+
+
Shares

दल-जेनजी चुनावमा भिड्ने कि सडकमा ?

पछिल्लो समय जेनजी र दलबीच सडकमै संघर्ष देखिन थालेको छ । एमालेले पनि यसकै लागि नेसनल भोलन्टियर फोर्सको दस्ता तयार गरेको छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ मंसिर ७ गते २०:५०

७ मंसिर, काठमाडौं । एमाले नेता महेश बस्नेत सवार गाडीमा आइतबार मोरङको विराटनगरमा जेनजीको नाममा दुई युवाहरूले गाडीमा रातो मसी छ्यापे

प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा अर्पित कुँवरसहितका युवाहरू सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँके ।

जेनजीले विरोध गरेका महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन जाँदै थिए । सोही क्रममा एयरपोर्ट लाइनको सडकमा उनीमाथि रातो मसी फ्याँकियो ।

त्यसपछि प्रहरीले दुई युवकलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ ।

प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगिरहँदा पनि जेनजी युवाहरूले महेश बस्नेतविरुद्ध नारा लगाएको भिडियोमा देखिन्छ । गौतमकाअनुसार महेश बस्नेत र एमालेमाथि सांकेतिक विरोध जनाउन रातो मसी फ्याँकिएको हो ।

यो घटनालाई बस्नेतले ‘लोकतन्त्रमाथिको उपहास’ भनेका छन्

तर, जेनजी युवा अर्पित कुँवरले भने यसलाई महेश बस्नेतसहित एमाले नेताहरूको शैली र प्रवृत्तिलाई कालो झण्डा देखाएको बताएका छन् । ‘विरोध गर्ने शैली हुन्छ । मैले कसैलाई निषेध गरेको हैन,’ कुँवरले लेखेका छन्, ‘उहाँहरूले भाद्र २३ मा मच्चाएको हत्याकाण्डको विरोध गर्दै महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापेको हुँ ।’

त्यसलगत्तै एमाले नेता भानुभक्त ढकाल र महेश बस्नेतलाई लक्षित गरेर इटहरी पुगेपछि पनि जेनजी युवाले प्रदर्शन गरे । सुनसरीको दुहबीमा भएको उक्त प्रदर्शनमा एमाले नेता सवार गाडी क्रस भइसकेपछि स्थानीय युवाले टायर बालेका थिए ।

सुनसरी र विराटनगरमा जेनजीहरूले एमाले नेता बस्नेतमाथि आक्रमण गरेपछि विभिन्न कोणबाट प्रश्न उठेका छन् ।

युवाहरूमाझ लोकप्रिय मेन्स रुम रिलोडेड (एमआरआर) जस्तो प्राइभेट फेसबुक ग्रुपलगायत अन्य ठाउँमा यसलाई बढावा दिँदै पोस्ट भइरहेका छन् । ५२ हजार हाराहारी सदस्य भएको उक्त ग्रुपमा एक युवाले अर्पित कुँवरको स्टाटस सेयर गर्दै लेखेका छन्, ‘मेरो विचारमा देशभर अब यसैगरी विरोध हुन्छ एमालेको… र यस्तो विरोध देशको लागि घाटा पनि छैन ।’

यसरी एकथरीले यो घटनालाई सकारात्मक कोणबाट हेरिरहँदा अर्को पक्षले चुनाव भाँड्ने कारकको रूपमा व्याख्या गरिरहेको छ । यसरी आफू आफैँ भिड्न थाले अराजकतामा देश फस्ने र चुनावी माहोल भड्किन सक्ने चिन्ता अर्को पक्षको छ ।

हुन त जेनजी र एमाले आमनेसामने भएको यो पहिलो घटना भने होइन । केही दिनअघि भएको सिमरा घटनालाई पनि अर्को उदाहरणको रूपमा हेर्न सकिन्छ, जसमा जेनजी र एमाले कार्यकर्ता एकआपसमा भिड्न खोज्दा तनावको स्थिति बनेको थियो । केही युवा घाइतेसमेत बनेको उक्त प्रदर्शनमा प्रहरीले कर्फ्यू नै लगाउनु परेको थियो ।

कर्फ्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधबार र बिहीबार दिनभरि नै वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

