+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

बन्चरेडाँडामा स्थानीयको अवरोध हटाउने सहमति, काठमाडौंको फोहोर उठ्ने

सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा सहमति जुटेको हो । सहमतिसँगै स्थानीयबाट फोहोरमैला ढुवानी एवं विसर्जनमा भएको अवरोध तत्काल हट्ने र सुचारु हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा बन्चरेडाँडामा फोहोर फाल्न स्थानीय अवरोध हटाउने सहमति जुटेको छ।
  • स्थानीयलाई मुआब्जा दिन, वातावरणीय अध्ययन छिटो तयार पार्न र बजेट विनियोजन गर्ने सहमति भएको छ।
  • अतिप्रभावित स्थानीयलाई निःशुल्क उपचार, रोजगारी अवसर र राहत दिन कार्यदल बनाउने निर्णय भएको छ।

४ मंसिर, काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जनमा स्थानीयबाट भइरहेको अवरोध हटाउने सहमति भएको छ ।

सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा बुधबार र बिहीबार भएको वार्ताले ११ बुँदे सहमति जुटाएको हो । सहमति जुटेसँगै फोहोरमैला विसर्जनमा भएको अवरोध शुक्रबारबाट खुल्ने भएको छ ।

सहमति अनुसार सरकारले स्थानीयलाई विगतमा चलाइएका मुद्दा फिर्ता लिने भएको छ । यसका लागि स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गरिने भनिएको छ ।

काठमाडौं महानगरपालिकाले साढे तीन वर्षअघि स्थानीय अमृत तामाङ र नीराजन सञ्जेललाई अभद्र व्यवहार, काठमाडौं महानगरपालिकाका गाडी तोडफोड लगायतका आरोप लगाउँदै उजुरी दिएको थियो । त्यसयता तामाङ र सञ्जेलमाथि मुद्दा चलिरहेको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा ईआईए प्रतिवेदन अनुसार जग्गा अधिग्रहणका लागि आवश्यक बजेट विनियोजन गर्ने काम अगाडि बढाउने सहमति समेत जुटेको छ ।

बन्चरेडाँडाका स्थानीयका लागि तत्काल चालु आव २०८२/८३ को घरटहरा तथा बालीको मुआब्जा दिन काठमाडौं महागरपालिकालाई पत्राचार गर्ने निर्णय पनि भएको छ । साथै, महानगरले एक महिनाभित्र बन्चरेडाँडा क्षेत्रका अतिप्रभावित स्थानीयलाई साविकमा सिसडोलबाट प्रभावित क्षेत्रलाई दिइएको आधारमा बन्चरेका हकमा समेत सोहीलाई आधार मानेर क्षतिपूर्ति दिने सहमति जुटेको छ ।

फोहोर फाल्न तयार पारेको क्यापिङ लेयरभन्दा पनि बाहिर गएर वरपरको डाँडा कटान गरी फोहोर फालेका कारण लिचेड सिधै पानीको मुहानमा मिसिएका कारण कोल्पु खोला प्रदूषित भई स्थानीयलाई ठूलो असर परेको हुँदा त्यस्तो काम तत्काल रोकी त्यसमा काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहमति भएको छ । लिचेडको उचित व्यवस्थापन गर्न १५ दिनभित्र विज्ञ टोली फिल्डमा पठाइने भएको छ ।

बन्चरे र सिसडोलका अतिप्रभावित क्षेत्रका स्थानीयलाई विशेष कार्ड व्यवस्था वा अन्य कुनै माध्यमबाट काठमाडौं महागरपालिकाभित्रका कुनै पनि सरकारी अस्पतालमा जुनसुकै रोग लागे नि:शुल्क उपचारको व्यवस्था अबको एक महिनाभित्र मिलाउने सहमति भएको छ । शिक्षाका सन्दर्भमा काठमाडौं उपत्यकाभित्रका स्कुल, कलेजमा अनिवार्य कोटाको व्यवस्था एक महिनाभित्र गर्ने सहमति जुटेको छ ।

फोहोर उत्सर्जन गर्ने नगरपालिकामा बन्चरे ल्यान्डफिल साइट प्रभावितलाई रोजगारी अवसरका लागि मेयर्स फोरम र मन्त्रालयबाट आह्वान हुने बैठकमा एजेन्डा लैजाने सहमति भएको छ ।

महानरगले प्रभावित स्थानीय तहलाई दिने अनुदान ३ करोडबाट बढाएर ६ पुर्‍याउन महानगरपालिकालाई अनुरोध गर्ने सहमित भएको छ । प्रभावित क्षेत्रमा फोहोरका कारण विभिन्न रोग लागि मृत्यु भएका परिवारलाई उचित राहत दिन कार्यविधि बनाउने सहमति समेत भएको छ ।

सहमतिका बुँदा लगायत प्रभावित क्षेत्रका समस्या समाधानमा पहल गर्न कार्यदल बनाइने भएको छ । तीनपिप्ले–कुमारी–गल्छी सडक निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने सहमति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?