News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनका ददी सापकोटाले सातवटा पुस्तक लेखेका छन् । उनले वन्यजन्तु र प्रकृतिसँगको आफ्नो अनुभव साझा गरेका छन्।
- उनले ५५–५६ जनाबाट संकलित अनुभव समेटेर \'ज्ञानिका\' पुस्तकमा वन्यजन्तु संरक्षण र स्थानीय आवश्यकताको सन्तुलनबारे चर्चा गरेका छन्।
फुर्सद पाएर होइन फुर्सद मिलाएरै वनजंगल दौडिरहेका हुँदा हुन्, ददी सापकोटा । कहिले बाघको बाटो ढुकेर, कहिले मयुर खेल्ने झाडीभित्र लुकेर, कहिले हात्ती आउने समय पर्खेर उनले आफ्नो थुप्रै याम बिताएका छन् । त्यसबीचमा उनले के-के देखे ? के-के भोगे ? त्यसको छुटै महाभारत छ ।
तर जब उनी जंगलबाट फर्कन्छन्, हातमा एउटा किताब पनि हुन्छ । कहिले ‘वनको वैभव’ हुन्छ, कहिले ‘जीवनगाथा’ । यसपाली उनी अनलाइनखबरमा आइपुगे तात्तातो पुस्तक लिएर, ज्ञानिका ।
ज्ञानिका उनको सातौं पुस्तक हो ।
सानैदेखिको प्रकृतिप्रेम
चितवनका ददी सापकोटाको प्रकृतिसँगको नाता सानै उमेरबाटै गाँसिएको छ । एसएलसी पास गरेपछि सौराहा पुगेका उनी टुरिस्ट गाइड बने । यो क्रममा टुरिस्टलाई घुमाउँदै घुम्दै जाँदा जंगलको वातावरणले उनलाई मोहित बनायो
पछि हिमाली क्षेत्रमा ‘टुर लिडर’को भूमिकामा पनि रहे । यही प्रकृतिको निकटतामा रहँदा जीवजन्तुको व्यवहारले उनमा ठूलो कौतुहलता जगायो । ‘जीवजन्तुमा भालेहरू किन सुन्दर हुन्छन् ? किन नाच्छन् ? जंगलमा पैसा वा आकर्षणको कुरा छैन, फेरि एक्लै गीत गाउने चरा किन टुप्पोमा बस्छ ?’
यस्ता प्रश्नहरूले उनको मनमा डेरा जमाउन थाले । यो प्रश्नको जवाफ खोज्न उनको जाने ठाउँ थिएन । अरूलाई सुनाउँदा हाँसेर उडाउन सक्थे । हो, यही प्रश्नको जवाफ खोज्दै उनले अध्ययन सुरु गरे । त्यो बेला इन्टरनेट थिएन, अंग्रेजी किताबहरू महँगा थिए, सहज उपलब्धता पनि थिएन । जब उनले क्याम्पसमा अंग्रेजी साहित्य पढे । त्यसपछि यो कौतुहल्ता मेट्न उनलाई थोरै सहज भयो ।

उनले पढ्दै, बुझ्दै धेरै जानकारी संग्रह गरिरहेका थिए । उनलाई यसबारे नेपालीमा पनि जानकारी दिउँ, उत्सकुता जगाउँ भन्ने थियो । उनले जीवजन्तुबारे सक्रिय रूपमा रिपोर्टिङ गर्दै गए ।
सोही ज्ञानलाई सदुपयोग गर्दै उनले पहिलो पुस्तक ‘पन्छी जगत’ निकाले । यो चरा अवलोकनकर्ताहरूका लागि एउटा बुट्टी जस्तो बनेको छ । साथीहरूको आग्रहमा लेखिएको यो किताबले चराको पहिरन, कस्तो प्रकृतिको चराले कस्तो बासस्थान खोज्छ, आकार-प्रकार, एकआपसमा कुरा गर्ने संकेतबारेको ज्ञान दिन्छ । साथै चराले कस्तो खालको ठुँडले कस्तो काम गर्छ, कस्तो चराले कस्तो बीजबीजण खान्छ, नेपालमा चरा बसाइँ सराइ गरेर आउने कारण र ठाँउ कसरी दिशा निर्देशन हुन्छन्, जस्ता प्रश्न र त्यसको जवाफ पनि यसमा समेटिएको छ ।