सिमरा घटनामा दुई पक्षका आ–आफ्ना दाबी छन् । जेनजी अगुवाहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा एमाले कार्यकर्ताले हातपात गरेपछि उक्त घटना भएको बताएका छन् । यही कारण ती व्यक्ति पक्राउ नपरुन्जेल आन्दोलन जारी राख्ने भन्दै प्रदर्शन चर्काएको थियो । यता एमाले पंक्तिले भने नेता महेश बस्नेत बाराको कार्यक्रममा जान खोज्दा जेनजी अगुवाले अवरोध पुर्‍याउँदा सो परिस्थिति उत्पन्न भएको दाबी गर्छन् ।

एमालेले जे दाबी गरेपनि जेनजीहरू मान्ने तयारीमा थिएनन् । उनीहरूले आफूहरूमाथि आक्रमण गर्नेलाई पक्राउ गरेसम्म नछोड्ने चेतावनी दिइरहे ।

यतिसम्म कि बाराको घटनाको वस्तुस्थिति बुझेर मिलाउन भन्दै केन्द्रबाट द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङ नै केही समूह लिएर बारा पुगे । सुदन बारा पुगेपछि उनी झन् आक्रोशित बने । उनले गृहमन्त्रीको राजीनामा मागे । उनको समूहमा पुरुषोत्तम यादव, मधेश प्रदेश संयोजक शिव यादव थिए ।

सुदन यत्तिकै बारा पुगेका थिएनन् । उनीनिकट स्रोतकाअनुसार त्यहाँ उनका समर्थक र जेनजी कति निस्केलान भन्ने चिन्ता काठमाडौंबाटै देखिन्थ्यो । केही समूह जम्मा गरेर शक्ति देखाउनुपर्ने भन्दै विभिन्न स्थानीय अगुवासँग सहयोग पनि उनले मागेका थिए ।

सोहीअनुसार पुराना नेताकै शैलीमा खादा–मालाले स्वागत भएर केही जेनजी दलबलसहित उनी घटनास्थल पुगे । वार्तामा सहभागी भए ।

सिमरा आन्दोलनको अग्रमोर्चामा देखिएका बाराका जेनजी नेता सम्राट उपाध्यायले नेकपा एमालेका कार्यकर्ताबाट आफूहरूमाथि भएको आक्रमण भएको भन्दै दोषीलाई कारबाही गर्ने, घाइतेहरूको उपचारमा समन्वय गर्ने र जेनजी युवाहरूको सुरक्षा गर्ने जस्ता विषयमा प्रमुख जिल्ला अधिकारीबाट प्रतिबद्धता आएपछि आफूहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए ।

‘हाम्रो आन्दोलन सकिएको होइन, स्थगित मात्रै भएको हो,’ उनले भने ।

त्यस्तै, जेनजी आन्दोलनमा एउटा समूहको नेता मानिएका सुदन गुरुङको आक्रोशले उनीहरू अझै आन्दोलित हुने संकेत देखाइरहेको छ ।

विशेषगरी गृहमन्त्रीको राजीनामा मागिरहेका उनले आवश्यक परे पुनः आन्दोलन गर्ने चेतावनी पनि दिइरहेका छन् । जेनजीहरू झुक्न नहुने, आवश्यक परे जेनजी स्वाभिमानको लागि भिड्ने संकेत गर्दै गुरुङले पछिल्लो पोस्टमा लेखेका छन्, ‘राष्ट्रप्रेमी सिमराका मेरा भाइहरू जेनजी… देशको शिर उच्च राखेकोमा धेरै धेरै धन्यवाद ।’

गुरुङका अभिव्यक्तिले पनि उनी भिड्ने मनस्थितिमा देखिन्छन् । जेनजी भावनामाथि तलमाथि भए नछोड्ने उनले बताएका छन् । जेनजीका माग पूरा नभए चुनाव हुन नसक्ने चेतावनी पनि दिइरहेका छन् । सिमराको घटनापछि त्यहाँको स्थानीयलाई सम्बोधन गर्दै पनि उनले यसको संकेत गरेका छन् ।

‘अहिलेसम्म हामी संयम थियौँ । दुई महिनासम्म यिनीहरु सुध्रेलान्, देश बन्ला भनेर हामीले केही गरेनौँ । तपाईंहरूले देख्नुभयो ?,’ गुरुङले भाषण गर्दै भनेका छन्, ‘सिमराबाट यो एउटा सन्देश हो, अब हरेक दलले बुझोस्, यो देश अब नेपालीको हो । हामी सबैको इज्जत राखिदिनुभएकोमा सिमराका जेनजी र आमाबुबा सम्पूर्णलाई धन्यवाद छ ।’

यसरी पछिल्लो समय जेनजी र दलबीच सडकमै संघर्ष देखिन थालेको छ । एमालेले पनि यसकै लागि नेसनल भोलन्टियर फोर्सको दस्ता तयार गरेको छ । उक्त फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठका अभिव्यक्तिले पनि उक्त कुरा संकेत गर्छ ।

तर, सडकमा देखिएको जेनजी भर्सेस दल र दलविरुद्ध सडकमै भिड्न चाहिरहेको आक्रोशित जेनजीलाई लिएर जेनजीका समूह नै विभाजित छन् । कतिपयले यसलाई सही भनिरहेका छन् भने कतिपय समूहले संयम भएर आफूहरू प्रस्तुत हुनुपर्ने बताइरहेका छन् ।

जेनजी सडकमा भिड्ने कि चुनावमा ?

जेनजी फ्रन्टका अगुवा युजन राजभण्डारी भने सडकमा भन्दा अब आफूहरु चुनाव केन्द्रित नै हुनुपर्ने बताउँछन् ।

उनकाअनुसार जेनजीले चाहेको परिवर्तनलाई वैधानिक बनाउने वा अझ बलियो बनाउन चुनावमा बलियो प्रभाव पार्न लाग्नुपर्ने समय अहिले छ । त्यसैले सडकमा भन्दा पनि दलसँग चुनावमा भिड्ने तयारी आफूहरुले गरिरहेको उनले बताए ।

‘हामी सडकमा हैन, अब चुनावमा नै भिड्ने हो । चुनावमा सहभागी भएर आफूले रिझाएर मत ल्याउने र परिवर्तनको मर्म बोकेर अघि बढ्ने हो,’ उनले भने, ‘तर, पछिल्लो समय एकअर्कालाई खेद्ने काम भइरहेको छ । हामी कसैले निषेधको राजनीति गर्नुहुन्न । चुनावको माहोल सिर्जना गर्नुपर्छ ।’

बरु सरकारलाई छिटोभन्दा छिटो आफ्नो माग पुरा गर्ने ठाउँमा पुर्‍याउनुपर्ने र त्यसतर्फ दबाब दिन आवश्यक रहेको राजभण्डारीले बताए ।

आफूहरुले यसअघि बुझाएको आन्दोलनको म्यान्डेटमा सहमति गरेर आन्दोलनलाई वैधानिकता दिलाउन र चुनाव गराउन दबाब दिन आवश्यक रहेको उनको भनाई छ ।

राजभण्डारीकाअनुसार यो संक्रमणकालीन समयमा सबै संयम हुन आवश्यक छ । एमालेले गुण्डुबाट दिइरहेको अभिव्यक्ति र जेनजी दुबैले संयमता अपनाउन आवश्यक छ ।

‘अनि हामी जेनजी पनि भावनात्मक रुपमा सम्हालिनुपर्छ । कतिपय राजनीतिक दलका साथीहरुले उत्तेजित बनाउने काम गरिरहनुभएको छ, जसले अलि उचालेको छ । तर, जेनजी प्रोभोक हुनुहुँदैन । हामीले परिस्थिति बुझेर सम्हालिएर अघि बढ्न आवश्यक छ,’ उनले भने ।

गृहमन्त्रीको राजीनामा माग पनि अहिले अवस्थामा गलत रहेको उनले बताए । यसले सरकार नै ढाल्ने अवस्थामा पुर्‍याउने हुनाले तत्काल कसैको राजीनामा माग गर्नेतर्फ नलाग्न पनि उनले अनुरोध गरे ।

