+
+
Shares

कांग्रेस संस्थापनको रणनीति : सहमति भए- चुनावपछि महाधिवेशन, नभए- भोटिङ

शनिबारको भेलाले गरेको निष्कर्ष सुनाउँदै संस्थापनपक्षीय एक केन्द्रीय सदस्यले सुनाए, ‘सहमतिमै चुनावपछि महाधिवेशन गर्ने गरी कार्यतालिका आओस् । नभए मतदानको माध्यमबाट टुंगो लगाउने प्रयास गरौं ।’

केशव सावद केशव सावद
२०८२ कात्तिक २९ गते २०:०२

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशनको मिति तोक्ने विषयमा सहमति नजुटे बहुमतबाटै निर्णय लिने रणनीति बनाएको छ ।

पार्टीको १५ औं महाधिवशेन २१ फागुनको निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने रस्साकस्सी चलिरहेका बेला शनिबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय भेलाले इतर समूह सहमतिमा नआए बहुमतबाट निर्णय गर्ने रणनीति बनाएको हो ।

शीर्ष नेताहरू, पदाधिकारी र केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति गरी ७० जनाको उपस्थिति रहेको भेलाका सहभागीहरू इतर समूह सहमतिमा नआए बहुमतबाट निर्वाचनपछि महाधिवेशनको निर्णय गर्नुपर्ने निष्कर्षमा पुगिएको संस्थापन पक्षीय नेताहरूको भनाइ छ ।

भेलामा सहभागी एक पूर्वपदाधिकारीले भने, ‘सकेसम्म सहमतिमा नै चुनाव पछि महाधिवेशन गर्ने गरी कार्यतालिका आओस् भन्ने हो । सहमतिमा नआए बहुमतको आधारमा महाधिवेशन मिति निर्धारण गर्नुपर्ने पक्षमा छौं ।’

१४ औं महाधिवेशनबाट पहिलोपटक केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित एक केन्द्रीय सदस्यले पनि आगामी निर्वाचनपछि महाधिवेशन गर्ने विषयमा सहमति नभए केन्द्रीय समिति बैठकमा मतदानको माध्यमबाट टुंगो लगाइने बताए ।

‘उत्तम विकल्प भनेको सहमति नै हो । सहमतिमै चुनावपछि महाधिवेशन गर्ने गरी कार्यतालिका आओस्,’ उनले भने, ‘नभए मतदानको माध्यमबाट टुंगो लगाउने प्रयास गरौं भन्ने निष्कर्ष भेलाले गरेको छ ।’

अर्का मनोनीत केन्द्रीय सदस्यले पनि भेलाले सहमति मै निर्वाचनपछि महाधिवशेन गर्ने गरी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नुपर्ने पक्षमा भए पनि सहमति नभए मतदानका माध्यमबाट निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए । ‘चुनावपछि अधिवेशनको कार्यतालिका सहमतिमै आओस् । सहमति नभए भेटिङबाट टुंगो लगाउने निष्कर्ष हामीले निकल्यौं,’ उनले भने ।

नयाँ बानेश्वरको आनन्दभूमि इभेन्ट्समा शनिबार आयोजित भेलामा पूर्वपदाधिकारीहरू बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्रीहरू महेन्द्र यादव र उमाकान्त चौधरी उपस्थिति थिए ।

भेलामा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी साउद, गोविन्द भट्टराई, शिवप्रसाद हुमागाईं, सुशीला थिङ, गोविन्द शाह, कल्याणकुमार गुरूङ, जीतजंग बस्नेत, कुन्दनराज काफ्ले, लक्ष्मी खतिवडा, रंगमती शाही, विद्या तिमिल्सिना, कान्तिका सैजुवालको उपस्थिति थियो ।

यस्तै केन्द्रीय सदस्य डा. रणबहादुर रावल, प्रदीप सुनुवार, जीवन राना, सुशीला मिश्र भट्ट, सीतादेवी देवकोटा, सीताकुमारी राना, जावेदा खातुन जागा, कल्याणी रिजाल, उर्मिला थपलिया, रूपा विकलगायत ७० जना भेलामा सहभागी थिए ।

वैशाख या जेठको महाधिवेशनको मिति आउँछ । मूल कुरा निर्वाचनपछिको कार्यतालिका आउँछ- पूर्वउपसभापति बिमलेन्द्र निधि

भेलामा नेता निधिले देश र लोकतन्त्रको वृहत्तर हितका लागि संसद् पुनर्स्थापनालाई थाती राखेर निर्वाचनमा जाने तयारी गर्नुपर्ने बताए । केन्द्रीय कार्यसमिति बैठकबाट आगामी निर्वाचनपछि महाधिवशेन गर्ने गरी कार्यतालिका आउने उनको भनाइ थियो ।

‘वैशाख या जेठको महाधिवेशनको मिति आउँछ । मूल कुरा निर्वाचनपछिको कार्यतालिका आउँछ,’ पूर्वउपसभापति निधिको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

