलाई नोबेल पुरस्कार नै दिनुपर्ने बताएका छन् ।
‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत-पाकिस्तान तनावमा दखल दिएका नभए युद्धको परिणाम विनाशकारी हुन सक्थ्यो’, शरीफले भने, ‘त्यसैले भारत-पाकिस्तानबीच युद्ध रोक्न ट्रम्प नोबेल शान्ति पुरस्कारका योग्य छन् ।’
भारतले पहलगाम घटनालाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लगाउँदै शरीफले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको दृष्टिकोणअनुसार सबै विषय वार्ता र संवादमार्फत समाधान गर्न इच्छुक रहेको बताए ।
उनले भने, ‘पाकिस्तान बाहिरी आक्रमणबाट आफ्नो पूर्ण रक्षा गर्नेछ। युद्धमा हामीले जित हासिल गरेका छौं, अब हामी शान्ति चाहन्छौं। भारतसँग बाँकी सबै मुद्दामा व्यापक र प्रभावकारी वार्ता गर्न पाकिस्तान तयार छ ।’
भारतको प्रतिक्रिया
भारतले भने भारत-पाकिस्तान संघर्ष रोक्न कुनै तेस्रो पक्षको भूमिका थियो भन्ने कुरालाई लगातार अस्वीकार गर्दै आएको छ ।
हालै एक अन्तरवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकरले भनेका थिए, ‘धेरै वर्षदेखि यो राष्ट्रिय सहमति छ कि पाकिस्तानसँगका सबै विषयहरू आपसी अर्थात् द्विपक्षीय रूपमा मात्रै समाधान हुन्छन ।’
त्यसैगरी भारतले पहलगाम हमलापछि भारतीय सेनाले ‘अपरेशन सिंदूर’ अन्तर्गत पाकिस्तानस्थित नौवटा आतंकवादी शिविर नष्ट गरेको र १०० भन्दा बढी आतंकवादी मारिएको दाबी गरेको छ ।
प्रतिक्रिया 4