+

पायल्स भएका व्यक्तिका लागि कस्तो खानपान उपयुक्त ?

२०८२ मंसिर  ९ गते १४:४६ २०८२ मंसिर ९ गते १४:४६
Shares
पायल्स भएका व्यक्तिका लागि कस्तो खानपान उपयुक्त ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पायल्स मलद्वारमा दबाब परेर हुने समस्या हो जसमा दिसा गर्न गाह्रो र मलद्वारबाट रगत बग्ने लक्षण देखा पर्छ।
  • कब्जियत, मोटोपना, गर्भावस्था, कम फाइबरयुक्त खानपानले पायल्सको समस्या हुनसक्छ।
  • पायल्सको व्यवस्थापनमा फाइबरयुक्त खाना, पर्याप्त पानी पिउनु र जीवनशैली परिवर्तन आवश्यक हुन्छ।

पायल्स मलद्वारमा हुने समस्या हो । जब मलद्वारमा दबाब पर्छ, यो समस्या आउन सक्छ । पायल्स भएपछि दिसा गर्न गाह्रो हुन्छ । मलद्वारबाट रगत बग्छ । मलद्वारमा घाउ हुन्छ । मासु पलाउँछ ।

दीर्घकालीन कब्जियत, दिसा नलाग्ने समस्या, मोटोपना, गर्भावस्था, अत्यधिक व्यायाम वा कम फाइबरयुक्त खानपानको कमीले पायल्सको समस्या हुनसक्छ ।

यो समस्यालाई खानपान र जीवनशैली परिवर्तन गरेर व्यवस्थापन गर्न सकिन्छ ।

के खाने ?

पाइल्सको व्यवस्थापनमा फाइबरयुक्त खाना र पर्याप्त पानीको सेवन अत्यन्त महत्त्वपूर्ण हुन्छ । सोल्युबल र इनसोल्युबल फाइबरको सन्तुलित मिश्रणले दिसालाई नरम बनाउँछ र कब्जियत कम गर्छ, जसले पाइल्सको लक्षणलाई कम गर्न मद्दत गर्छ ।

फाइबरयुक्त खानेकुराहरू

सोल्युबल फाइबर युक्त खानेकुरा जस्तो ओट्स, मुङ्ग, मुसुरोको दाल, स्याउ, केरा, आलुबखडा जस्ता मौसमी फलहरू खाँदा पायल्स भएका व्यक्तिलाई फाइदा गर्छ । आलु र सखरखण्डमा पनि सोल्युबल फाइबर प्रशस्त हुन्छ।

इनसोल्युबल फाइबर

अन्नहरू खैरो चामल, कोदो, जौ, फापर । बदाम, चिया सिड्स जस्ता नट्स र सिड्स । साथै सागपात, ब्रोकाउली, बन्दागोभी, गाजर, काँक्रो जस्ता तरकारी । खानामा फाइबरको मात्रा बिस्तारै बढाउनुपर्छ । एकैचोटि धेरै फाइबर खाँदा ब्लोटिङ र ग्यासको समस्या हुन सक्छ ।

हाइड्रेशन

पायल्सको समस्या भएका व्यक्तिले दिनमा कम्तीमा २–३ लिटर पानी पिउनुपर्छ । फाइबरले राम्रोसँग काम गर्न पानीको मात्रा पर्याप्त हुनुपर्छ । साथै नरिवल पानी र मोही पनि पायल्समा लाभदायक हुन्छ । राति सुत्नुअघि एक चम्चा घिउ मिसाएर मनतातो पानी पिउनाले दिसा नरम हुन्छ ।

अन्य खानेकुराहरु

आलुबखडा कब्जियत कम गर्न लाभदायक हुन्छ । खैरो चामल र क्विनोआ जस्ता फाइबरयुक्त अनाजहरू पाइल्समा लाभकारी हुन्छन् ।

के नखाने ?

पाइल्सको लक्षणलाई बढाउन सक्ने खानेकुराहरू सकेसम्म कम गर्नुहोस् वा पूर्णरूपमा बन्द गर्नुपर्छ ।

पिरो र मसालेदार खाना

पिरो मसला, खुर्सानी आदिले पाचन प्रणालीलाई इरिटेट गर्छ र पाइल्सको लक्षणलाई झनै बिगार्छ ।

डिप फ्राइड र तारेको खाना

तेलमा तारेको खाना जस्तैः पकौडा, फ्रेन्च फ्राइजले पाचन प्रक्रियालाई गाह्रो बनाउँछ ।

क्याफिनयुक्त र सफ्ट ड्रिंक्स

कफी, चिया, कोल्ड ड्रिंक्स आदिले डिहाइड्रेशन गराउँछ, जसले कब्जियतको जोखिम बढाउँछ ।

प्रशोधित खाना

चिप्स, बिस्कुट, चाउचाउ जस्ता खानामा फाइबर कम हुन्छ । सोडियम तथा ट्रान्स फ्याट धेरै हुन्छ, जसले कब्जियतलाई बढाउँछ ।

