+
+
Shares

विवादका कारण ऐतिहासिक लिगलिगे दौडले पाएन निरन्तरता

विकास मरहट्टा विकास मरहट्टा
२०८२ असोज २९ गते ६:१०
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखामा विगत दुई वर्षदेखि पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानबीच आयोजक विवादका कारण ऐतिहासिक लिगलिगे दौड हुन सकेको छैन।
  • लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो र २०६७ सालदेखि पालुङटारमा दौड प्रतियोगिता सुरु भएको हो।
  • पालुङटार नगरपालिकाले जेनजी आन्दोलनका कारण दौड नगर्ने निर्णय गरेको छ भने अभियानले चैते दशैंको अवसरमा दौड गर्ने तयारी गरिरहेको छ।

२९ असोज, गोरखा । विवादका कारण विगत दुई वर्षदेखि गोरखा जिल्लामा ऐतिहासिक लिगलिगे दौड हुन सकेको छैन । पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानबीच आयोजक बन्ने होडबाजीका कारण उत्पन्न विवादले प्रतियोगिता हुन नसकेको हो ।

नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले राजा हुने परम्पराबाट २०६७ सालदेखि पालुङटारमा दौड प्रतियोगिता सुरु भएको हो । चेपे दोभानबाट लिगलिगकोटको कालिका मन्दिरसम्म दौड हुने गर्छ । तर विवादका कारण विगत दुई वर्षदेखि दौडले निरन्तरता पाउन सकेको छैन ।

यसअघि लिगलिगकोट विकास अभियानले दशैंको फूलपातीको अघिल्लो दिन पारेर दौड प्रतियोगिता गर्दै आएको थियो । तर गत वर्ष नगरपालिका आफैंले अपनत्व लिएर दौड प्रतियोगिता गर्ने भएपछि अभियानले असन्तुष्टि जनायो ।

आफूहरुसँग सामान्य छलफल नगरी दौड आयोजना गर्न लागेको भन्दै अभियानका अध्यक्ष संजिव रानाले आपत्ति जनाए । ‘२०६७ सालदेखि मानापाथी गरेर भएपनि यत्तिका बर्ष हामीले निरन्तर दौड गर्दै आयौं,’ उनले भने, ‘तर गत वर्ष हामीसँग सामान्य छलफल पनि नगरी नगरपालिका आफैंले दौड गर्ने निर्णय गर्‍यो ।’ संरक्षकको रुपमा दौडमा सहयोग गर्न आग्रह गर्दा नगरपालिका नमानेको उनले जानकारी गराए ।

आयोजककै विषयमा विवाद चुलिदै गएपछि पालुङटार नगरपालिकाले अन्तत: दौड नगर्ने निर्णय गर्‍यो । दौड गर्ने तयारीका साथ अनुमति लिन अभियान नगरपालिको पुग्यो । तर नगरपालिकाले अनुमति नदिएको अभियानका अध्यक्ष रानाले बताए । ‘नगरपालिकाले नगर्ने भएपछि हामी गर्छौं भनेर अनुमति लिन गयौं, तर कार्यक्रम गर्न पाउँदैनस् भनेर मेयरले अनुमति नै दिनुभएन,’ उनले भने ।

वडा कार्यालयले सिफारिस गर्दा समेत अनुमति नदिएको उनले गुनासो गरे । राजनीतिक प्रतिशोधका कारण आफूहरुलाई मेयरले अनुमति नदिएको उनको आरोप छ ।

उनका अनुसार यो वर्ष असोज १२ गते प्रतियोगिता गर्ने अभियानको तयारी थियो । अनुमतिका लागि नगरपालिका जाँदा मौखिक रुपमा मेयरले कार्यक्रम नगर्न भने । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै पालिकाले एक महिना पालिकाभित्र ठूलो भेला हुने गरी कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेपछि दौड हुन सकेन ।

अभियानलाई दौड गर्न नदिन मेयरले हतारमा उक्त निर्णय गराएको रानाले आरोप लगाए । ‘दौडका लागि हाम्रो संस्थाकै नाममा यो वर्ष राष्ट्रिय खेलकुद परिषदबाट रातो कितावमै योजना समावेश गरेर दश लाख बजेट विनियोजन भएको थियो, हामीले सम्झौता पनि गरेर आइसकेका थियौं । तर नगरपालिकासँग अनुमति माग्न जाँदा कार्यक्रम नगर भन्यो,’ उनले भने ।

पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले जेनजी आन्दोलनको प्रभावका कारण कार्यक्रम नगर्ने निर्णय गरिएको बताए । गत वर्ष अभियानले अवरोध गरेका कारण दौड नगरेको उनले जानकारी दिए ।

अबका दिनमा पालिकाले अपनत्व लिएर दौड सञ्चालन गर्ने बताउँदै उनले थपे, ‘सरकारले अपनत्व लिएर दौड गर्छु भन्दा सबैले सहयोग गर्नुपर्नेमा सरकारले गर्न पाउँदैन हामीले गर्नुपर्छ भन्नु गलत हो ।’

दौड सञ्चालनका लागि आफ्नो संयोजकत्वमा पर्यटन विकास समिति पनि गठन भइसकेको उनले जानकारी दिए । विशेष कार्यक्रमसहित दौड गर्ने पालिकाको योजना छ ।

चैते दशैंको अवसरमा दौडे गर्ने तयारी

यता अभियानले चैते दशैंको अवसरमा दौड गर्ने तयारी भइरहेको जनाएको छ । इतिहाससँग जोडिएको दौड भएकाले फूलपातीको अघिल्लो दिन कार्यक्रम हुनुपर्ने भएपनि देशको राजनीतिक परिस्थितिका कारण यो वर्ष फरक समयमा दौड गर्ने तयारी गरिएको अभियानका अध्यक्ष रानाले बताए ।

तर नगर प्रमुख चिन्तनले भने अबका दिनमा उक्त कार्यक्रम संस्था विशेषले नभइ नगरपालिकाले गर्ने जिकिर गरे । ‘देशको राजनीतिक परिस्थिति हेरेर यो वर्ष कार्यक्रम गर्ने निर्णय गर्छौं,’ उनले भने ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?