‘मान्छेमा उत्सुकता जगाउनु संरक्षणको पहिलो मेरो खुड्किलो हो, ’उनी भन्छन् । यो पुस्तकले उनको लेखकीय व्यक्तित्व स्थापित गर्यो ।
फ्रान्सबाट नेपालकेन्द्रित लेखन
किताब प्रकाशित हुने समयमा उनी फ्रान्स पुगिसकेका थिए । पेशाले पत्रकार उनलाई फ्रान्स रहे पनि केही न केही लेखौं, नयाँ गरौं भन्ने आशक्ति भइराख्थ्यो । उनले त्यो बेला सोचे- नेपालमा काम गरेका धेरै फ्रान्सेलीहरू छन् । उनीहरूको नेपालमा रहँदाको अनुभव समेटेर लेख्न पाए गज्जवको दस्तावेज नै हुन्छ ।
त्यसरी नै उनले ‘त्यो नेपाल’ शीर्षकमा विभिन्न क्षेत्रका २९ जना फ्रान्सेलीहरूको नेपाल अनुभव पुस्तकमा उतारे करिब १४ वर्षअघि ।
उनीहरूमा कोही राजा महेन्द्रका पाइलट, वीरेन्द्रका शिक्षक, सगरमाथा चढ्ने मोरिस हर्जोगजस्ता पात्रहरूले नेपाललाई फरक दृष्टिकोणबाट हेरेका छन् । पर्यटनको खाका कोर्ने फ्रान्सेलीहरू, कृषि सिक्न फ्रान्स पुगेका वीरेन्द्रको अनुभवसहितका कथाले इतिहासलाई जीवन्त बनाएको उनले पुस्तकमार्फत देखाए ।
युरोपको पीडा र जीवजन्तुको वैभव
त्यसपछि उनले लेखे तेस्रो पुस्तक ‘दुःखको युरोप’ । ‘दुःखको युरोप’ मा डंकी भिसा, डिभोर्स, मृत्युको झूटो दागबत्तीजस्ता कथाहरू छन् । यो पुस्तकबाट सापकोटाले युरोपलाई ‘स्वर्ग’ ठान्ने नेपालीहरूको भ्रम तोडे ।
विभिन्न देश घुमेर, बस्दै, खाँदै संकलित यी अनुभवले आप्रवासी नेपालीहरूको संघर्ष उजागर गर्छन् । यस्ता कुराहरू लेख्दै जाँदा उत्सुकता जीवजन्तुबारेको रसलाई पनि छाड्नु हुँदैन भन्ने लाग्यो उनलाई । जीवजन्तु सम्बन्धी क्षेत्रमै केही गरौं भन्ने लाग्यो ।
उनले त्यसपछि जीवजन्तुतर्फ फर्केर लेखे ‘वनको वैभव’ र ‘जीवगाथा’ ।
यी पुस्तकमा रहस्यमय जनावरको चरित्र, रहनसहन र रोमाञ्चक घटनाहरू समावेश छन् । तर, पछिल्लो ‘ज्ञानिका’ पुस्तकमा फरक रहेको उनले सुनाए । उनका अनुसार जीवजन्तुबारे रिपोर्टिङका क्रममा भेटिएका विशेषज्ञहरूको समग्र अनुभव यो पुस्तकमा समेटिएको छ ।
