+
+
Shares

दशगजामा बनाइएका सडकका कारण सधैं डुब्छ दरैया

पाण्डेका अनुसार पहिले यस्तो डुबानको समस्या थिएन् । दशगजा नजिकै भारतले बाँधजस्तै सडक बनाएका कारण निकास नहुँदा वर्षा र बाढीको पानी दरैया बस्तीमा पस्यो।

हरि अधिकारी हरि अधिकारी
२०८२ असोज २० गते २१:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर महानगरपालिका–१६ दरैयाका घरमा आएको बाढीका कारण स्थानीयहरू विस्थापित भएका छन्।
  • भारतले दशगजामा बनाएको अग्लो सडकले पानी निकासमा समस्या ल्याएको छ र बाढी दरैया बस्तीमा पसेको छ।
  • महानगरपालिकाले डुबान समस्या समाधानका लागि काम गरिरहेको छ तर संघीय सरकारको सहयोग आवश्यक रहेको विराटनगर प्रमुखले बताए।

२० असोज, विराटनगर। विराटनगर महानगरपालिका– १६ दरैयाका श्यामकुमार पाण्डको घरमा आइतबार बाढी पस्यो । बाढी पसेका कारण छिमेकीसहित उनीहरु सुरक्षित स्थानमा बसे । सोमबार दिउँसो पनि घर अगाडिको पानी निकास भएन ।

सीमावर्ती दरैयाको सडकमा सवारी साधन कुदाउन नमिल्ने गरी पानी जमेको थियो । तर, नेपाल तर्फको दशगजा (दरैया)को सडकमा यात्रा गर्न नसकिने अवस्था भए पनि भारत तर्फको दशगजाको सडकको अवस्था सामान्य थियो ।

पाण्डेका अनुसार पहिले यस्तो डुबानको समस्या थिएन् । दशगजा नजिकै भारतले बाँधजस्तै सडक बनाएका कारण निकास नहुँदा वर्षा र बाढीको पानी दरैया बस्तीमा पस्यो। ‘यस्तो समस्या भएको १०–१२ वर्ष भयो, पहिले यस्तो डुबान थिएन,’ उनले भने,‘ भारतमा अग्लो सडक बनाए पनि डुबान हुन थाल्यो ।’

उनका अनुसार पहिले परेको पानी निकास भएर जान्थ्यो, अहिले निकास हुनलाई ३–४ दिन लाग्छ। ‘पहिले पुल थियो, त्यसलाई ब्लक गरेर त्यो ठाउँमा घर बनाएको छ, उताको बाटो हाम्रो भन्दा ३–४ फुट अग्लो बनायो, नाम मात्रैको बाटो, त्यो बाध हो,’ उनले भने,‘ पहिले एक दिनमै पानी निकास हुन्थ्यो, अहिले ३–४ दिन लाग्छ।’

केसलीया खोलामा आएको बाढी ओभर फ्लो हुँदै दरैया बस्तीमा पसेको थियो । बाढी पसेपछि विस्थापित भएका स्थानीय नन्दा ऋषिदेव मिल्स माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।

उनको घर पनि नेपाल भारत सीमा नजिकै छ । भारत तर्फको सडकले पानी निकास नहुँदा घर डुबेको उनले बताए । ‘ उताको रोडले गर्दा पानी यतै आउँछ, कल्भट पनि सानो छ, त्यसमा कति पानी जान्छ र ? ’ उनले भने,‘ त्यो बाटो नभएको भए पानी जान्थ्यो, अहिले रोड अग्लो छ ।’

ऋषिदेव पहिलो पटक विस्थापित भएका होइनन् । दुई वर्षअघि पनि उनी घरबाट विस्थापित भएका थिए । ‘पहिले यहाँ (स्कुलमा ) तीन दिन बसेपछि घर फर्किएको हो,’ उनले भने,‘ आज पनि घरसम्म जाने अवस्था छैन पानी नै पानी छ ।’ घरमा बाढी पसेपछि उनी लुगाफाटो पोको पारेर स्कुलमा आएका थिए ।

नन्दासँगै गुल महम्मद मिया पनि मिल्स माबीमा आश्रय लिएर बसिरहेका छन् । केसलीया खोलाको पानी घरमा पसेपछि घर छाडेर आउनु परेको उनले बताए । यसअघि आएको बाढीले उनको गोठमा रहेका दुई वटा भैसी र तीन वटा बाख्रा बगायो ।

राजमिस्त्री काम गर्ने उनले भैसी फेरि किन्न सकेका छैनन । किनिहाले बाढीले बगाउला भन्ने पीर छ । ‘पहिले भैंसी र बाख्रा बगायो, फेरि किन्यो भने बाढीले बगाइहाल्छ, किन्नलाई महंगो पनि पर्छ,’ उनले भने,‘ बाढी आएपछि घर छाड्नुपर्छ ।’

दरैयाकी राजकुमारी पण्डित दुई नाबालक नातिनातिनासहित मिल्स माबीमा बसिरहेकी छन् । घरमा बाढी पस्न थालेपछि उनले सुत्केरी छोरी र बुहारीलाई घरबाट सुरक्षित स्थानमा पठाइन। त्यसपछि आफू पनि आइन् । ‘अहिले पनि घरमा पानी छ, पानी सुकेपछि हिलोकादो फालेर घर सफा गर्नुपर्छ,’ उनले भनिन्,‘ पहिले पनि बाहिर बस्नु पर्‍यो।’

दरैया बस्ती मात्रै होइन, विराटनगरको सीमावर्ती क्षेत्र सधै डुबानमा पर्छ । भारतले निर्माण गरिदिएको एकिकृत भन्सार जाँच परियोजना(आईसीपी), आईसीपी जोड्ने सडक, आईसीपीसँगै भारत सरकारले रेल्वे परियोजना पनि निर्माण गरिदिरहेको छ । ड्याम उठाएर बनाइएको रेल्वे परियोजनाले पानी निकास रोकेको छ । रेल्वेमा निर्माण गरिएका निकास नाला साना छन् ।

वर्षाका कारण हरेक वर्ष विराटनगरको दक्षिणी वडाहरु विराटनगर–१२, १३, १४, १५ र १६ नम्बर बढी प्रभावित भएको छ। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला विराटनगरको बजार क्षेत्रको डुबान समस्या समाधानका लागि महानगरपालिकाले काम गरिरहेको बताउँछन्।

उनका अनुसार निकास नाला निर्माण भएका कारण विराटनगर १५ मा यो वर्ष विगतको जस्तो डुबान छैन । विराटनगरको डुबान समस्या समाधानका लागि महानगर एक्लैलै नसक्ने बताउँदै उनले यसमा संघीय सरकारको पनि सहयोग चाहिने बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?