+
एनपीएल २०२५ :

पहिलो जितपछि लय गुमाउँदै काठमान्डु गोर्खाज

२०८२ मंसिर  ६ गते २२:०६ २०८२ मंसिर ६ गते २२:०६

पहिलो खेल जितेको काठमान्डुले त्यसयता लगातार दुई खेलमा पराजय भोगेको छ । आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम विरुद्ध जितको नजिक पुगेर पनि हतासिएको काठमान्डु शनिबारको खेलमा भने कमजोर नै देखियो ।

पहिलो जितपछि लय गुमाउँदै काठमान्डु गोर्खाज

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा काठमान्डु गोर्खाजले पहिलो खेल जितेपछि लगातार दुई खेलमा पराजय भोगेको छ।
  • शनिबार विराटनगर किङ्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ र मर्चेन्ट डे लाङले २ विकेट लिएर टप अर्डर दबाबमा राखेका थिए।
  • विराटनगरले लगातार दुई खेल जित्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ र टप अर्डर ब्याटिङ र बलिङमा प्रभावशाली प्रदर्शन गरेको छ।

६ मंसिर, काठमाडौं । काठमाण्डु गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा हराएपछि धेरैले सोचेका थिए- काठमान्डु गोर्खाजले यसपटक सन्तुलित टिम बनाएको छ र राम्रो प्रदर्शन पनि गर्छ भनेर ।

तर पहिलो खेल जितेको काठमान्डुले त्यसयता लगातार दुई खेलमा पराजय भोगेको छ । आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम विरुद्ध जितको नजिक पुगेर पनि हतासिएको काठमान्डु शनिबारको खेलमा भने कमजोर नै देखियो ।

काठमान्डु गोर्खाजलाई विराटनगर किङ्सले ५ विकेटले पराजित गर्यो । काठमान्डुले बलियो योगफल नै बनाउन सकेको थिएन । त्यसलाई विराटनगरका ब्याटरले पनि सिरियस रूपमा लिएनन् ‌।

अन्तत: मिडर ओभरमा केही स्लो खेलेपनि विराटनगरले‌ जित भने हात पार्यो । पहिलो खेलमा जनकपुरलाई हराएको काठमान्डुले त्यसयता भने लय गुमाएको देखिएको छ ।

काठमान्डुको कमजोर ब्याटिङ

ब्याटिङ अर्डरमा सन्तुलित देखिएपनि काठमान्डुको टप अर्डर आज चलेन । त्यसो त प्रशिक्षक मोन्टी देशाईले प्लेइङ ११ मा ३ परिवर्तन गरेका थिए ।

अघिल्लो खेल नखेलेका जेरार्ड एरासमस टोलीमा भित्रिए भने सन्नी पटेल बाहिरिए । त्यस्तै भीम सार्कीको स्थानमा प्रतिक श्रेष्ठले मौका पाउँदा मिलिन्द कुमारको स्थानमा रिकार्डो भास्कोन्सेलोसले खेले ।

यी तीनवटै परिवर्तन फलदायी भने रहेनन् । एरासमस १०, रिकार्डो ३ र प्रतिक २ रनमै आउट भए । काठमान्डुका ओपनर आकाश त्रिपाठी शून्यमै आउट भए भने रिकार्डो, प्रतिक र एरासमस पनि सस्तैमा पेभेलियन फर्किँदा ८.१ ओभरमा २९-४ को अवस्थामा पुगेको थियो ।

यसक्रममा विराटनगरका पेस बलर मर्चेन्ट डे लाङले ३ ओभरको सुरुवाती स्पेल गर्दै ५ रन मात्र दिएर २ विकेट लिएका थिए । उनले काठमान्डुको टप अर्डरलाई दबाबमा राखिदिए, जहाँबाट काठमान्डु उम्कन मुस्किल नै भयो । यही प्रदर्शनका लागि उनले ‘प्लेयर अफ‌ द म्याच’ पनि पाए ।

त्यसपछि बेन चार्ल्सवर्थ पनि ३२ रनमा आउट भए, सन्तोष यादव २४ बलमा २६ रन मात्र बनाएर आउट भए । आदिल आलमले भने फिनिसिङको भूमिका निभाउँदै २५ बलमा ४८ रन बनाएर १३४ रनको मध्यम योगफलसम्म पुर्याएका थिए ।

यद्यपि उक्त योगफल पर्याप्त भने भएन । विराटनगरका ओपनर जर्ज मन्सेले १६ बलमा ३६ रनको आक्रमक पारी खेलेर आउट भए, मार्टिन गप्टिललले १९ बलमा २६ रन बनाए। त्यसले चेज सहज बनाइसकेको थियो ।

काठमान्डुका बलरहरूले पावरप्लेमा दबाब बनाउन नसक्दा विराटनगरका ब्याटरले फाइदा उठाएका थिए । ब्याटिङपछि बलिङमा पनि कमजोर प्रदर्शन हुँदा काठमान्डुले खेलमा पकड जमाउन सकेन ।

खेलपछि कुरा गर्दै काठमान्डुका आदिल आलमले ब्याटिङ बलिङ दुवैमा पावरप्ले मिस भएको बताए । ‘हामीले सोचेको जस्तो भइरहेको छैन, पावरप्लेमा ब्याटिङमा राम्रो गर्न खोजेको, ल्याक भइरहेको छ, बलिङमा पनि त्यस्तै भइरहेको छ’ आदिलले भने ।

यस्तै विराटनगरका प्रतिश जीसीले हाइ स्कोरिङ खेलको अपेक्षा गरेको भएपनि लक्ष्य धेरै नहुँदा चेज गर्न सजिलो‌ भएको बताए । ‘हाम्रा बलरहरूले राम्रो प्रदर्शन गरे, लक्ष्य पनि धेरै भएन, हामीलाई त सजिलो भयो’ प्रतिशले भने ।

विराटनगरको प्रभावशाली प्रदर्शन 

गत सिजन राम्रो प्रदर्शन गर्न नसकेको विराटनगरले भने यसपटक लगातार २ खेल जित्दै प्रभावशाली सुरुवात गरेको छ ।

पहिलो खेलमा पोखरामाथि फराकिलो जित निकालेको विराटनगरले काठमान्डुलाई हराउँदै अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

विराटनगरका लागि विशेषगरी टप अर्डरको ब्याटिङले म्याच विनिङ प्रदर्शन गरेका छन् भने बलिङमा मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले नेतृत्व गरिरहेका छन् ।

शनिबारको खेलमा पनि मर्चेन्ट डे लाङले २ विकेट लिएर काठमान्डुको टप अर्डरलाई दबाबमा राखे। ब्याटिङमा जर्ज मन्से र मार्टिन गप्टिलले आक्रमक इनिङ खेले । पहिलो खेलमा मन्से नचल्दा लोकेश बम र गप्टिलले गज्जबको प्रदर्शन गरेका थिए ।

आदिल आलम एनपीएल काठमान्डु गोर्खाज विराटनगर किंग्स
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय