+
+
Shares

निर्वाचन आयोगले तयार पार्‍यो चुनावी कार्यक्रमको खाका

आयोग बैठकबाट अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयारी

निर्वाचन आयोगमा तयार भएको चुनावी कार्यक्रमको खाकामाथि आयोगका पदाधिकारीहरुले छलफल गरिरहेका छन् । पदाधिकारीहरुको बैठक टुंगिनासाथ कार्यक्रम तालिका सार्वजनिक हुनसक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारी गरेको छ।
  • आयोगले नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्म समयसीमा तोक्ने र त्यसपछि दर्ता हुने दललाई निर्वाचनमा भाग लिन नदिने तयारी गरेको छ।
  • उम्मेद्वारहरुले भौतिक रुपमा करिब १५ दिन मात्रै प्रचारप्रसार गर्न पाउने गरी निर्वाचन आयोगले कार्यक्रम तालिका बनाएको छ।

२० असोज, काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यक्रम तालिकाको खाका बनिसकेको छ ।

निर्वाचन आयोगमा तयार भएको कार्यक्रमको खाकामाथि पदाधिकारीहरुले छलफल गरिरहेका छन् । आयोग स्रोतले भन्यो, ‘पदाधिकारीहरुको बैठक टुंगिनासाथ कार्यक्रम तालिका सार्वजनिक हुनसक्छ ।’

आयोगसम्वद्ध स्रोतका अनुसार, नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्मको समयसीमा तोक्ने तयारी छ । त्यसपछि दर्ता हुने दलले आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन पाउने छैनन् ।

आयोगले त्यसपछि निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ताको आह्वान गर्नेछ । त्यसका लागि १० मंसिर हाराहारीको समय तोक्ने तयारी छ । नयाँ दर्ता हुने दलहरुले पनि त्यही समयभित्र फेरि निर्वाचनका लागि दर्ता गर्नुपर्नेछ ।

आयोगले करिब डेढ महिनाको समय राखेर उम्मेद्वारहरुको मनोनयन मिति तोक्नेगरी छलफल अघि बढाएको छ । माघको पहिलो साताभित्र उम्मेद्वारहरुले मनोनयन दर्ता गर्नुपर्नेछ ।

विगतका निर्वाचनमा मनोनयन दर्ता गर्नासाथ उम्मेद्वारहरु प्रचारप्रसारमा जान पाउँथे । यसपटक निर्वाचन आयोगलाई त्यसलाई साँघुरो बनाउने तयारी गरेको छ ।

उम्मेद्वारहरुले भौतिक रुपमा निर्वाचन प्रचारप्रसारका लागि करिव १५ दिनको समय मात्रै पाउनेगरी अवधि तोक्नेबारे आयोगमा छलफल चलेको छ ।

त्यसो हुँदा ६ फागुनभन्दा अघि उम्मेद्वारहरुले भौतिक रुपमा सभा सम्मेलन, प्रचारप्रसार र कोणसभा गर्न पाउने छैनन् ।

‘खर्चिलो प्रचारप्रसारका कारण बेथिती बढ्यो भनेर विगतमा व्यापक गुनासो आएको थियो’ आयोगसम्वद्ध स्रोतले भन्यो, ‘त्यसैले निर्वाचन प्रचारप्रसारका लागि दुई साताभन्दा बढी समय राख्नुहुँदैन भन्ने कुरा आएको छ । त्यसै अनुसार नै कार्यक्रम तालिकाको खाका बनेको हो ।’

आयोगको बैठकले निर्वाचन कार्यक्रम तालिका तयार गरेपछि मंगलबार बृहत छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्रीको उपस्थितीमा आयोगका पदाधिकारीहरुसहित सबै मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, मुख्यसचिवसहित सबै सचिवहरुको बैठकमा निर्वाचन तयारीबारे छलफल गर्ने योजना बनेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?