काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले आफ्नो जर्सी कर्णालीका पाटनमा सार्वजनिक गर्ने भएको छ ।
जाजरकोट र जुम्लाको सीमा क्षेत्रको कुशेपाटनमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल नदाइ डावबाट पनि जर्सी सार्वजनिक गर्न लागिएको हो । यसले नदाइ डावको प्रचार हुनुका साथै कर्णाली याक्सप्रति स्थानीयको अपनत्व हुने विश्वास गरिएको छ ।
जर्सी सार्वजनिक गर्ने तयारी गरिएको नदाइ डावको उचाइ ४ हजार मिटरभन्दा माथि छ । यो क्षेत्रमा अहिले अत्यधिक हिमपात भइरहेको छ । त्यसैले जर्सी सार्वजनिक मिति भने मौसम हेरेर तय गरिने बताइएको छ ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा विदेशी खेलाडीहरु अष्ट्रेलियाका अलराउण्डर विलियम बसिस्टो, नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ’डाउड, स्कटल्याण्डका अलराउण्डर मार्क वाट अनुबन्ध भएका छन् ।
कप्तान सोमपालसहित नेपाली खेलाडीहरु गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री रहेका छन् ।
प्रतिक्रिया 4