आफूहरु राम्रा उम्मेदवार उठेको अवस्थामा उनीहरुलाई सहयोग गर्ने तयारीमा रहेको राजभण्डारीले बताए । त्यसबाहेक मतदाताको हिसाबले पनि सहभागी हुनु आफैँमा ठूलो कुरा रहेकाले मतबाट ठूलो प्रभाव पार्नेगरी क्याम्पेन गर्ने उनको भनाइ छ । यसबाहेक ठोस रणनीति बनाउन आफूहरू अझै छलफलमा रहेको उनको भनाइ छ ।

जेनजी मुभमेन्ट अलायन्सकी अगुवा सङ्केन राई पनि आफूहरू सडकमा नभएर चुनावमै दलहरूसँग भिड्ने मनस्थितिमा रहेको बताउँछिन् । ‘हामी अलायन्सको तर्फबाट बोल्दा, हामी चुनावबाट नै लड्न चाहन्छौँ । स्वतन्त्र उम्मेदवारी दिएर भएपनि चुनावबाटै आफ्ना मुद्दा स्थापित गर्नुपर्छ,’ उनले भनिन्, ‘लोकतन्त्र बुझ्ने जेनजी होस् या दल सबै सम्हालिएर चुनावतर्फै जानुको विकल्प छैन ।’

राईले थपिन्, ‘जो अहिले सडकमा देखिनुभएको छ, उहाँहरूलाई पनि केही समय सरकारलाई समय दिनुपर्छ भन्न चाहन्छु । त्यसबाहेक अरू जो–जो शक्ति छौँ, सबैले सम्हालिएर चुनावी माहोल सिर्जना गर्नतर्फ लाग्नुपर्छ ।’

न्याय नपाई हामी चुनावमा जाँदैनौँ : सुदन गुरुङ

द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङ भने भदौ २३ को घटनालाई लिएर न्याय नपाएसम्म आफूहरू चुनावमा नजाने बताउँछन् ।

सरकारले अराजक अभिव्यक्ति दिने दललाई भन्दा जेनजीमाथि नै धरपकड गरेकाले थप आशंका उत्पन्न गरेको र यो अवस्थामा आफूहरुले न्याय नपाई चुनाव नजाने उनको भनाइ छ ।

‘चुनाव केन्द्रित भएर जाँदा हामीलाई जुन आशा थियो, सरकारको आश्वासन थियो, त्यो पाएका छैनौँ । भदौ २३ को घटनालाई लिएर न्याय नपाए द काउन्सिल अफ जेनजी चुनावमा जाँदैन,’ उनले अनलाइनखबरसँग भने, ‘सडकमा भिड्ने मनसाय त कसैको हैन । हामीले दुई महिनासम्म कुरेकै हो । तर, हाम्रो अपेक्षाअनुसार काम भइरहेको छैन ।’

गृहमन्त्री ओमप्रकाश अर्याल केन्द्रित भएर गुरुङले थपे, ‘गृहमन्त्रीले पनि आफूअनुसार काम गर्नुभएको छैन । यही फ्रस्टेसनले काम गरेको हो । न्याय पाउँदैनौँ कि भन्ने डर हो । त्यसैले हाम्रा भाइबहिनी आक्रोशित भएका हुन् । यद्यपि, हामीले सम्हालिन पनि भनेका छौँ ।’

गुरुङको बुझाईअनुसार समाज भड्काउने अभिव्यक्ति गुण्डुबाट आइरहेको छ ।

ओलीले नै आइलाग्नेलाई फर्केर हाने हुन्छ भनेर आपत्तिजनक अभिव्यक्ति दिएका छन् । त्यसैले दलका नेताले अराजकता फैलाउँदा सरकार चुप बस्ने, अनि सामान्य युवाको अभिव्यक्तिलाई लिएर चाहिँ ‘अब समाज भड्कियो, के भयो’ भन्ने भाष्य बनाइएको छ, जुन दु:खद रहेको उनले बताए ।

‘क्रियाको प्रतिक्रिया दिँदा हामी अराजक कि सुरुमा हात छाड्ने अराजक ?,’ गुरुङले भने, ‘त्यसैले सरकारले पनि हामीलाई गरेको वाचाअनुसार विद्यार्थी मार्नेलाई कारबाही गर्ने र युवाको माग पुरा नगरे हाम्रो समूह चुनावमा जाँदैन ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?