+
+
Shares

होटलमा बढे पाहुना, ‘अकुपेन्सी’ उल्लेख्य सुधार

विदेशी पर्यटकका साथै आन्तरिक पर्यटक आगमन समेत बढ्दा होटल, रेस्टुरेन्ट र ट्रेकिङ व्यवसायमा पाहुना बढेको अध्ययनले देखाएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ कात्तिक २६ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन अनुसार बागमती प्रदेशका होटलमा २०८१/८२ मा अकुपेन्सी दर ५७ प्रतिशत पुगेको छ।
  • २०८१/८२ को पहिलो त्रैमासिकमा सेवा क्षेत्रमा सुधार हुँदै पर्यटकीय आय र अर्थतन्त्र चलायमान हुने राष्ट्र बैंकले अनुमान गरेको छ।
  • सन् २०२५ को १० महिनामा नेपालमा ९ लाख ४३ हजार ७ सय १६ पर्यटक आएका छन्, जसमा भारतबाट सबैभन्दा बढी २ लाख ४३ हजार ३ सय ५० पर्यटक आएका छन्।

२६ कात्तिक, काठमाडौं । नेपालको आतिथ्य सेवामा सबैभन्दा बढी लगानी भएको बागमती प्रदेशमा सञ्चालित होटलमा पाहुना आगमन बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ अनुसार बागमतीमा होटलको कोठा भराइ दर (अकुपेन्सी) औसत ५७ प्रतिशत पुगेको छ । अघिल्लो आव २०८०/८१ मा अकुपेन्सी ५१.९ प्रतिशत थियो ।

विदेशी पर्यटकका साथै आन्तरिक पर्यटक आगमन समेत बढ्दा होटल, रेस्टुरेन्ट र ट्रेकिङ व्यवसायमा पाहुना बढेको अध्ययनले देखाएको छ ।

तथ्यांक अनुसार सबैभन्दा उच्च अकुपेन्सी कात्तिकमा ६७.८ प्रतिशतसम्म पुगेको थियो । सबैभन्दा कम अकुपेन्सी दर भने माघमा ४४.७ प्रतिशत कायम भएको देखिएको छ । साउनमा ४७.६ प्रतिशत, भदौ ५९.७, असोज ५९.२, मंसिर ६३.७, पुस ५६.६, फागुन ६०.५, चैत ६३.६, वैशाख ५६.८, जेठ ५४.५ र असारमा ४९.२ प्रतिशत अकुपेन्सी दर रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाह यस वर्ष पनि कात्तिकमा अकुपेन्सी दर उत्साहजनक नै देखिने बताउँछन् । यद्दपि, यस्तो ट्रेन्ड निरन्तर रहने वातावरण भने नरहेको उनको भनाइ छ ।

पदयात्रामा आउने पर्यटक यो सिजनमा बढी आउँछन् । यस्ता पर्यटक काठमाडौंको तुलनामा पोखरा, मनाङ, मुस्ताङ, चितवन वा लुक्ला जाने गर्छन् । सोहीकारण मोफसलका होटल भरिभराउ हुन्छन् ।

‘मुस्ताङमा कतिपय होटलले बुकिङ गरी नआउनुसम्म भन्नुपर्ने अवस्था आयो,’ उनी भन्छन्, ‘आन्तरिक र वाह्य पर्यटक एकसाथ घुमफिरमा निस्किँदा यो समय होटलमा अकुपेन्सी सुधार हुनु स्वभाविक हो ।’

दुई पाँचतारे होटल बन्द हुँदा अन्यमा चाप   

जेनजी आन्दोलनपछि काठमाडौंमा दुई पाँचतारे होटलका सेवा बन्द भयो । यसको प्रभावले अन्य पाँचतारेमामा व्यापार बढाएको छ ।

शाहका अनुसार अहिले ठूला होटलको व्यापार सन्तोषजनक छ । त्यसमा पनि हिल्टन र ह्यात बन्द हुँदा ती होटलको व्यापार अन्य होटलमा बाँडिएको छ । यसले गर्दा सबैजसो पाँचतारे होटलमा चाप देखिएको उनले बताए । ‘बिजनेस रिप्लेसमेन्ट भएको छ,’ उनी भन्छन्, ‘स्वाभाविक रूपमा केही चाप त परिहाल्छ ।’

यसबाहेक थप दुई पाँचतारे होटल सांग्रिला र अन्नपूर्ण समेत अहिले सञ्चालनमा छैनन् । जसले गर्दा नयाँ खुलेका ठूला होटलले अहिले राम्रो अकुपेन्सीमा व्यापार गरिरहेका छन् ।

चितवन र पोखराका होटलमा सार्वजनिक बिदाको दिन होटलले राम्रो बिजनेस पाएका छन् । यहाँ आन्तरिक र भारतीय पर्यटक समेत पर्याप्त छन् । तराईका होटलमा समेत भारतीय पर्यटक आगमन सन्तोषजनक छ ।

अझै विस्तार हुने अनुमान

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवस्था समेत विश्लेषण गर्दै यस वर्ष सेवा क्षेत्रमा अझ सुधार हुने अपेक्षा छ ।

राष्ट्र बैंकका अनुसार जेनजी आन्दोलनपछि भदौमा विदेशी पर्यटक आगमन न्यून भए पनि त्यसपछिका महिनामा सुधार हुँदै गएको छ । यसले पर्यटकीय आयमा वृद्धि हुने भएको छ । साथै, अर्थतन्त्र समेत चलायमान बनाउने अनुमान गरिएको छ ।

यस अवधिमा क्षतिको पुनर्निर्माणले गति लिने तथा निर्वाचनका कारण यातायात, होटल तथा रेस्टुरेन्ट व्यवसाय विस्तार भई आयात बढ्न सघाउ पुग्ने अनुमान छ ।

तथ्यांक के भन्छ ?

पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर (२०२५) मा मात्र १ लाख २८ हजार ४ सय ४३  पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो  वर्ष सोही महिनाको तुलनामा ३.३ प्रतिशत धेरै हो । यस महिना अमेरिकी र युरोपेली पर्यटक आगमन उल्लेख्य देखिएको छ । पहिलो नम्बरमा भारतीय देखिए पनि आगमन वृद्धिदरमा अन्य देश अगाडि छन् ।

भारतबाट अक्टोबरमा १७ हजार २ सय ९८, अमेरिकाबाट १३ हजार २ सय ८६, बेलायतबाट ८ हजार ७ सय १८, चीनबाट ६ हजार ७ सय ५५ र जर्मनीबाट ६ हजार ३ सय ६६ पर्यटक नेपाल आएका छन् ।

पर्यटक आगमनको अवस्था हेर्दा कुल पर्यटकमध्ये युरोपेली पर्यटकको हिस्सा ३१.६ प्रतिशत छ । युरोपेली देशबाट ४० हजार ६ सय जना आएका छन् । दक्षिण एसियाली देश (सार्क) बाट २२.६ प्रतिशत आएका छन् ।

भारत सहित यी देशबाट २९ हजार ६० जना पर्यटक नेपाल आएको देखिन्छ । अन्य एसियाली देशबाट २३ हजार १ सय २७ पर्यटक आएका आएका छन् । अमेरिकी देशबाट १६ हजार ४ सय ७ र ओसियाना क्षेत्रबाट ६ हजार ८ सय १४ पर्यटक आएको देखिन्छ ।

त्यस्तै मध्यपूर्वबाट ३ हजार ५ सय ४८ पर्यटक आएका छन् । अफ्रिकाबाट ४ सय ४३ र अन्य क्षेत्रबाट ८ हजार ४ सय ४४ पर्यटक नेपाल भित्रिएका छन् ।

जारी शरद ऋतुमा १ सय ७५ टोलीका १ हजार ४ सय ५० आरोहीले अनुमति लिएका थिए । जसबाट सरकारले २५ करोड ५१ लाख रोयल्टी संकलन गरिसकेको छ ।

१० महिनामा ९ लाख ४३ हजार ७ सय १६ पर्यटक

सन् २०२५ को १० महिनामा कुल ९ लाख ४३ हजार ७ सय १६  पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो वर्षको यसै अवधिको तुलनामा सामान्य अंकले धेरै हो । १० महिनामा पर्यटक आगमन दृष्टिले पहिलो नम्बरमा भारत छ । भातरबाट २ लाख ४३ हजार ३ सय ५० जना आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । १० महिनामा ९३ हजार ९ सय ८५ अमेरिकी नेपाल भ्रमणमा आएका छन् ।

तेस्रो स्थानमा चीन छ । चीनबाट ७८ हजार ९ सय २९ जना आएका छन् । बेलायतबाट ४७ हजार २ सय ६१, बंगलादेश ४५ हजार २ सय ८७, अस्ट्रेलियाबाट ३८ हजार ९ सय ८४, श्रीलंकाबाट ३२ हजार १ सय ३७, जर्मनीबाट २४ हजार ८ सय ४१, थाइल्यान्डबाट २२ हजार २ सय ६१ र दक्षिण कोरियाबाट १९ हजार ३ सय २९ जना आएको बोर्डको तथ्यांक छ ।

यस वर्ष १० महिनामा कुल पर्यटकमध्ये दक्षिण एसियाबाट ३५.८ प्रतिशत (३ लाख ३७ हजार ५ सय ११) पर्यटक आएका छन् । एसियाका अन्य देशबाट २०.९ प्रतिशत (१ लाख ९७ हजार २ सय ९६) पर्यटक आएको देखिन्छ ।

त्यस्तै युरोपेली देशबाट १९.१ प्रतिशत (१ लाख ८० हजार १ सय ४५), अमेरिकी देशबाट १२ प्रतिशत (१ लाख १३ हजार ४ सय ५९), ओसियन क्षेत्रका देशबाट ४.४ प्रतिशत (४१ हजार ९ सय २), अफ्रिकी देशबाट ०.४ प्रतिशत (३ हजार ४ सय ७९) र अन्य क्षेत्रबाट ५.५ प्रतिशत (५१ हजार ५ सय १४) पर्यटक आएको बोर्डको तथ्यांक छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?