२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।
पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले अनलाइनखबरसँग बताए ।
उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए ।
उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।
निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको भन्दै उनले त्यसलाई आफ्नो कमजोरकोरूपमा लिएको बताएका छन् । साथै नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा पनि आफू दु:खी रहेको उनले बताएका छन् ।
‘बद्लिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैका मिति कात्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु,’ परियारले राजीनामा पत्रमा भनेका छन् ।
‘भदौ २३ र २४ गते जेनजी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ, यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीतिक अगाडि जान नसक्ने र नयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ,’ परियारले पार्टीमा बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।
परियारको पृष्ठभूमि कम्युनिस्ट भएको हुँदा उनी जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमी लगायतसँग संवादमा रहेको रास्वपा स्रोतले अनलाइनखबरलाई बतायो ।
यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् । रास्वपा छोडेको जानकारी दिँदै श्रेष्ठले भनेकी थिइन्, ‘अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’
प्रतिक्रिया 4