पूर्वमहामन्त्री सिटौला विधि, विधान र प्रक्रिया पुर्‍याएर नियमित महाधिवेशन हुनुपर्ने बताए । महामन्त्रीहरूले देशभरिका कार्यकर्तालाई एकताको सन्देश दिनुपर्नेमा विशेष महाधिवेशनका लागि हस्ताक्षर बटुल्न लगाएको भन्दै उनले असन्तुष्टि जनाए ।

सिटौलाले विगतमा पनि नेताहरूका बीचमा अन्तरविरोध भए पनि अहिलेको जसरी एकले अर्कोलाई सिध्याउने चलन नरहेको स्मरण भेलामा गरे । ‘नेताहरूका बीचमा अन्तरविरोध पहिलो पनि थियो । तर, यसरी एकले अर्कालाई सिध्याउने खेलमा लाग्ने चलन थिएन,’ एक केन्द्रीय सदस्यका अनुसार उनले भेलामा गुनासो गरे ।

सहमहामन्त्री महेन्द्र यादवले आगामी मंसिरमा तहगत महाधिवेशन सुरू गरेर विशेष महाधिवेशनलाई खारेज गर्नुपर्ने बताए । संस्थापन पक्षमा रहेका नेताहरूलाई सँगै राखेर अरू नेताहरूलाई पनि जोड्दै जानुपर्ने उनको धारणा थियो ।

अर्का सहमहामन्त्री उमाकान्त चौधरीले आफूमात्रै सर्वेसर्वा भन्ने भावनाबाट ग्रसित भएर पार्टीमा सबै नेताहरूको मानमर्दनको प्रयास भएको आरोप लगाए । सहमहामन्त्री यादवद्वारा १८ पुसमा प्रस्तावित महाधिवेशनको कार्यतालिका कार्यवाहक सभापतिसहित सबै संस्थापन पक्षीय नेताहरूको कार्यतालिका भएको पनि बताए ।

चौधरीले विशेष महाधिवेशनको त्रास देखाएर संस्थापन समूहलाई भाँड्ने प्रयास गर्नेहरूको पहिचान गर्नुपर्ने पनि बताए । उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरको सनाखत गरिनुपर्ने पनि बताए ।

‘सनाखत गरौं । महाधिवेशन प्रतिनिधि निर्वाचित भएको कार्ड र परिचय पत्रसहितको अवस्थामा सशरीर उपस्थित भएर गरौं,’ चौधरीले भेलामा भने, ‘विधि प्रक्रिया पूरा गरेर क्रियाशील वितरण गरौं । छानबिन समिति बोल्ड मान्छेको संयोजकत्वमा गठन गरौं । पार्टी र लोकतन्त्र संकटमा छ यसलाई जोगाउन लाग्नु पर्छ ।’

प्रवक्ता डा. प्रकाशशरण महत विधि, विधानविपरीत पार्टीलाई लिएर जान दिन नसकिने बताए । उनले पूर्वपदाधिकारीलाई फाल्न सके सबै ठीक हुन्छ भन्ने भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए ।

‘जेनजी विद्रोह स्थापित पार्टीहरूका विरूद्धमा हो । आफूलाई पार्टीमा स्थापित गराउन पुराना नेताहरूलाई फालेपछि सबै ठीक हुन्छ, हामी त जेनजी नै हौं भन्ने भाष्य निर्माण गरेका छन्,’ महामन्त्रीहरूप्रति लक्षित गर्दै प्रवक्ता महतले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘विधि, विधानविपरीत पार्टीलाई लिएर जान दिन सकिँदैन ।’

पूर्वपदाधिकारी प्रकाशमान सिंहले प्रजातन्त्र र राष्ट्रियता जोगाउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । २१ फागुनका लागि प्रस्ताव गरिएको निर्वाचनको तयारीमा पार्टीका सबै अवयवहरूलाई परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।

‘विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन सुनिश्चित गर्नु पर्छ,’ नेता सिंहले भेलामा भने, ‘फास्ट ट्रयाकका नाममा विधि र प्रक्रिया मिच्न पाइँदैन ।’

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशन निर्वाचन अगाडि गर्दा अपेक्षित परिणाम आउन नसक्ने बताए । उनले विशेष महाधिवेशनमा प्रवेश गरिए पार्टी एक नरहन सक्ने चिन्ता पनि प्रकट गरे ।

‘हामी ८२ प्रतिशत थियौं । आज किन कम छौं । हाम्रो बीचमा विश्वसनीयता पैदा गर्ने र एकअर्कालाई जोड्ने प्रयास गरौं,’ नेता कार्कीले भने, ‘विशेष महाधिवेशनमा प्रवेश गर्‍यौं भने पार्टी एक नरहन सक्छ ।’

केन्द्रीय सदस्य एनपी साउदले चुनावको एजेन्डा बोकेर महाधिवेशनलाई पछाडि धकेलेर अगाडि बढ्नुपर्ने बताए । विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएको पक्षलाई माग फिर्ता लिन आग्रह गर्नुपर्ने उनको भनाइ थियो ।

‘चुनावको एजेन्डा बोकेर र महाधिवेशनलाई पछाडि सारेर अगाडि जानु पर्छ,’ साउदको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने, ‘विशेष महाधिवेशन पक्षधर साथीहरूलाई हात जोडेर प्रस्ताव विनम्रतापूर्वक फिर्ता लिन अनुरोध गरौं ।’

