+
+
Shares

मध्यमार्ग स्वीकार्दै रिलायन्स स्पिनिङले विद्युत् प्राधिकरणलाई बुझायो धरौटी

बन्दको नकारात्मक प्रभाव अन्तर्राष्ट्रिय बजारसम्म फैलिने जोखिमले बाध्य भयौं : रिलायन्स

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिलायन्स स्पिनिङ मिल्सले विवादित डेडिकेटेड ट्रंकलाइन महसुलको धरौटी रकम २ करोड ७५ लाख रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ।
  • सरकार र नेपाल उद्योग वाणिज्य महासंघले सुझाएको मध्यमार्ग अनुसार धरौटी रकम बुझाएर विद्युत आपूर्ति अवरुद्धको समस्या समाधान गर्ने सहमति भएको छ।
  • रिलायन्सले वार्षिक ५० हजार १६३ टन धागो उत्पादन गर्दै आएको र गत वर्ष धागो व्यापार १० अर्ब २३ करोड रुपैयाँ पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।

२० कात्तिक, काठमाडौं । सरकार र नेपाल उद्योग वाणिज्य महासंघले सुझाएको मध्यमार्गलाई स्वीकार्दै रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई विवादित डेडिकेटेड ट्रंकलाइन महसुलको धरौटी रकम बुझाएको छ ।

कम्पनीले बिहीबार २ करोड ७५ लाख रुपैयाँ धरौटीबापत जम्मा गरेको छ । धरौटी बुझाएसँगै प्राधिकरणलाई पठाएको पत्रमा यसअघि प्रशासकीय पुनरावलोकन दर्ता गर्दा विवादित रकमको ५ प्रतिशत बराबरको बैंक जमानत बुझाइएको उल्लेख छ । थप धरौटी रकम बाध्यात्मक परिस्थितिमा बुझाइएको कम्पनीले जनाएको छ ।

‘हाल बुझाइएको रकम सोहीमा थप धरौटीका रूपमा मानिनेछ,’ रिलायन्सको पत्रमा भनिएको छ, ‘डेडिकेटेड लाइनसम्बन्धी विवादमा प्रचलित कानुन बमोजिम प्राधिकरणविरुद्ध उच्च अदालत पाटन, प्रशासकीय पुनरावलोकन समिति तथा अन्य सम्बन्धित नियमनकारी निकाय, न्यायिक/अर्ध–न्यायिक निकायहरूमा कानूनी कारबाही अघि बढाउने अधिकार कम्पनीलाई यथावत रहनेछ ।’

रिलायन्सले विवादित अवधि २०७२ माघ देखि २०७५ वैशाखसम्म डेडिकेटेड लाइनबाट निरन्तर तथा निर्वाध रुपमा विद्युत् आपूर्ति प्राप्त नगरेको र नियमित लोडसेडिङ तालिकाभित्रै रहेको हुँदा बक्यौता रकम बुझाउनुपर्ने कुनै दायित्व नरहेको भन्दै जेठ २६ गते प्राधिकरणको प्रशासकीय पुनरावलोकन समितिसमक्ष निवेदन दिएको थियो ।

विवादको निरुपण नहुँदै प्राधिकरणले पुनरावलोकनसम्बन्धी सम्पूर्ण प्रक्रिया रद्द गरेपछि कानुनी उपचार खोज्ने मार्ग अवरुद्ध भई गम्भीर अन्याय भएको भन्दै कात्तिक २ गते उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेको थियो ।

तर पछिल्लो समय विद्युत आपूर्ति अवरुद्धका कारण उद्योग सञ्चालनमा अवरोध हुँदा आर्थिक क्षतिका साथै हजारौं श्रमिक रोजगारीबिहीन हुने जोखिमका कारण मध्यमार्गलाई स्वीकारिएको रिलायन्सको भनाइ छ ।

कम्पनीका कर्पोरेट अफेयर्स तथा कम्युनिकेसन प्रमुख ज्योति गैरेले उद्योग बन्द हुँदाको क्षतिलाई मध्यनजर गर्दै सरकारको विश्वासमा धरौटी रकम बुझाइएको बताइन् ।

‘निर्यातमूलक उद्योग भएकाले बन्दको नकारात्मक प्रभाव अन्तर्राष्ट्रिय बजारसम्म फैलिने र स्वदेशमा समेत उद्योगमा आश्रित हजारौं श्रमिको रोजगारी खोसिने जोखिम बढेर गयो,’ उनले भनिन्, ‘यहीबीच सरकार र उद्योग वाणिज्य महासंघले मध्यमार्ग सुझाएपछि तत्कालको लागि धरौटी रकम बुझाउन सहमत भएका हौं ।’

प्राधिकरणले कात्तिक ४ मा रिलायन्ससहित उद्योगहरूको लाइन काट्न सुरु गरेको थियो । विवाद बढ्दै जाँदा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सोमबार भएको छलफलमा डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव अघि सारिएको थियो ।

उक्त छलफलमा उद्योगीहरूले विद्युत प्राधिकरणले यसअघि किस्ताबन्दी प्रणालीअनुसार बुझाउन भनेको रकमको २८ किस्तामध्येको एक किस्ताबराबरको रकम ‘किस्ता’ नभई ‘विवादित रकम’ मान्दै धरौटीका रूपमा बुझाउने र तत्काल विद्युत् लाइन जडान गरिने त्यसपछि पुनरावलोकन, पुनरावेदनसहित न्यायिक प्रक्रियामा अगाडि जान पाइने सहमति भएको थियो ।

सोही सहमतिअनुसार धरौटी रकम जम्मा गरिएको रिलायन्सको भनाइ छ । २०५४ सालमा स्थापित रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रतिष्ठत व्यापारिक घराना गोल्यान समूहको अभिन्न अंगको रुपमा रहेको छ ।

उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । कम्पनीको सुनसरीस्थित खनार र दुहबीमा दुई उत्पादन इकाइ छन् । उद्योगको धागो उत्पादन क्षमता वार्षिक ५० हजार १६३ टन छ । एक वर्ष अवधिमा रिलायन्सको धागो व्यापार एक अर्ब तीन करोड रुपैयाँ बढेको रेटिङका लागि सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । रिलायन्सले पछिल्लो वर्ष १० अर्ब २३ करोड ९ लाख रुपैयाँ बराबरको धागो व्यापार गरेको छ ।

उद्योगले धागो व्यापारमा नयाँ रेकर्ड कायम राखेको छ । एक वर्षमा उद्योगको धागो बिक्री बढेर ३५ हजार ३६९ टन पुगेको छ । गत वर्ष ३२ हजार ६६७ टन थियो ।

रिलायन्सको धागो बिक्री एक वर्षमा २७ सय टन बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । धागोको औसत मूल्य प्राप्ति प्रतिकिलो २६५ बाट बढेर २७२ रुपैयाँ पुगेकाले पनि उद्योगको आम्दानी बढेको देखिन्छ । यसबीचमा उद्योगको क्षमता उपयोग बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?