+
+
Shares

मास्टर सर्जक मास्टरसाब

वसन्त थापा वसन्त थापा
२०८२ असोज १५ गते ७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मदनमणि दीक्षितलाई 'समीक्षा' पत्रिकाको सम्पादकको रूपमा लेखकले १९६० को दशकदेखि चिनेका थिए।
  • लेखकले १९७३ देखि १९७५ सम्म 'समीक्षा' मा विभिन्न भूमिकामा काम गरेका थिए।
  • मदनमणि दीक्षितले पत्रकारितामा 'फूलभन्दा कोमल, बज्रभन्दा कठोर' आदर्श अपनाएका थिए।

“समीक्षा” पढ्ने गरेको म हाईस्कूलको विद्यार्थी हुँदैदेखि हो। त्यो साप्ताहिक पत्रिका मेरा बाको नियमित बौद्धिक खुराक थियो। प्रत्येक हप्ता बजारबाट “समीक्षा”को अंक बाको काखीमुनि च्यापिएर आइपुग्थ्यो हाम्रो घरमा। कति बुझ्दथें कति टाउको कन्याउनुपर्ने हुन्थे त्यसमा छापिएका कुरा। जे भए पनि म धरानमा बसी–बसी सन् १९६३/६४ तिरै मदनमणि दीक्षितलाई चिन्दथें मैले पढ्ने गरेको “समीक्षा” पत्रिकाको सम्पादकको रूपमा। समाचारपत्रको सम्पादक, कस्ता विद्वान् व्यक्ति होलान्, क्या भव्य व्यक्तित्व होला भनी सोच्थें। त्यस्तो व्यक्तिलाई भेट्दा के के न होला भन्ने लाग्थ्यो।

केही भएन। सन् १९७० को आखिरी हो वा सन् १९७१ को सुरुवातको महिना। काठमाडौंमा अफ्रोएशियाली जनएकता समितिको अधिवेशन भएको थियो। एकजना चश्मा लगाएको पुड्को पुड्को कालो कालो वर्णको व्यक्ति आत्तुरीसाथ बायाँ हातले लगातार सिगरेट तान्दै हतारहतार केही खेस्रा गर्दै गरेको देखें। सबै ‘दीक्षितजी’ भन्थे, सम्मेलनको प्रस्ताव खेस्रा गर्दैथिए। मलाई लाग्यो यिनै हुनुपर्छ मदनमणि दीक्षित। नजिक गएर हेरें, फोल्ड हुने टीनको एउटा कुर्सीमा बसेर अर्को त्यस्तै कुर्सीमा कागज राखेर लेखिरहेका ती व्यक्ति निहुरिएका हुनाले मैले उनको लेखाइ निर्विघ्न हेरिरहन पाएँ। नराम्रो “ह्यान्डराइटिङ” हुनेलाई “गान्धीजी” भन्ने चलन थियो हाम्रो समयमा। यी अर्का गान्धीजी निक्लिए।

त्यस दिन दिनभरि नै जसो मेरा आँखाले पछ्याइरहे मैले ठानेको ती मदनमणिलाई। टाउकामा कपालको जंगल तराईमा झोडा जस्तै फाँडिदै गएका ती मदनमणि सबैसित कुरा गर्थे, बहस गर्थे। मसँग पनि कुरा गरे कस्तो हुनेथियो। के गर्नु, उनी मलाई चिन्दैन थिए! तर जसलाई मैले मदनमणि भनी ठानेको थिएँ ती त असलमा मदनमणि नभई उनका भाइ महेशमणि पो परेछन्। मदनमणि त अझ पुड्का, झन् मोटो सिसाको चश्मा लगाउने, निकै खल्वाट र वृद्ध वयका देखिने व्यक्ति पो रहेछन्। उनी पनि प्रतिनिधि थिए त्यस सम्मेलनमा।

समयले मलाई नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशनको महासचिव बनायो। मदनमणिसित  चिनायो, मलाई उनको नजिक पुर्‍यायो। अन्त्ततः हामीबीचको अन्तर यति साँघुरियो कि समयले हामीलाई एउटै अड्डामा काम गर्ने बनायो। त्यो अड्डा वा त्यो अफिस थियो “समीक्षा” अड्डा। सुरुमा मेरो चिठी छापियो सम्पादकको नाममा। त्यसपछि मेरा छोटा कविता छापिए “समीक्षा”मा। अनि म त्यसको “प्रुफरिडर” भएँ। समाचारदाता भएँ। विज्ञापन संकलक भएँ। “विशेष प्रतिनिधि” समेत भएँ। विशेष प्रतिनिधिको त्यो तक्मा भिरेर दार्जीलिङ र सिक्किम पनि पुगें सन् १९७४को अक्टोबरमा।

दार्जीलिङको नेपाली साहित्य सम्मेलनले सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) यी तीन भाषासेवीको अभिनन्दन गरेको थियो त्यसबखत। त्यस समारोहमा भाग लिन कवि भवानी घिमिरेको नेतृत्वमा नेपालबाट गएको साहित्यिक पत्रकार संघको प्रतिनिधिमण्डलमा सामेल थिएँ म पनि। दशैंको मुखमा आयोजित त्यस समारोहमा भाग लिएपछि सिक्किम समेत घुमीवरी धरानमा दशैं मनाएर मैले पठाएको सूधपा अभिनन्दन समारोहको रिपोर्ताज समीक्षामा छापिएको थियो। त्यसबापत सह्रनी पनि पाएको थिएँ सम्पादकबाट।

दोहोरो चिनजान भएदेखि नै मदनमणि दीक्षित “मास्टरसाब” भएका थिए मेरा। मेरा मात्रै होइनन् सबैका (कतिका त “माड्साब”) थिए। सबैले भनेको सुनेकाले मैले लहलहैमा उनलाई मास्टरसाब भन्न थालेको थिएँ, उनलाई किन त्यस नामबाट पुकारिन्छ भन्ने कारण थाहै नपाई। तर धेरैपछि मात्र चाल पाएँ, त्यो त उहिले वीरगञ्जको हाईस्कूलमा मास्टर भएर उनले पढाउँदादेखि जोडिएको उपाधि रहेछ भन्ने। उनलाई सम्बोधन गर्न प्रयोग गरिने यो साझा साइनो उनले कहिल्यै मन पराएनन्, तर अरूले उनलाई त्यसो भनेर बोलाउन पनि कहिल्यै छाडेनन्। मैले पनि सधैं मास्टरसाब भनेरै पुकारिरहें। उनी मास्टरसाबको त्यो उपाधि मिल्काउन चाहन्थे।

एकाधिक पटक उनले मलाई भनेका थिए– “मलाई मदनमणि भनेर बोलाउने गर्नोस्”। कम्युनिष्ट नेता भनेर चिनिएका कमर शाह र कृष्णराज बर्मा जस्ता मास्टरसाबका घनिष्ठ मित्रहरूलाई म शाहजी र बर्माजी भनेर नै सम्बोधन गर्थें। त्यसैमा बानी परेको थियो। त्यसो हुँदाहुँदै पनि मास्टरसाबको ज्येष्ठता, विद्वत्ता र व्यक्तित्वको गहनताबाट दबिएको मैले उनको नाम काढेर बोलाउने आँट कहिल्यै गर्न सकिनँ मास्टरसाबको आग्रहका बाबजुद। हो, आफूलाई अरूले मास्टरसाब नभनुन् भन्ने उनको चाहनालाई बुझेरै होला नीलाम्बर आचार्यले उनलाई दाजु भन्न थालेका थिए।

कालिकास्थानमा घरको भर्‍याङ उक्लँदै उनले पहिलो पटक दाजु दाजु भनी बोलाउँदा र “अबदेखि म तपाईंलाई दाजु भन्छु” भन्दा म मास्टरसाब नजिकै उभिरहेको थिएँ सुनिजान्ने र देखिजान्ने साक्षीका रूपमा। आचार्य थरका कारण पनि नीलाम्बरजीले दाजु साइनो रोजेका थिए होलान् र मास्टरसाबले पनि त्यसलाई सहर्ष स्वीकारेको हुनसक्थ्यो।

मैले समीक्षामा प्रवेश गर्दा शंकर लयाल थिए पत्रिकाका सहायक सम्पादक। तर पत्रिकाको अनि त्यो छापिने प्रभाकरी प्रेसको सञ्चालन र व्यवस्थापनतर्फ विनोद दीक्षित हावी हुँदै थिए। सोभियत संघमा अर्थशास्त्र पढेर फर्केका थिए मास्टरसाबका जेठा छोरा विनोद दीक्षित। उनले  पढेको विषय अनुसारको काम खोज्ने र जागिर खानेतिर जाँगर नदेखाई बरू पिताकै पदचिनह्न अनुसरण गर्ने छाँटकाँट देखाएका थिए। कथा लेख्थे र ‘कलाकार’ नामक पत्रिकाको प्रकाशनमा पनि संलग्न भएका थिए विनोदजी। लेखक ध्रुवचन्द्र गौतमसित त उनको बालखकालदेखि नै यारी थियो। त्यसबाहेक उनको बढी हिमचिम थियो विजय थापा, इन्द्र प्रधान, शशि शाह जस्ता कलाकारहरूसित। एकै दाँवलका नभए पनि हामी बीचको उमेरको अन्तर थोरै भएकाले मेरो तालमेल खुब मिल्न गयो विनोद दीक्षितसित।

म समीक्षा परिवारको अविभाज्य अंग बन्दै गइरहेको थिएँ। त्यहाँ रहेर मैले सम्पादकलाई चिठी लेखें, प्रश्नोत्तरको स्तम्भ भरें, समाचार लेखें, पुस्तक परिचय लेखें, प्रुफरिडिङ त ठेक्कै थियो मेरो। यद्यपि शुद्धाशुद्धिमा मेरो बलियो पकड भने थिएन, अझै छैन। तथापि हातले लेख्दा ‘पनि’ शब्दको नि दीर्घ लेख्ने मास्टरसाबको हेरी ह्रश्व–दीर्घको मेरो प्रयोग त्यति खराब थिएन। रहँदाबस्दा समीक्षाको प्रमुख समाचार लेखेको छु। एक–दुई सम्पादकीय धरी ठोकेको छु।

नयाँ शिक्षा पद्धतिको योजना भर्खर लागू भएको थियो। त्यस नयाँ पद्धति अनुसार क्याम्पसहरूमा विद्यार्थी भर्ना संख्यामा कोटा निर्धारित भएको थियो। निर्धारित कोटा र एस.एल.सी. पास गर्ने विद्यार्थीहरूको संख्या बीचको विषमता देखाउने तथ्याङ्क उल्लेख गरी मैले लेखेको “कहाँ जाने यी विद्यार्थीहरू ?” शीर्षक समाचारले समीक्षामा हेडलाइन पाएको थियो। निकै चर्चाको विषय पनि बनेको थियो त्यो समाचार। तथ्याङ्कले देखाए अनुसार विद्यार्थीको ठूलो संख्या क्याम्पसमा भर्ना पाउनबाट वञ्चित हुने अवस्था थियो।

पत्रिकाको आकर्षण थप्न भनेर विनोदजी र म मिलेर एउटा नयाँ स्तम्भ थाल्यौं “सडक बोल्छ” भन्ने। त्यसका लागि म प्रत्येक हप्ता सडकछेउ उभिएर समसामयिक विषयमा मानिसहरूसित प्रश्न गर्थें। उत्तरदाताको नाउँ, उमेर र पेशा उल्लेख गरेर मेरो प्रश्नमा उनीहरूले दिएका छोटो उत्तर त्यस स्तम्भ अन्तर्गत छापिन्थे। प्रत्येक हप्ता दस-बाह्र जनाले त्यहाँ ठाउँ पाउँथे।

कुनै सार्वजनिक सरोकारको विषयउपर जनसाधारणको अभिमत जाहेर हुन्थ्यो त्यस स्तम्भ मार्फत। त्यो स्तम्भ छिटै लोकप्रिय बन्यो। झनै सान्दर्भिक विषय खोजेर त्यस स्तम्भलाई  रसिलो र चोटिलो बनाउने ध्याउन्ना रहन्थ्यो मेरो। त्यस ध्याउन्नामा मबाट नजानेरै एउटा गल्ती हुन गयो। नख्खु जेलबाट जेलसारी गर्ने निहुँमा प्रतिबन्धित नेपाली कांग्रेसका चार जना युवा कार्यकर्ताहरू मारिएका थिए। त्यसबारे म प्रश्न गर्न पुगें नृपेन्द्र पुरुष यादीलाई जो नेपाली कांग्रेसका कट्टर समर्थक साहित्यकार थिए। तिनले ‘सरकारले हत्या गरेको ती चार जना शहीद हुन् र तिनीहरूको रगत खेर जाने छैन” भन्ने खालको जवाफ दिएका थिए। म

लाई त त्यो आपत्तिजनक लागेन लागेन विनोदजीबाट पनि त्यो पास भएको थियो। त्यो पृष्ठ छापिइसकेपछि राति मास्टरसाबको त्यसउपर नजर परेछ। पटक पटक प्रतिबन्धको मारमा परिसकेको पत्रिकामा त्यसले फेरि विपत्ति निम्त्याउने ठानेर मास्टरसाबबाट त्यो पृष्ठ खारेज गरियो र पुनर्मुद्रण गरियो यादीको जवाफ झिकेर। पत्रिकाको नोक्सान हुन गएको थियो मेरो नादानीले गर्दा। तर मास्टरसाबबाट मैले यस्ता संवेदनशील कुरामा सावधानी अपनाउनुपर्छ भन्ने हलुका हिदायत मात्र पाएँ। नोक्सानी कुनै ठूलो मुद्दा बनेन।

विचार, भाषा, प्रस्तुति, सृजनशीलताले गर्दा समीक्षा पढालेखाहरूको अनिवार्य बौद्धिक खुराक थियो उसबेला। त्यसका स्तम्भहरू लोकप्रिय थिए भने यसपालि समीक्षाले कुन विषयलाई आफ्नो हेडलाइन बनाउँछ भन्ने कौतूहल हुन्थ्यो पाठकहरूमाझ।

‘तपाईं सोध्नोस् जवाफ हाजिर छ’ भन्ने प्रश्नोत्तरको एउटा स्तम्भ थियो जसलाई वास्तवमै हाजिरजवाफको नमूना मान्न सकिन्थ्यो। पाठकहरूबाट प्रश्न साँच्चै आउँथे हुलाकबाट। तिनलाई सम्पादकले दिने उत्तर स्वादिला र चोटिला हुन्थे। प्रश्न र उत्तरको एउटा नमूनाः

प्रश्न – विश्वको सर्वोच्च स्थान कुन हो ?

उत्तर– तेन्जिङ नोर्गेको टोपी।

कहिलेकाहीं यस्ता सवाल–जवाफ सम्पादकको उर्वर दिमागका परिणाम हुन्थे जसको उपयोग रमाइलोका साथै कसैलाई घोच्न या छ्याँस्नका लागि पनि गरिन्थ्यो। सम्पादकको देखासिकी विनोदजी र मैले पनि यस्ता सवाल–जवाफको निर्माण बेलाबखत गर्ने गर्थ्यौं।

सम्पादकको सृजनशील दिमागबाट उत्पन्न हुने व्यङ्ग्यवाण र चुट्किला पनि मुखपृष्ठमा बक्स आइटमका रूपमा छापिन्थे यदाकदा। उसबेला खुबै चलेको र मैले अहिलेसम्म नबिर्सेको एउटा व्यङ्ग्योक्ति यस्तो थियो-

