+
+
Shares

ट्रम्पको दाबी : भारतले अब रूसबाट तेल किन्दैन

ट्रम्पले भनेका छन्, ‘भारतले रूसबाट तेल किन्दा म खुसी थिइनँ, तर आज मोदीजीले मलाई भारतले अब रूसबाट तेल नकिन्ने आश्वासन दिएका छन् । यो ठूलो कदम हो । अब हामीले चीनलाई पनि यस्तै गर्न लगाउनु पर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते ७:२७

३० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन् ।

बिहीबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन् । हाम्रो सम्बन्ध निकै राम्रो छ ।’

उनले थपे, ‘भारतले रूसबाट तेल किन्दा म खुसी थिइनँ, तर आज मोदीजीले मलाई भारतले अब रूसबाट तेल नकिन्ने आश्वासन दिएका छन् । यो ठूलो कदम हो । अब हामीले चीनलाई पनि यस्तै गर्न लगाउनु पर्छ ।’

अमेरिकाले अगस्ट २०२५ मा रूसबाट तेल किनेको भन्दै भारतलाई २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाइसकेको छ । यसअघि अमेरिकाले २५ प्रतिशत ‘रेसीप्रोकल’ भन्सार शुल्क लगाइसकेको थियो । यसरी भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क पुगेको छ ।

मिडियाको प्रश्नमा ट्रम्पले भने, ‘हालै अमेरिकाका नयाँ राजदूत बन्न लागेका सर्जियो गोर र मोदीबीच भेट भयो । त्यसपछि सर्जियोले मलाई भने– मोदीले ट्रम्पलाई माया गर्छन् । तर म चाहन्छु, ‘माया’ भन्ने शब्दलाई गलत अर्थ नलगाइयोस्, म कसैको राजनीतिक करियर बिगार्न चाहन्न ।’

उनले अगाडि थपे, ‘मैले वर्षौंदेखि भारतलाई हेर्दै आएको छु । त्यहाँ प्राय: हरेक वर्ष सरकार बदलिन्छ । तर मेरा साथी मोदी त्यहाँ लामो समयदेखि छन् । उनले अब भारतले रूसबाट तेल नकिन्ने आश्वासन दिए । यद्यपि यो तुरुन्तै रोकिने होइन, तर प्रक्रिया सुरु भइसकेको छ ।’

फेब्रुअरी २०२२ मा रूस–युक्रेन युद्ध सुरु भएपछि युरोपले रूसी तेलमा प्रतिबन्ध लगायो । त्यसपछि रूसले तेल बिक्री एशियातर्फ मोड्यो ।

रिपोर्टअनुसार, सन् २०२१ मा भारतले रूसी तेलको मात्र ०.२ प्रतिशत आयात गरेको थियो । तर २०२५ सम्म पुग्दा रूस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बन्यो । यो भनेको दैनिक औसत १.६७ मिलियन ब्यारेल हो, जुन भारतको कुल आवश्यकताको झण्डै ३७ प्रतिशत हुन्छ ।

भारतले रूसबाट अन्यत्रबाट भन्दा सस्तोमा तेल किन्न पाइरहेको छ । भारतीय निजी कम्पनीहरूले रूससँग दीर्घकालीन तेल सम्झौता गरेका छन् । त्यसैले यी सम्झौताहरू रातारात तोड्न सम्भव नहुने भारतीय अधिकारीहरु बताउँछन् ।

भारतले रूससहित इराक, साउदी अरब, अमेरिका लगायतका देशसँग तेल किन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?