
३० असोज, गुल्मी । गुल्मीदरबार गाउँपालिका–१, बलिथुमका युवा कृषक रुपलाल श्रेष्ठले १५ वर्षदेखि बाँझिएको जमिनमा कागती खेती गरेका छन् ।
श्रेष्ठले आफ्नै ६० रोपनी जमिनमा ८०० कागतीका बिरुवा रोपेका छन् । अघिल्लो वर्ष थोरै मात्रामा फल दिन थालेका कागतीका बिरुवाहरू यस वर्ष लटरम्म फलेको श्रेष्ठ बताए ।
उनको पुष्पाञ्जली एग्रो फर्ममार्फत गरिएको यो कृषि प्रयासले स्थानीयस्तरमा बाँझिएको जमिन प्रयोग गर्ने प्रेरणा मिलेको छ । श्रेष्ठ भन्छन्, ‘पहिला त यो जमिन जंगलजस्तै थियो, झारपातले ढाकिएको तर, म आफैंले केही गर्नुपर्छ भन्ने सोचले कागती खेती सुरु गरेँ, अहिले हेर्दा म सन्तुष्ट छु ।’
गुल्मीमा उत्पादनयोग्य जमिन बाँझिने बढ्दो क्रममा छ । श्रमशक्ति विदेशिने, आधुनिक कृषि प्रविधिको अभाव र बजारको पहुँच नहुनुजस्ता कारणले गाउँका थुप्रै जमिन वर्षौंदेखि उपयोगविहीन छन् । यस्तै अवस्थामा रहेको बलिथुमको जमिनमा श्रेष्ठले कागतीको बिरुवा रोपेर हरियाली बनाएका हुन् ।
श्रेष्ठका अनुसार कागती खेतीको सुरुवातमा थुप्रै चुनौती थिए । माटोको परीक्षण, सिँचाइ व्यवस्थापन, रोग नियन्त्रण, जनशक्ति व्यवस्थापन जस्ता धेरै समस्या थिए । तर, मिहिनेत र लगनशीलता गर्दा सबै समस्या क्रमश: समाधान हुँदै गयो ।
अहिले उनी आफ्नै फार्ममा स्थानीय जनशक्ति प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका छन् । श्रेष्ठको यो पहलले गाउँका अन्य युवालाई पनि प्रेरणा दिएको छ ।
पुष्पाञ्जली एग्रो फर्ममार्फत उनले अहिले केही स्थानीयलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । कागतीको व्यवस्थापन, टिपाइ, प्याकिङ र बजार व्यवस्थापनमा स्थानीय जनशक्तिको सक्रिय सहभागिता रहेको छ ।
श्रेष्ठले उत्पादन बढेसँगै बजार विस्तारमा भने चुनौती देखिएको छ । हाल उनी तम्घास बजारमा कागती बिक्री गर्दै आएका छन् । यसवर्ष ५ बोटले करिब १० क्विन्टल कागती उत्पादन हुँने श्रेष्ठले बताए । तर, बिक्री कहाँ गर्ने भन्ने चिन्ता उनमा छ । सानो परिमाणमा तम्घास बजारमा बिक्री भएपनि ठूलो परिमाणमा बिक्री गर्न समस्या रहेको श्रेष्ठको भनाइ छ ।
रुपलाल श्रेष्ठको कागती खेतीको यो कथा एक उदाहरणीय सफलता हो । जसले बाँझिएको जमिन प्रयोग गरेर आत्मनिर्भरता, रोजगारी सिर्जना, र ग्रामीण समृद्धिको दिशामा पाइला चाल्न सकिने सम्भावनालाई उजागर गरेको छ ।
प्रतिक्रिया 4