+

पोखरा एभेन्जर्सले जनकपुरविरुद्ध हरियो जर्सी लगाएर खेल्ने

२०८२ मंसिर  १० गते २१:२७ २०८२ मंसिर १० गते २१:२७
पोखरा एभेन्जर्सले जनकपुरविरुद्ध हरियो जर्सी लगाएर खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सले एनपीएल दोस्रो संस्करणमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा हरियो रंगको विशेष जर्सी लगाउने भएको छ।
  • पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले 'ग्लासियर्स म्याटर' सन्देशसहित हिमनदी संरक्षण अभियानलाई जोड दिन जर्सी डिजाइन गरिएको बताए।
  • जनकपुर बोल्ट्सका खेलाडीहरूले आमाहरूप्रति समर्पित नाम अंकित जर्सी लगाउने र दुवै टोलीका जर्सी च्यारिटी अक्सनमार्फत बिक्री गरिनेछ।

१० मंसिर, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत बिहीबार हुने जनकपुर बोल्ट्सविरुद्धको खेलमा विशेष जर्सी लगाएर खेल्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट स्टेडियममा भइरहेको एनपीएलमा पोखराले जनकपुर बोल्ट्स विरुद्धको खेलमा आफ्ना नियमित जर्सीभन्दा फरक रङ अर्थात हरियो रङको जर्सी लगाएर खेल्ने भएको हो ।

वातावरण संरक्षणदेखि मानवीय संवेदनासम्मलाई समेट्दै यी जर्सीहरू विशेषरूपमा डिजाइन गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए ।
‍पोखरा एभेन्जर्सका खेलाडीहरूले लगाउने हरियो जर्सीमा ‘ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरु महत्त्वपूर्ण छन् भन्ने सन्देश प्रवाहित हुने टिमले जनाएको छ ।

‘नेपाल जलवायु जोखिममा रहेको एउटा उच्च संवेदनशील मुलुक हो । गण्डकी र पोखराको पहिचान हिमाल, हिउँ र प्राकृतिक सौन्दर्य हो । त्यसैले यसलाई जोगाउनु हाम्रो नैतिक जिम्मेवारी हो भन्ने उद्देश्यका साथ हिमनदी संरक्षण अभियानलाई जोड दिन ‘ग्लासियर्स म्याटर’ सन्देशसहित जर्सीको डिजाइन गरिएको हो ।’ पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले भने ।

जलवायु परिवर्तनले हिउँ पग्लिने, नयाँ हिमताल बन्ने, हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको यस अवस्थामा जलवायु परिवर्तनको चेतनालाई प्राथमिकता दिन उक्त जर्सी तयार गरिएको एभेन्जर्सले जनाएको छ ।

यसैगरी जनकपुर बोल्ट्सका खेलाडीहरूले पनि सम्पूर्ण आमाहरुप्रति समर्पित गर्नका लागि खेलाडीको जर्सीमा आफ्नो आमाको नाम अंकित जर्सी लगाउने छन् । जुन सम्पूर्ण आमाहरूप्रति समर्पित हुनेछ । खेलपछि दुवै टोलीका जर्सीहरू च्यारिटी अक्सनमार्फत बिक्री गरिनेछन् ।

उक्त अक्सनबाट संकलित रकममध्ये पोखरा एभेन्जर्सका जर्सी बिक्रीबाट उठेको रकम ग्लासियर्स म्याटर जागरण अभियानमा खर्च गरिनेछ ।

यस्तै जनकपुर बोल्ट्सका जर्सीबाट उठेको रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएका आमाहरूको सहयोगका प्रदान गरिने जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले बताए ।

यस अभियानले खेलकुदमार्फत सामाजिक उत्तरदायित्वलाई थप सुदृढ पार्ने विश्वास लिइएको छ ।

पोखरा एभेन्जर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय