News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको आधिकारिकतालाई लिएर गगन थापा र विश्वप्रकाश समूहले नयाँ पदाधिकारी चयन गरी निर्वाचन आयोगमा कागजात पेस गर्ने तयारी गरेका छन्।
- विशेष महाधिवेशनले बुधबार राति गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो, जसलाई देउवा पक्षधरले मान्यता दिएका छैनन्।
- निर्वाचन आयोग ऐनको दफा ५१ अनुसार दलको नाम, चिन्ह, विधान वा पदाधिकारी हेरफेर भएमा ३० दिनभित्र आयोगमा जानकारी दिनुपर्छ।
१ माघ, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतालाई लिएर दुवै पक्ष कानुनी लडाइँमा जाने तयारीमा छन् । सोहीअनुसार विशेष महाधिवेशन गरेको गगन थापा र विश्वप्रकाश समूहले आफूहरूले नयाँ पदाधिकारी चयन गरेको दाबी सहित निर्वाचन आयोगमा कागजात पेस गर्दैछ ।
विशेष महाधिवेशनले बुधबार राति गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो, जसलाई शेरबहादुर देउवा पक्षधरले मान्यता दिएको छैन ।
अधिवक्ता राजु कटवालका अनुसार, अहिले बसिरहेको नयाँ कार्यसमितिको बैठकले निर्वाचन आयोगमा दलका पदाधिकारीहरुको विवरण र विधानका केही संशोधित प्रावधान अद्यावधिक गर्नेछ ।
‘सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएकाले हामी अधिलेख अद्यावधिक गर्न आयोगमा जान लागेको हो’ अधिवक्ता कटवालले अनलाइनखबरसँग भने, ‘हामीले विवरणहरु अद्यावधिक गर्नका लागि फाइल बुझाउने हो ।’
निर्वाचन आयोग ऐनको दफा ५१ अनुसार, दलको नाम, चिन्ह, विधान वा पदाधिकारी हेरफेर भएमा ३० दिनभित्र निर्वाचन आयोगमा जानकारी दिएर अभिलेख अद्यावधिक गर्नुपर्छ ।
गगन–विश्व समूहले कार्यसमिति बैठकबाट आफूहरुले विशेष महाधिवेशन गरेको गरेको र त्यसबाट नेतृत्व र पदाधिकारी परिवर्तन भएको भनी आयोगमा अभिलेख अद्यावधिक गरिदिन अनुरोध गर्नेछ । आयोगमा बुधबार नै पत्र पठाएर देउवा समूहले नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन नगरेको भनी दाबी गरेको छ ।
नेपाली कांग्रेसको विधानको धारा १७ मा केन्द्रीय महाधिवेशनको व्यवस्था छ । जसअनुसार प्रत्येक चार वर्षमा नियमित महाधिवेशन हुने परिकल्पना छ । त्यसबाहेक विशेष केन्द्रीय महाधिवेशनको परिकल्पना छ ।
केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउनसक्छ । त्यसबाहेक ४० प्रतिशत सदस्यहरुले विशेष महाधिवेशन बोलाउनसक्ने अर्को बैकल्पिक व्यवस्था छ । अहिले आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन डाकेको र सर्वसम्मतीबाट निर्णय भएको गगन–विश्व समूहको दावी हो ।
प्रतिक्रिया 4