+
+
Shares

जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति लागुऔषध सहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १५:०८

१६ कात्तिक, सुर्खेत । जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल कारागार काठमाडौंबाट फरार भएका एक कैदी सुर्खेतमा लागुऔषध सहित पक्राउ परेका छन् ।

गत २४ भदौमा कारागारबाट फरार भएका ३० वर्षीय नरेन्द्र ठाडा शनिबार वीरेन्द्रनगर नगरपालिका–७ बाट पक्राउ परेका हुन् ।

उनलाई लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी महोनजंग बुढथापाले जानकारी दिए । प्रहरीले उनीमाथि मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर–७ कै स्थानीय ठाडा लागुधौष मुद्दाका फरार कैदी बन्दी हुन् । उनी जगन्नाथदेवल कारागार काठमाण्डौंमा लागुऔषध मुद्दामा कैद भुक्तान गरी रहेका प्रतिवादी थिए । गत २४ भदौको जेनजी आन्दोलनको क्रममा फरार भएको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीले फरार कैदी ठाडासहित अन्य पाँच जनालाई छुट्टाछुट्टै घटनामा पक्राउ गरेको छ । सोही दिन ठाडासँगै लागुधौष कारोबारमा संलग्न वीरेन्द्रनगर–८ की १९ वर्षीया ललिता तामाङ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीले शनिबार राति पनि लागुऔषध ब्राउनसुगरसहित थप तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुनामा चेक पोस्टबाट तीन जना युवालाई ब्राउनसुगरसहित पक्राउ गरिएको डीएसपी बुढथापाले जानकारी दिए ।

उनका अनुसार प्रहरीले गोप्य सूचनाका आधारमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ ज.०७०९ नम्बरको ईभी गाडी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको थियो । गाडीमा सवार वीरेन्द्रनगर–११ का १८ वर्षीय विशाल ठाडा मगर, वीरेन्द्रनगर–१२ का २२ वर्षीय राजु सुनार र वीरेन्द्रनगर–७ का १८ वर्षीय रमेश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूबाट २ ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ । दुवै घटनामा पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप गरी मुद्दा चलाइएको सुर्खेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?