खसीको मासु बेच्ने सुनधाराको एउटा पसलमा खसीका तीनवटा टाउका बेच्न राखिएका थिए। मोल भने फरक फरक थिए ती टाउकाका- एउटाको दस रुपैयाँ, अर्काको बीस रुपैयाँ र तेस्रो टाउकाको तीस रुपैयाँ। ग्राहकले मोलमा फरक हुनाको कारण पसलेलाई सोध्छ। उसको जवाफ यस्तो हुन्छ– दस रुपैयाँ पर्ने टाउकामा गिदी पनि छैन जिब्रो पनि छैन यो प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल जस्तो हो। दोस्रो टाउकामा जिब्रो छ गिदी छैन यो पहिलेका प्रधानमन्त्री कीर्तिनिधि जस्तो हो। तीस रुपैयाँ पर्ने टाउकामा गिदी पनि छ जिब्रो पनि छ। यो भूतपूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा जस्तो हो।

नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री रहेको त्यसबेला द्वैध शासनको कुरा उठाएर सूर्यबहादुर थापा निकै चर्चामा थिए। शायद जेलै परेका थिए। कसैलाई हान्न र कसैलाई मान्नलाई मास्टरसाब यस्तो खालको शैली पनि उपयोग गर्थे।

महिनाको दुई सय रुपैयाँ पाउँथें विनोद दीक्षित मार्फत जो बढेर दुई सय पचास र अन्त्यमा तीन सय पुगेको थियो, जुन रकम पाउँथें टुक्रा–टुक्रामा। मैले खोजेर ल्याएको विज्ञापनको भुक्तानीमा पचास प्रतिशतसम्म कमिशन पाउँथें सिद्धान्ततः। तर विज्ञापनको नगद आम्दानी एकदमै नगन्य हुन्थ्यो। नचिनेको अल्लारे ठिटोलाई विज्ञापन छपाउने अर्डर कसले दिने? विद्यार्थी फेडेरेशनको नाताले चिनेको एक जना युवाले सिरक, डसनाको पसल सुरु गरेका थिए। अनेक गरेर पत्रिकामा विज्ञापन छपाउन राजी गराएँ तिनलाई मैले। राजी भए पनि तिनले विज्ञापन छपाए बापत जिन्सीमा भुक्तानी दिने र छापिने विज्ञापन मैले नै बनाइदिनुपर्ने शर्त राखे। विज्ञापन सामग्री त्यसअघि कहिल्यै तयार नगरेको मैले दिमाग खुब रगडेर यस्तो सन्देश लेखें;

घर टाडो छ, काठमाण्डुमा जाडो छ

हामीकहाँ सुपथ मोलमा सिरक, दोलाई, पछ्यौरा, डसना आदि पाइन्छ आदि आदि।

साथीले विज्ञापनको सन्देश मन पराए अनि जाडो महिनाभरि त्यो विज्ञापन छापियो। त्यस बापत तिनले समीक्षा अड्डाको र मास्टरसाबको घरको सोफा सेटमा खोल हालिदिनुका साथै चकटीका सेटहरू दिए। बिजनेस ल्याउने मेरो प्रयासको त्यो आँखाले देख्न सकिने प्रतिफल थियो। तर त्यसप्रकारको जिन्सी भुक्तानीबाट मलाई प्राप्त हुने प्रतिफल भने केही थिएन, धन्यवाद सिवाय।

समीक्षा छापिने प्रभाकरी प्रेसको ट्रेडल प्रिन्टिङ मेसीन थियो। मुद्रण प्रविधिको मध्ययुगीन अवस्था थियो त्यो। तस्वीर छाप्नका लागि जिङ्क ब्लक भर्खर भर्खर प्रचलनमा आएको थियो, नत्र काठको ब्लक प्रयोग गरिन्थ्यो। हरेक कुरा हातैले गर्नुपर्ने हुनाले जे काममा पनि समय लाग्थ्यो। हरेक बुधबारका दिन निस्कन्थ्यो समीक्षा र त्यसको अघिल्लो रात प्रायः अबेरसम्म बस्नुपर्ने पनि हुन्थ्यो। छापिने सबै म्याटर सिसाका एक एक अक्षर जोडेर ग्यालीमा कम्पोज गर्नुपर्थ्यो। कम्पोज गर्ने ठाउँ यति भद्रगोल हुन्थ्यो कि कहिलेकाही कम्पोज गर्न दिइएका म्याटर हराउँथे। हातले लेखिएका ती कुरालाई सम्झेर फेरि लेख्नुपर्ने खण्ड पनि आउँथ्यो।

एक पटक कवि विनोद अश्रुमालीले विराटनगरबाट विराटनगरकै बारे एउटा राम्रो कविता लेखिपठाएका थिए “अगर मगरको शहर विराटनगर’ भन्ने। कम्पोज गर्न दिएको त्यो कविता यसै हरायो परेवाको गुँड जस्तो कम्पोजिङ शाखाबाट। कविता राम्रो भएकाले विनोदजी र मैले कविलाई चिठी लेखेर कविताको नक्कल प्रति भए सो पठाइदिने आग्रह गर्ने निधो गर्‍यौं र त्यसै गर्‍यौं पनि। त्यतिखेरसम्म कविका रूपमा विनोद अश्रुमालीको नाम चलिसकेको थिएन। हुलाकबाट उनको कविता छिटै नै आयो। तर त्यो हामीलाई पहिले प्राप्त भएको मौलिक कविता जस्तो नभई त्यसको छायाँ जस्तो देखिन्थ्यो। फोटोकपी गर्ने चलन आइनसकेको उसबेला नक्कल प्रति राख्ने एक मात्र उपाय भनेको कार्बनकपी राख्नु हुन्थ्यो। तर उनले कार्बन कपी राखेका थिएनन् शायद। त्यसैले उनले सम्झनाको भरमा त्यो कविता फेरि लेखेर पठाएको स्पष्ट हुन्थ्यो। यद्यपि त्यसलाई हामीले छाप्यौं, त्यो अर्कै कुरा हो।

यस्तै नियति बेहोर्नु परेको थियो दार्जीलिङबाट आएर काठमाडौंमा तहल्का मच्चाएको नाटक “अनि देउराली रुन्छ” का लेखक-निर्देशक मनबहादुर मुखियासित एक पृष्ठ नै ओगट्ने मैले लिएको अन्तरंग अन्तर्वार्ताले पनि। कम्पोजिङ टेबुलबाट कता हरायो कता। फेरि सम्झँदै त्यति लामो अन्तर्वार्ताको हातले पुनर्लेखन गर्दा कति फजिती भयो त्यो मलाई नै थाहा छ।

मास्टरसाबको देखासिकी मैले पनि दुईवटा फुलनाउँ राखेर लेखेको छु विगतमा।

मास्टरसाबले समीक्षाका लागि निर्धारित गरेको पत्रकारिताको आदर्श थियो– “फूलभन्दा कोमल, बज्रभन्दा कठोर”। राम्रो काम गर्ने व्यक्ति र संस्थाका लागि प्रशंसाको पुल बाँधिदिन्थ्यो भने त्यही व्यक्ति वा संस्थाले नराम्रो काम गरे त्यसलाई सिस्नोपानी लगाउँथ्यो समीक्षाले कलमको माध्यमद्वारा। आफ्नो कलमलाई धारिलो तरवारभन्दा असरदार हतियार मान्थे मास्टरसाब। यो तथ्य यस पङ्तिकारलाई राजा महेन्द्रका एक जना सुरक्षा अधिकारीले सुनाएको प्रसङ्गबाट पनि प्रमाणित हुन्छ।

एक पटक राजा महेन्द्रको दर्शन भेटका लागि मास्टरसाब नारायणहिटी राजदरबार गएका बखत भर्‍याङ चढ्दै गर्दा ती सुरक्षा अधिकारीले औपचारिकता पूरा गर्नलाई हलुका तरिकाले “तपाईंले हतियार त बोक्नुभएको छैन होला नि” भनेर सोधेछन् मास्टरसाबलाई। त्यसको उत्तरमा मास्टरसाबले गम्भीर भएर “मैले बोकेको छु” भनेछन्। त्यो सुनेर सुरक्षा अधिकारीको मुख रातो भयो। दुवै जना टक्क भर्‍याङमा अडिए। अनि मास्टरसाबले कोटको खल्तीबाट कलम निकालेर देखाउँदै भनेछन् “यी यो हो मेरो हतियार”।

कलमलाई हतियार ठान्ने मास्टरसाबले धेरै प्रकारले चलाउँथे त्यो हतियार। आफ्नै नाउँमा बाहेक उनी अवसर हेरी भिन्न–भिन्न उपनाउँमा लेख्ने गर्थे। सुधांशु, चन्द्रहास र चक्रपाणि उनले प्रयोग गर्ने ती उपनाउँ थिए। चन्द्रहास उपनाउँबारे मैले राखेको जिज्ञासाको उत्तरमा उनले बताएका थिए त्यो लंकापति रावणको निजी अस्त्र हो भनेर, जस्तो महादेवको त्रिशूल, कृष्णजीको सुदर्शन चक्र र अर्जुनको गाण्डीव धनु। चक्रपाणिको उपनाउँमा उनी लेख्थे “मेरो देश, मेरो संसार” शीर्षकमा शृङ्खलाबद्ध आलेख।

समीक्षाका एक जना पाठक भेट्टाएको थिएँ एक पटक जो सम्पादकका रूपमा मदनमणि दीक्षितलाई पटक्कै मन पराउँदैनथे, मन नपराउने मात्र होइन लगभग उपेक्षा गर्थे। तर चक्रपाणिको भने उनी जब्बर फ्यान थिए। मदनमणि नै चक्रपाणि हो भनेर मैले भन्दा उनी ज्यान गए मान्न तयार थिएनन्। उनको चित्त बुझाउने मसँग कुनै सबुत र तर्क थिएन, किनभने मैले दिएको सबुत उनी मान्न तयार थिएनन्।

मास्टरसाबको देखासिकी मैले पनि दुईवटा फुलनाउँ राखेर लेखेको छु विगतमा। विश्वजीत किराँतीको सम्पादनमा निस्कने “अन्तर्वार्ता” साप्ताहिकमा “परीक्षित”को नाउँमा “अन्तरकुन्तर” शीर्षकको स्तम्भ लेखें निकै लामो समय अनि “हिमाल” पत्रिकामा “ऋतुराज” भन्ने नाउँमा “ऋतुविचार” नामक स्तम्भ चलाएँ पन्ध्र वर्षसम्म।

“मेरो देश, मेरो संसार” शृङ्खला अन्तर्गत लेखिएका उनका धेरै लेखको मैले “डिक्टेसन” लिएको छु- उनी महर्षि व्यास झैं बोल्दै जान्थे र उनले भनेका कुरा म गणेशले झैं कागजमा लेख्दै जान्थें। बलपेन र डटपेनको चलन व्यापक भइनसकेको त्यसबेला लेख्नलाई म मसी भरिएको कलम नै प्रयोग गर्थें।

यस्तैमा मास्टरसाबले व्यक्तिसित लिइने अन्तर्वार्ताको नयाँ श्रृङ्खला सुरु गरे समीक्षामा। प्रत्येक हप्ता अन्तर्वार्ताका लागि छानिएका व्यक्तिलाई फोन गरेर समीक्षा अड्डामै बोलाउने गर्थे मास्टरसाब। समीक्षा अड्डा भन्नु र उनको निवास भन्नु एउटै कुरा थियो। सिङ्गै भुईंतला प्रभाकरी प्रेस र समीक्षा अड्डाले ओगटेको थियो भने माथ्लो तलामा थियो मास्टरसाबको निवास। पूर्व-दक्षिण मोहोडा गरेको मास्टरसाबको बैठक कोठामा आउँथे मानिस अन्तर्वार्ता दिनलाई। यो अन्तर्वार्ता “वन टु वन” खालको हुन्थेन।

त्यसमा मास्टरसाबका रामजीप्रसाद उपाध्याय जस्ता साथीहरू पनि सामेल हुन सक्थे। म प्रायः उपस्थित हुन्थें टिपोटकर्ताको हैसियतमा। मास्टरसाब प्रश्न गर्दै क्यामेरा पनि चलाउँथे अन्तर्वार्ता दिने व्यक्तिको प्रोफाइल खिच्नलाई। आखिर मास्टरसाब सिद्धहस्त फोटोग्राफर थिए, एकताका व्यावसायिक फोटोग्राफर भइसकेका।

विशेषतः उनले पत्रकार किशोरीरमण राणासित लिएको अन्तर्वार्तालाई सम्झन्छु म। किशोरीरमण राणा यस्ता पत्रकार थिए जो गुमनाम थिए। महाभारतका धनुर्धर नायक अर्जुनले दुवै हातले धनुर्वाण चलाए सरी उनी नेपाली र अंग्रेजी दुवै भाषामा उत्तिकै अधिकारका साथ कलम चलाउँथे। एकसाथ उनी एकाधिक दैनिक साप्ताहिक पत्रिकामा काम गर्थे।

तिनमा समाचार र सम्पादकीय लेखिदिन्थे तर अरूकै नाममा। पत्रकार जगतका हलिया थिए उनी एउटा पत्रिकाको अफिसबाट अर्को पत्रिकाको अफिस धाइरहने। कवि भूपी शेरचनको भाषामा भन्ने हो भने उनी रेसमा दौडिने गोडा थिए, माला लगाउने गला र टीका थाप्ने निधार अरूकै थिए। उनको अन्तर्वार्ताबाट के थाहा भयो भने उनलाई त्यस कुराप्रति कुनै गुनासो थिएन, त्यो उनले जानाजान स्वीकारेको व्यवसाय वा पेशा थियो।

मैले समीक्षामा दुई वर्ष चानचुन काम गरें सन् १९७३ देखि १९७५ को अवधिमा। त्यस अवधिमा मास्टरसाबका सयौं सम्भाषण कानबाट भित्र्याएको छु, धेरै जसो अवाक् प्रशंसक बनेर। उनको सान्निध्यमा मैले समीक्षामा काम गर्दै बिताएको समय मेरा लागि पत्रकारिताको गुरुकुलीय शिक्षा सरह थियो। मैले प्राप्त गरेको त्यो गुरुकुलीय शिक्षा “हिमाल” (द्वैमासिक, सुरुमा त्रैमासिक)  सम्पादन गर्दाको बखत औधी उपयोगी सावित भयो।

फिलिम असाध्य हेर्नुपर्ने मास्टरसाबलाई। अनि फिलिम हेर्नुपर्छ भनेर जोड पनि दिने। उनको यो बानी मलाई खुबै मन पर्थ्यो।

साँच्चि नै मान्नुपर्ने खालको थियो मास्टरसाबको ज्ञानको विस्तृतिलाई। भगवद् गीताको श्लोक कण्ठ भन्न सक्ने। मार्क्स, लेनिनका उद्धरण दिन सक्ने। महात्मा गान्धी र चे ग्वेभाराका विषयमा कुरा गर्न सक्ने। सापेक्षिताको सिद्धान्त व्याख्या गर्न सक्ने। शेलीका कविता सुनाउन सक्ने। पतञ्जलि र भारविका सूत्र तथा नाटकबारे पनि भट्याउन सक्ने। “दुई हरफ नै भए पनि पढ्नुपर्छ” भन्ने मान्छे। पढेको थोरै कुरालाई लामो व्याख्या गरेर सुनाउन सक्ने मान्छे।

“भन्नोस् वसन्तजी, “लाइट इयर” भनेको के हो?”

हामी नीलाम्बर आचार्यको जैसीदेवल नजिकको डेरा कोठामा एक साँझ रक्सी खाँदैथियौं। मैले झट्ट ठीक जवाफ दिन सकिनँ मास्टरसाबको त्यस प्रश्नको। रक्सी त त्यहाँ बसेका चार पाँच जना सबै खाँदै थियौं तर उनलाई रक्सीको असर अलिक बढ्ता परेको जस्तो थियो। बस्, झन्डै आधा घन्टा जति समय लियो मेरो अज्ञानता माथि उनले व्याख्यान दिंदा। उनको व्याख्यानको सार थियो– “हाम्रो ज्ञान एकोहोरो, सीमित र कुण्ठित छ, त्यसलाई फराकिलो पार्नुपर्छ”।

पढ्ने बानी त धेरथोर थियो नै मेरो, तर एकोहोरिएको हेक्का भने पाएँ त्यस साँझ। विषयको विविधताले नै ज्ञानको सीमालाई विस्तृत बनाउँछ भन्ने अर्को गुरुमन्त्र मिल्यो त्यस जमघटमा मास्टरसाबबाट। त्यस गुरुमन्त्रलाई अमल गर्ने प्रयत्न गरिरहेछु म आजपर्यन्त आफ्नै हिसाबले।

फिलिम असाध्य हेर्नुपर्ने मास्टरसाबलाई। अनि फिलिम हेर्नुपर्छ भनेर जोड पनि दिने। उनको यो बानी मलाई खुबै मन पर्थ्यो। सन् १९७३ मा रिलिज भएको “अमर प्रेम” नामक हिन्दी फिल्म उनले कलकत्तामा हेरेर आएका थिए। राजेश खन्ना र शर्मिला टेगोर प्रमुख भूमिकामा रहेका र शक्ति सामन्तद्वारा निर्देशित त्यो फिल्म हिट भएको थियो। राहुलदेव वर्मनको संगीतमा सजिएका गीतहरू त एक से एक थिए। त्यस फिल्मको बखान सुन्न पाएको थिएँ उनका मुखबाट। शायद त्यस फिल्मबारे उनले समीक्षामा लेखे पनि क्यार! फिलिम भनेपछि म पनि हुरूक्क।

पछि काठमाडौंको रञ्जना सिनेमा हलमा “अमर प्रेम” लाग्दा मैले त्यसलाई सात पटक हेरें। जीवनमा सबैभन्दा बढी पटक दोहोर्‍याएर मैले हेरेको फिल्म त्यही थियो। कमजोरी भनी ठानेको फिलिम हेर्ने आफ्नो बानीलाई ठाडै समर्थन गर्ने पहिलो बुजुर्ग मास्टरसाब भेटिएका थिए। “एउटा राम्रो फिलिम हेर्नु भनेको एउटा राम्रो उपन्यास पढ्नु जत्तिकै हो” भन्थे उनी। उनको त्यस अर्तीको म वफादार अनुयायी रहँदै आएको छु। ।

“कस्तो लाग्यो वसन्तजी ‘भएका कुरा’ र ‘पुराना सम्झना’ तपाईंलाई? तिनमा खास के विशेषता र समानता पाउनुभयो तपाईंले?”

आफ्नो आभिजात्य पारिवारिक पृष्ठभूमिको प्रदर्शनलाई गर्व ठान्थे क्यार मास्टरसाब। दीक्षित खलकको कथा हाल्ने गर्थे रमाइलो मानेर। उनका कैयन् कथा दीक्षित परिवारकै बारे लेखिएका छन्। उनको जीवन्त संस्मरणहरू त्यही अभिजातवर्गीय दीक्षित खलकको सेरोफेरोमा घुम्छन्। संभवतः उनी भन्न चाहन्थे- “म उच्च कुल र सम्पन्न परिवारको भइकन पनि मैले सर्वहाराको राजनीति अँगालेको छु”।

“भएका कुरा”मा मलाई लागेका रोचक पक्षको मैले उल्लेख गरें। राममणिको हलन्त विरोधी अप्ठेरोपनको चर्चा गरें। तर मास्टरसाब अर्कै कुरालाई औंल्याउन चाहन्थे। “कत्रो पितृभक्ति, अन्ध पितृभक्ति देखिन्छ ती दुवै पुस्तकमा”। म छक्क ! आखिर मास्टरसाब भन्न के चाहन्छन्?

“तपाईंले याद गर्नुभयो पूज्यपाद बुबा भनेर लेखेको? पक्का कन्फ्युसियसवाद !”

आफ्नै पुर्खाको सामन्ती चरित्रलाई त्यसरी कटु शब्दमा औंल्याउने मास्टरसाबलाई ‘महान्’ हुन् भन्न मन लाग्यो त्यतिखेर।