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित सबैको बृहत एकतामा निर्वाचन पछाडि महाधिवेशन गर्ने गरी तयारीमा लाग्नुपर्ने उनको भनाइ थियो । ‘हामीसँग रहेका सबै साथीहरूलाई पर धकेल्ने होइन, साथै लिएर हिँडौं,’ नेता साउदले भने ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रजातन्त्र र संविधानलाई सही ठाउँमा ल्याउनका लागि संसद् पुनर्स्थापना र चुनावमध्ये कुनै एकमा कांग्रेस जानुपर्ने धारणा राखे । देशको संकटबारे पार्टीको स्पष्ट दृष्टिकोण आउनुपर्ने उनको भनाइ थियो ।

विशेष महाधिवेशनको प्रस्ताव किन दर्ता भयो ? सनाखतको प्रक्रिया पूरा नगरी किन दर्ता गर्न दिनुभयो ?- गोविन्दबहादुर शाह

‘हामी प्रजातन्त्रमा विश्वास गर्छौंं । त्यसैले प्रजातन्त्र र संविधानलाई सही ठाउँमा जानलाई या त संसद् पुनर्स्थापना या त चुनावमा जानु पर्छ । देशको संकटबारे पार्टीको स्पष्ट दृष्टिकोण आउनुपर्छ,’ नेता भट्टराईको भनाइ थियो ।

केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले विशेष महाधिवेशनको प्रस्ताव दर्ता हुनुको कारणबारे प्रश्न गरे । उनले संस्थापन पक्षबाट वार्ताका लागि जानेहरूले स्पष्टसँग कुरा राख्नुपर्नेमा जोड दिए ।

‘विशेष महाधिवेशनको प्रस्ताव किन दर्ता भयो ? सनाखतको प्रक्रिया पूरा नगरी किन दर्ता गर्न दिनुभयो ?,’ शाहले प्रश्न गर्दै भने, ‘हाम्रो तर्फबाट वार्तामा बस्नेहरूले के वार्ता गरेर आउनुहुन्छ ? हाम्रो कुरा स्पष्ट राख्नुपर्‍यो ।’

आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले मिडिया र गैरसरकारी संस्था सबै कब्जामा रहेको आशंका गर्दै फेरि अर्को ठूलो दुर्घटना हुन सक्ने सम्भावनालाई नकार्न नसकिने बताए ।

‘मिडिया र गैरसरकारी संस्था सबै कब्जामा छन् । त्यसको कारणबाट अर्को ठूलो दुर्घटना हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन,’ उनले भेलामा भने, ‘यसप्रति सचेत रहन आग्रह गर्छु ।’

कांग्रेस पार्टीमा बहुमतको निर्णय गर्‍यो भने विग्रह र विखण्डन हुन्छ । महाधिवेशनको तयारी भोलिबाट नै सुरू गरौं । जहाँसम्म पुग्छ अगाडि लिएर जाऔं-उमेशजंग रायमाझी

केन्द्रीय सदस्य गुरू बरालले महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्ने उत्तम विकल्प सहमति नै भएको बताए । उनले संस्थापक्ष पक्षीय नेताहरू एक साथमा छन् भन्ने सन्देश दिन शीर्ष नेतासहितको भेला बोलाइएको बताए ।

केन्द्रीय सदस्य शिव हुमागाईंले नियमित महाधिवेशन पक्षधरहरूको दबाब कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिए । ‘मुलुक संकटमा छ । त्यो संकटबाट पार पाउन हामी सबै एक भएर जानुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तर, यो क्रममा महामन्त्रीहरूको भूमिका सही देखिएन ।’

अर्का केन्द्रीय सदस्य उमेशजंग रायमाझीले केन्द्रीय कार्यसमितिले सहमतिमै निर्णय गर्नुपर्नेमा जोड दिए । बहुमतबाट निर्णय गरिए पार्टीमा विग्रह आउनेतर्फ उनले सचेत गराए ।

‘कांग्रेस पार्टीमा बहुमतको निर्णय गर्‍यो भने विग्रह र विखण्डन हुन्छ,’ नेता रायमाझीले भने, ‘महाधिवेशनको तयारी भोलिबाट नै सुरू गरौं । जहाँसम्म पुग्छ अगाडि लिएर जाऔं ।’

भेलामा सहभागी कांग्रेसको कर्णाली प्रदेश कार्यसमिति सभापति ललितजंग शाहीले संसद् पुनस्थापनाका पछि नलागेर निर्वाचनमा जानुपर्नेमा जोड दिए । सर्वसम्मत ढंगले २१ फागुनको निर्वाचन पछाडि आयोजना गर्ने गरी महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने उनको भनाइ थियो ।

‘प्रतिनिधिसभा पुर्स्थापनामा नलागी निर्वाचनमा जाने तयारी गरौं,’ कांग्रेस कर्णालीका सभापति शाहीले भने, ‘सर्वसम्मत ढंगले निर्वाचन पछाडिको कार्यतालिका सार्वजनिक गरौं ।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?