News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा सरकारी स्वास्थ्यकर्मीहरू प्रतिनिधि बन्नबाट रोकिएका छन्।
- स्वास्थ्य मन्त्रालयमा उजुरीपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले बहालवाला कर्मचारीहरूको नाम हटाएर नयाँ प्रतिनिधि चयन गरेको छ।
- नयाँ प्रतिनिधिमा डा. झलक शर्मा गौतमको नेतृत्व रहेको छ र सूची पार्टीमा आधिकारिक रूपमा दर्ता भएको छ।
२२ मंसिर, काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा सरकारी स्वास्थ्यकर्मीहरू प्रतिनिधि बन्नबाट रोकिएका छन् । सरकारी ओहोदा बसेर तलब खाने चिकित्सक तथा स्वास्थ्यकर्मी एमाले महाधिवेशनको प्रतिनिधिमा चयन भएपछि चर्को ओलोचना भएको थियो ।
यही मंसिर २७ बाट सुरु हुने एमाले महाधिवेशनका लागि स्वास्थ्य क्षेत्रबाट छनोट भएका सात प्रतिनिधिमध्ये चार जना बहालवाला कर्मचारी थिए ।
राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.सन्तोष पौडेल, नेपाल नर्सिङ काउन्सिलको अध्यक्ष चन्द्रकला शर्मा, बागाती प्रदेशको स्वास्थ्य तालिम केन्द्रमा कार्यरत अमृता बराल र संसद सचिवालयमा काजमा कार्यरत भीमराज सिंह महाधिवेशन प्रतिनिधिमा छनोट भएका थिए ।
डा. पौडेल नेपाल सरकारका १०औं तहका कर्मचारी हुन् । यसअघि उनी वीर अस्पतालको कार्यकारी निर्देशक थिए ।
त्यस्तै बराल महासंघको उपाध्यक्ष हुन् । उनी एमालेका नेता तथा पूर्वसांसद महेश बर्तौलाकी श्रीमती हुन्।
अहेव भीमराज सिंह स्वास्थ्य मन्त्रालयकै कर्मचारी हुन् । उनी हाल संघीय संसद् सचिवालयमा काजमा कार्यरत छन् । उनी महासंघको महासचिवको जिम्मेवारीमा छन् ।
नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्मा उनी नर्सिङ संघमा एमाले प्यानलबाट निर्वाचित भएकी थिइन् । नर्सिङ काउन्सिलको अध्यक्ष विभिन्न सार्वजनिक संस्थाहरूको पदेन सदस्य रहने व्यवस्था छ ।
उनीहरूको नामावली र सरकारी ओहोदासहितको विवरण सार्वजनिक हुनासाथ स्वास्थ्य मन्त्रालयमा उजुरीको ओइरो लागेको थियो । विवाद भएपछि एमाले निकट चिकित्सक, स्वास्थ्यकर्मीहरूको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले उनीहरूको नाम हटाएर नयाँ प्रतिनिधि चयन गरेको हो ।
‘बाहिर बहस भएपछि र स्वास्थ्य मन्त्रालयले समेत चासो देखाएपछि नयाँ निर्णय गरिएको छ’ महासंघका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘ अहिले चयन हुनुभएको साथीहरू कोही पनि बहालवाला कर्मचारी हुनुहुन्न ।’
महाधिवेशनमा यसअघि चयन भएको भनिएकाको सूची पार्टीमा दर्ता समेत भइनसकेकाले त्यसलाई अन्तिम टुंगो लाग्नै बाँकी रहेको भनेर बुझ्दा पनि हुने दावी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका ती पदाधिकारीले गरे।
स्वास्थ्यकर्मीहरूको तर्फबाट महाधिवेशनमा प्रतिनिधि बन्नेको सूची आज मात्रै आधिकारिक रूपमा पार्टीमा दर्ता भएको उनले जानकारी दिए ।
स्रोतका अनुसार नयाँ प्रतिनिधिमा डा. झलक शर्मा गौतमको नेतृत्व रहेको छ । १०औँ तहका वरिष्ठ स्वास्थ्य प्रशासक रहेका डा. गौतमले २०७८ सालमा सरकारी सेवाबाट अवकास लिएका थिए ।
छनोट हुने अन्य महाधिवेशन प्रतिनिधिमा सारदा खनाल, अनुप के सी, सिद्ध प्रसाद ढुंगाना, सृजना पन्डित पहारी, राज कुमार पौडेल र ज्वाला शर्मा रहेका छन् । चिकित्सकतर्फबाट डा.गौतम रहेका छन् भने अन्य नर्सिङ, जनस्वास्थ्य र परामेडिक समूहबाट रहेका छन् ।
प्रतिक्रिया 4