त्यसको निकै पछि ‘रत्नश्री’ नामक साहित्यिक पत्रिकामा निस्केको “दधीचिको हाड…” मा मास्टरसाब आफैं पनि काशीनाथ दीक्षित र राममणि दीक्षितको परम्परालाई धान्दै लेख्न पुग्छन् “पूज्यपाद बुबा”। यो विरोधाभास थियो उनको भनाइ र गराइमा- कमसेकम मेरा आँखामा।  मास्टरसाबले त्यो लेख नलेखेको भए हुन्थ्यो मेरो विचारमा। सवाल पूज्यपाद बुबा भनेर गरिएको सम्बोधन मात्र थिएन त्यस लेखमा उनले देखाएको राजनेतृत्त्वप्रतिको समर्थनबाट उनी उभिएको दार्शनिक र वैचारिक धरातलको अस्थिरता समेत प्रदर्शित भएको थियो। त्यो ”समीक्षा” फेरि एक पटक प्रतिबन्धित भएको बेला थियो। धेरैले भने- “पत्रिका खोल्न मदनमणिले लेखेको विन्तीपत्र हो त्यो”। उनको यदि त्यो विन्तीपत्र थियो भने उनले त्यसरी विन्तीपत्र लेखेको मलाई पटक्कै चित्त बुझेन। तर यतिञ्जेल मैले जीवनयापनको क्रममा अर्कै दुनियाँको बाटो समातिसकेको थिएँ र मास्टरसाबसित बसेर आफ्नो विमति जनाउने वा बहस-मश्बिरा गर्ने अवस्थामा म थिइनँ।

सन् १९८० को दशक र त्यसपछिको समयमा हामीबीचको सम्बन्ध कुनै सभा समारोहमा आक्कलझुक्कल हुने भेटमा सीमित हुन गएको थियो। मास्टरसाब तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त हुँदा भने मैले उनलाई फोन गरेर बधाई दिएको थिएँ। त्यसै समयमा सरकारले नीलाम्बर आचार्यलाई पनि श्रीलंकाका लागि राजदूत नियुक्त गरेको थियो। मैले तपाईंहरू दुई जनाको नियुक्ति चाहिं सरकारले अहिलेसम्ममा गरेको सबैभन्दा राम्रो निर्णय भएको छ भन्दै ठीक ठाउँमा ठीक मानिस परेको बताएँ। मास्टरसाबले यो कुरा प्रधानमन्त्रीलाई चिठी लेखेर बताउनोस्न भनेका थिए। कताको चिठी लेख्नु प्रधानमन्त्रीलाई मैले ?

त्यसको लामो अन्तरालपछि म एकै चोटि सन् २००८ मा मास्टरसाबलाई भेट्न पुगें उनको कालिकास्थानस्थित निवासमा एकता बुक्सका रामचन्द्र तिमोथीलाई साथमा लिएर। नेपाल प्रकाशक संघले त्यस साल काठमाडौंमा हुने पुस्तक प्रदर्शनीमा हिन्दी फिलिमका सदाबहार अभिनेता देव आनन्दलाई विशेष अतिथिका रूपमा आमन्त्रित गरेको थियो। त्यस उपक्रममा  भारतीय राजदूतावासको संयोजन र सहयोग भएबाट उनी आउने पक्का भएको थियो। देव आनन्दको आत्मकथा “रोमान्सिङ वीथ लाइफ” प्रकाशित भएको थियो अघिल्लो साल। त्यही पुस्तकको प्रवर्धन बनेको थियो उनी काठमाडौं आउने निहुँ। प्रकाशक संघमा त्यसबेला तिमोथीजी अध्यक्ष थिए भने म महासचिव। हामीलाई लाग्यो यस्तो अवसरमा अग्लो बौद्धिक उचाइका नेपाली विद्वानलाई प्रमुख अतिथि बनाएर विद्वत् प्रवचन गराउनुपर्छ। त्यस भूमिकाका लागि हाम्रो नजरमा अरू कोही थिएन मास्टरसाब बाहेक। उनको स्वास्थ्य र कार्यतालिका हाम्रो अभीष्ट अनुकूल होला नहोला भन्ने धुकचुक थियो हाम्रो मनमा। तर हाम्रो आग्रहलाई सहर्ष स्वीकारेर मास्टरसाब समारोहमा आए प्रमुख अतिथिका रूपमा, आफ्नो लेखन व्यस्तता र पाको उमेरका बाबजुद। मैले एकदमै आदर गर्ने विद्वान् अनि एकदमै मन पराउने सिने अभिनेतालाई एक ठाउँमा उभिएको देख्न पाउँदा र उनीहरूलाई त्यसरी सँगै उभ्याउने काममा केही भूमिका निर्वाह गर्न पाउँदा दुवै हस्तीका म जस्तो उद्दाम प्रशंसकलाई जुन खुशी मिल्यो त्यो भनिसाध्य छैन। संयोग, मास्टरसाब र देव आनन्द जन्मेको साल एउटै थियो- सन् १९२३ र उनीहरू दुवै त्यस बखत पचासी वर्षमा हिंडिरहेका थिए।

त्यस समारोहपछि कृतज्ञता जाहेर गर्न एकपटक र कुनै कुरा सोध्नलाई उनले नै खोजेबाट अर्को पटक गएको थिएँ मास्टरसाबलाई भेट्न। पछिल्लो भेटमा “अमृतत्व र कारुणिकता” तथा “भूमिसूक्त” नामक पुस्तक उनको हस्ताक्षरसहित उनीबाट उपहार पाएको थिएँ। झन्डै झन्डै “माधवी” उपन्यासकै हाराहारीको कृति मान्छन् केही विद्वानहरू “भूमिसूक्त”लाई।

मास्टरसाबको विद्वत व्यक्तित्व र कृतित्वको ओजबाट अभिभूत रहँदै आएको मलाई मेरो लेखनको आदर्श को हुन् भनी कसैले सोधेमा म विना कुनै हिच्किचाहट भन्नेछु मदनमणि मास्टरसाब। आखिर थिए पनि त मास्टरसाब एक मास्टर सर्जक।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?