२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने भएका छन् ।
७ मंसिरमा बृहत एकता घोषणा गर्ने सहमति नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र परियारले गरेका छन् ।
शुक्रबार सार्वजनिक सहमति पत्र अनुसार एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने सहमति छ ।
देश तथा विदेशमा बस्ने प्रगतिशील लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन समेत उनीहरूले आह्वान गरेका छन् ।
भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवालाई हातेमालो गर्न समेत उनीहरूले अपिल गरेका छन् ।
देशको गम्भीर अर्थ राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ सहमति भएको जनाइएको छ ।
हेर्नुहोस् सहमति पत्र :

प्रतिक्रिया 4