
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित तथ्यांक र प्रवृत्ति समेटिएको ‘टुरिज्म इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सुरु गरेको छ।
- ‘टुरिज्म इन्साइट्स’ले नीति निर्माता, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि तथ्यमा आधारित जानकारी उपलब्ध गराउने बोर्डका सीईओ दीपकराज जोशीले बताउनुभयो।
- पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य र दीर्घकालीन रणनीति आवश्यक रहेको बोर्डका सदस्यहरूले सुझाव दिनुभएको छ।
२७ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिज्म इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन थालेको छ ।
यो प्ल्याटफर्मले नीति निर्माता, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पुर्याउने बोर्डले जनाएको छ ।
‘पर्यटनको वर्तमान स्थिति र पुनरुत्थानका रणनीति’ विषयमा पर्यटनका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसँग आइतबार काठमाडौंमा आयोजित ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा टुरिज्म इन्साइट्स सार्वजनिक गरियो ।
बोर्डका अनुसन्धान विभाग अधिकृत कविन्द्र भट्टका अनुसार प्रकाशनमा आगन्तुक संख्या, मुख्य स्रोत बजार, क्षेत्रगत आगमन, विदेशी मुद्रा आय र प्रत्यक्ष विदेशी लगानीका तथ्यांक समेटिएका छन् ।
साथै, संयुक्त राष्ट्रसंघ पर्यटन संगठन र विश्व यात्रा तथा पर्यटन परिषद् जस्ता अन्तर्राष्ट्रिय निकायका तथ्यांक र प्रवृत्ति पनि समावेश छन् ।
कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले टुरिज्म इन्साइट्सले नेपालको पर्यटन क्षेत्रलाई दिगो विकासतर्फ लैजान आवश्यक तथ्यांक र रणनीतिक दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गरे ।
यसका साथै उनले हालको संकटपछि पर्यटन क्षेत्रको सुरक्षामा बोर्डले गरेका प्रयास र नेपाललाई सुरक्षित गन्तव्यका रूपमा विश्वसामु प्रस्तुत गर्न चालिएका कदमबारे जानकारी दिए ।
बोर्ड उपाध्यक्ष रामप्रसाद सापकोटाले निजी क्षेत्रसँगको सहकार्यमा थप समन्वय आवश्यक रहेको र सरकारलाई पर्यटनको महत्त्वबारे थप प्रष्ट पार्नुपर्ने सुझाव दिए ।
बोर्ड सदस्य ऋषि भण्डारीले विगतका सरकारले पर्यटन उत्थानका लागि केही चासो दिए पनि अहिलेको सरकारले पर्यटनलाई प्राथमिकतामा नराखेकोमा चिन्ता व्यक्त गरे ।
त्यसैगरी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टर महासचिव समेत रहेका बोर्ड सदस्य नरेन्द्र भट्टले संकटका बेला दीर्घकालीन रणनीति निर्माण गरी पर्यटन क्षेत्रलाई कमजोर हुन नदिन पहल थाल्नुपर्नेमा जोड दिए ।
त्यसैगरी बोर्ड सदस्य समेत रहेका नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमार थपलियाले भारत लगायत प्रमुख बजारमा प्रवद्र्धनका लागि बजेटमा कार्यालय खोल्ने कार्यक्रम समावेश गरिएको उल्लेख गर्दै कानुनी चुनौतीका कारण बोर्डले सबै काम प्रभावकारी गर्न नसकेको बताए ।
होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले होटल क्षेत्रको समस्या समाधान गर्न सामूहिक प्रयासको आवश्यकता औँल्याए ।
पाटा–नेपाल च्याप्टर अध्यक्ष खेम लकाई, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष सागर पाण्डे, सोट्टो अध्यक्ष मानबहादुर शाही, ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च महासचिव चोपेन्द्र खड्का, पाटा–नेपाल च्याप्टर सीईओ सुरेश बुडल, नेपाल उद्योग परिसंघ पर्यटन विभागका पम्फा धमला लगायत निजी क्षेत्रका प्रतिनिधिले नेपाललाई सुरक्षित गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा प्रवद्र्धन गर्न, विदेशी इन्फ्लुएन्सरलाई आमन्त्रण गर्न र सरकारसँग टास्क फोर्स गठन गरी संकट सामना गर्न सुझाव दिए ।
प्रतिक्रिया 4