रातो मासु

खसी, राँगा, सुँगुर आदिको मासु अर्थात रातो मासुलाई पचाउन गाह्रो हुन्छ । सिभियर पाइल्सको अवस्थामा मासुको सेवन कम गर्नुपर्छ ।

दुग्ध उत्पादन

केही व्यक्तिहरूलाई दूध र दूधजन्य पदार्थले कब्जियत बढाउँछ । यदि यस्तो समस्या छ भने डेरी प्रोडक्ट कम गर्नुपर्छ वा पातलो खालको मोही सेवन गर्न सकिन्छ ।

नुनिलो खाना

धेरै नुन भएको खानाले पानीको अवशोषण बढाउँछ र ब्लोटिङको जोखिम हुन्छ, जसले पाइल्समा दबाब बढाउँछ ।

कम फाइबरयुक्त खाना

मैदा, सेतो पाउरोटी र अन्य प्रशोधित अनाजले कब्जियतलाई बढावा दिन्छ ।

रक्सी

रक्सीले पाचन प्रणालीलाई असर गर्छ र डिहाइड्रेशन गराउँछ ।

चुरोट र सुर्तीजन्य पदार्थ

चुरोट र सुर्तीले रक्तसञ्चारमा असर गर्छ र पाइल्सको लक्षणलाई झन् गम्भीर बनाउन सक्छ ।

फास्ट फुड

बर्गर, पिज्जा जस्ता फास्ट फुडले पाचन प्रक्रियालाई बिगार्छ र पाइल्सको लक्षणलाई बढाउँछ ।

मसला

पायल्सको समस्यामा अदुवा, मरिच र दालचिनी जस्ता मसलाहरु पनि नखानु राम्रो हुन्छ । यस्ता मसलाले शरीरमा तापक्रम बढाउँछ जसले गर्दा बिरामीको दुखाइ र जलन हुने समस्या बढ्छ ।

एक दिनको नमुना डाइट चार्ट

बिहान सबेरै

मनतातो पानी – १ गिलास

काँक्रो, गोलभेडा र थोरै धनिया ब्लेन्ड गरी ।

कागतीको रस कालो नुन मिसाएर ।

बिहानको खाजा

जौको सातु २ चम्चा सामान्य पानीमा हल्का नुन÷कागती हालेर ।

१ सिजनल फलफूल

२ भिजेको बदाम, १ ओखर

१० भिजेको किस्मिस । किस्मिसको पानी पनि पिउन सकिन्छ ।

बिहानको खाना

मुंग दालको खिचडी : थोरै तरकारी र आधा चम्चा घिउ राखेर ।

सलाद : गाजर, काक्रो

दही सादा, थोरै मात्रामा । यदि केही हानी गर्दैन भने मात्र ।

मध्यान्हको खाना

नरिवल पानी– १ गिलास वा ताजा फलफूल प्रयोग गर्न सकिन्छ ।

ओट्स खिचडी, पानीमा पकाएको गाजर, सागपात मिसाएर ।

बेलुकाको खाना

तरकारी सुप र तोफू टुक्रा वा पानी रोटी थोरै तरकारी सँग

सुत्नुभन्दा अगाडि

मनतातो पानी १ गिलास, सकेसम्म आधा चम्चा घिउ हालेर पिउने ।

थप सुझावहरू

-खाना राम्ररी चपाएर खानुपर्छ जसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

-हल्का व्यायाम गर्ने । हल्का हिँडडुल वा योगाले कब्जियत कम गर्न मद्दत गर्छ ।

-शौचालयमा लामो समयसम्म नबस्ने । प्यान–शैलीको शौचालयमा लामो समयसम्म नबस्नुहोस्, यसले पाइल्समा दबाब बढाउँछ ।

-लामो समयसम्म एकै ठाउँमा बसेर काम गर्नुहुन्छ भने प्रत्येक ३०–४० मिनेटमा उठेर हल्का हिँड्ने गर्ने लामो समयसम्म बस्दा पाइल्समा दबाब बढ्छ ।

-मुंग दाल, ओट्स, गाजर, नरिवल पानी, सातु जस्ता पचाउन सजिला खाना प्राथमिकतामा राख्ने ।

-खानामा फाइबरको मात्रा बिस्तारै बढाउने । एक्कासी धेरै फाइबर नखाने ।

-यदि पाइल्सको समस्या गम्भीर छ रक्तस्राव, अत्यधिक दुखाइ वा सुन्निने समस्या छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । खानपान र जीवनशैलीले मात्र पूर्ण समाधान नहुन सक्छ ।

खाना डाइट पायल्स
आस्था कार्की
लेखक
आस्था कार्की
पोषणविद्

पोषणविद् आस्था कार्की मिताहारा न्यूट्रिसनल सर्भिस एण्ड रिसर्च सेन्टरकी संस्थापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय