+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

जंगीअड्डा पुगेर प्रधानमन्त्रीको निर्देशन- चुनावमा एक थोपा रगत नबग्नेगरी खटिनुस्

प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देश गरेकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:४२

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्नेगरी र एक जना पनि घाइते नहुनेगरी काम गर्न नेपाली सेनालाई निर्देशन दिएकी छिन् ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उनले यस्तो निर्देशन दिएकी हुन् । सो क्रममा उनले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु ।’

सो क्रममा उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देश गरेकी छिन् ।

साथै, जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खटिन् पनि उनले सेनालाई आग्रह गरिन् ।

यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो । साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो ।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न नेपाली सेनालाई प्राप्‍त जिम्मेवारी सफलतापूर्वक पूरा गरने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।

तस्बिरः सैनिक जनसम्पर्क निर्देशनालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?