यसमा उनले ५५–५६ जनाबाट छानेर २१ पात्रको अनुभव समेटेका छन्, जसमा हिमनदीको जीवनचक्र- यौवन, बुढ्यौली, बगाइको सुन्दरता समेटिएको छ । पुस्तकमा करण शाहले आधा सरिसृप पत्ता लगाउन गरेको संघर्ष छन् । तीर्थबहादुर श्रेष्ठको राजासामु गोप्य सूचना दिने कला, रमा मिश्रको बाघको ओडारमा आराम गरेको किस्सा, गैंडासँगको सामना कस्तो हुन्छ भन्ने अनुभव, राजेन्द्र सुवालको गैंडाको आक्रमणबाट बाँचेको अनुभव, हर्कमान लामा भन्ने पात्रले दुई कक्षा मात्र पढेर ५ हजारलाई तालिम दिएको गौरवलाग्दो किस्सा समेत समावेश छन् ।

यसबाहेक नेपाली बाजा बनाउने विधि, वनदेवीसँग बिन्ती, ग्रहणमा नबनाउने, कृषि विशेषज्ञको अन्तर्राष्ट्रिय प्रमाणीकरण, सुगन्धित तेलको स्वर्ग नेपाल– जडीबुटी बेचेर अत्तर किन्ने प्रसंग, सामुदायिक वनको अवधारणा दोलखाबाट सुरु, होमस्टे नेपालको ब्रान्ड जस्ता कुरा उनको पछिल्लो पुस्तक ज्ञानिकामा पढ्न पाइन्छ ।
पुस्तकको नामकरण गर्न हम्मे
उनका जति लेखन सरल र रहस्यमय छन्, पुस्तकका नाम पनि त्यति नै रोचक र नोस्टाल्जिक हुन्छन् । पुस्तकका नाम कसरी जुराउनुभयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘पुस्तकको नाम नोस्टाल्जिक, सम्झन सहज र आकर्षक नै हुनुपर्छ । त्यसैले, मलाई किताब सकिसक्दा पनि नाम जुराउन भने हम्मे-हम्मे पर्छ । सामग्री अन्तिम हुँदा लेखनभित्र हेरेर नोट बनाउँछु, साथीभाईलाई पनि सोध्छु । धेरै छलफल पछि बल्ल नाम जुर्छ ।’ ‘ज्ञानिका’ श्रीमती र सम्पादक भुमीश्वर पौडेलको सल्लाहमा जुराएको उनी सुनाउँछन् । ‘ज्ञानिका रोज्नुको अर्थ हो, यसले धेरै विशेषज्ञको ज्ञानको भण्डार नै उजागर गर्छ । अहिले पुस्तकको नामको पनि प्रशंसा भइरहेको देखेर खुसी लाग्छ उनलाई ।

जीवजन्तु बुझ्ने चुनौती र प्रक्रिया
हरेक जीवको व्यक्तित्व र रहनसहन फरक हुने भएकोले जीवजन्तुबारे लेख्न लामो अभ्यास, उत्सुकता र धैर्यता चाहिने उनको अनुभव छ । ‘एकै ठाँउमा नबस्ने, अनुहारको स्वरूपले नचिनिने र भाषा नबुझ्दा प्राणीबारे जानकारी हासिल गर्न एक महिनादेखि पाँच वर्ष लाग्नसक्छ, तर आत्तिनु हुँदैन’उनी भन्छन्, ‘यसमा उत्सुकता पनि चाहिन्छ, अनि लेख्न सहज हुन्छ ।’
‘बाघले ४२ वर्ग किमि ओगट्छ’ उदाहरण दिँदै उनी भन्छन्, ‘हरेक व्यवहारमा ‘किन र कसरी’ खोज्नु । बादँरले हाँगा हल्लाउँदा किन हल्लायो भन्ने खोज पनि रहस्यमय हुन्छ। गैँडाको दिसाको गन्धले भाले–पोथी, उमेर थाहा पाउने, यस्ता कुरा खोज्न मज्जा पनि हुन्छ, समय पनि लाग्ने नै भयो ।’
प्राणीको अस्तित्व संकटमा
आज प्रकृति पहिलाजस्तो छैन । कंक्रिटले ढाकिएका शहर, प्रदूषित नदीनाला, विषादीले भरिएका खेतबारी र घट्दै गएको वनजंगलले वन्यजन्तुको अस्तित्व नै जोखिममा पारेका छन्।
कुनै समय थुप्रै देखिने गैँडा, बाघ, भंगेरा, सारसदेखि जलचर चरासम्म-धेरै प्रजाति अहिले तेज गतिमा घटिरहेका छन् । ‘हामीले विकास गर्नैपर्छ, तर विकासका नाममा प्रकृतिलाई नोक्सान गर्ने काम रोकिनुपर्छ । प्रकृतिको क्षति कम गर्ने नीति, कडाइका साथ कार्यान्वयन गर्नुपर्छ’ ददि भन्छन्, ‘समयमै विचार पुर्याइएन भने न जंगल बच्छ, न जनावर, न मानव नै सुरक्षित हुन्छ ।’
स्थानीयको आवश्यकता र संरक्षणबीचको तालमेल मिलाउनुपर्ने उनको मत छ ।

उनी उदाहरण दिन्छन्- चितवनका मध्यवर्ती सामुदायिक वनमा पाँच हजार मानिस एकैदिन छिरे भने सेनाले पनि निकास निकाल्न सक्दैन । जनताको आवश्यकता र दैनिकीमा असर परेमा संरक्षण दिगो हुँदैन ।
‘संरक्षण भन्नुको अर्थ स्थानीयलाई रोकथाम मात्र होइन, उनीहरूको आवश्यकता र प्रकृतिको सहनशीलता दुवैबीच सन्तुलन मिलाउनु हो’ उनी जोड दिन्छन् ।
सुक्खा रुख, मृत हाँगा, घाँसे मैदान, यी सबै प्रकृति र खाद्य शृंखलाका हिस्सा हुन् । मानवले यदि सतप्रतिशत स्रोत निकाल्यो भने चराले खाने कीरा हराउँछ, माटोले मल पाउँदैन, अनि जीवनचक्र नै रोकिन्छ । यदि ६० प्रतिशत मात्र उपयोग गरियो र ४० प्रतिशत प्रकृतिका लागि छोडियो भने सहअस्तित्व सम्भव हुने ददीको बुझाइ छ ।
‘हामीले प्रकृति उपहारमा पाएका हौँ । अहिले नै नष्ट गरिदियौँ भने भोलिका पुस्ताले बाघ, हात्ती, गैँडा पुस्तक वा तस्वीरमा मात्र देख्नेछन्, पछिको पुस्तालाई बाघको बारेमा चित्र देखाएर उत्तर दिनुपर्ने अवस्था आउने चेतावनी दिन्छन् उनी।
यस्तै, नदी प्रदूषित हुँदा जलचर चरा हराउँछन्, चरा नदेखिने शहर मानवका लागि पनि अस्वस्थ हुन्छ । धेरै चिल उडेको देखिन्छ भने त्यो शहर फोहोर र दुर्गन्धित भएको संकेत हो । छतहरू पानी ट्याङ्कीले भरिनु भनेको राज्यले आधारभूत सेवा-पानी पुर्याउन नसकेको संकेत गर्ने उनी सुनाउँछन् ।
जनावर तस्करी ठूलो चुनौती
जनावर तस्करी पनि ठूलो चुनौती हो । खासगरी सालक, जुन अहिले विश्वमै अत्यधिक तस्करी हुने प्रजातिमा पर्छ । नेपालका ५० भन्दा बढी जिल्लामा पाइने सालक डँढेलो, चोरी–शिकार र अवैध व्यापारका कारण जोखिममा छ । चीनमा परम्परागत औषधिका नाममा यसको खपटा तस्करी बढेको तथ्य उनीले स्मरण गराउँछन् ।
नेपालमा सालक ‘अत्यन्त दुर्लभ’ श्रेणीमा नपरे पनि, संरक्षणका लागि कडा निगरानी र व्यवस्थित व्यवस्थापन अत्यावश्यक रहेको उनी सुनाउँछन् ।
तस्वीर/भिडियो : शंकर गिरी
प्रतिक्रिया 4